मृत्यु सबैलाई पर्ने स्वाभाविक घटना हो। शाश्वत सत्य हो र पनि कतिपय मृत्यु अस्वाभाविक लाग्छ। हामीले झेल्नपर्छ र भोग्नु नै पर्छ। मलाई शान्ति दिदीको निधनले झस्काइरहन्छ।
सडक दुर्घटना भइरहन्छन् भन्छन् शासकहरू र पनि मलाई मानिस रोग व्याधिले बितेकोमा त्यति शोक लाग्दैन जति सडक दुर्घटनामा बितेको लाग्छ। सुनिन्छ, मधेस प्रदेशमा दिनको सात जना सडक दुर्घटनाले मर्छन् रे। हुन पनि सक्छ।
कुरा २०४९ साल कात्तिक २७ गते शुक्रवारको हो। जुन बेला म बिकम.को परीक्षा तयारी गर्न गाउँमा थिएँ। हामी पोखराकै मान्छे भए पनि यातायातको दुःखले बजारमा डेरा गरी बस्थ्यौँ। गाउँमा आमा भाइबहिनी बस्दथे। बुबा कहिले बजार कहिले गाउँ बस्नुहुन्थ्यो।
दिदी प्रवीणता प्रमाणपत्र तह प्रथम वर्षको पृथ्वीनारायण कलेजमा पढाइको सुरु दिनमा रहँदै गर्दा शुक्रवार कात्तिक २७ गने मास्टर रत्नदास प्रकाशको निधनले कलेज बिदा भयो। त्यही मौका पारेर दिदी आमालाई कढेंनी खेतमा धान काट्न सघाउन पोखरा बजारबाट गाउँ जाने हुनुभयो।
गाउँ जाने क्रममा दिदी चिप्लेढुंगाबाट बस चढेर बुढिबजार आउँदा बिजयपुर र बुढिबजारको बिचमा गाडीबाट झर्न कन्डक्टरलाई अनुरोध गर्नु भएछ। हतारमा गाडीबाट झर्ने क्रममा दिदी सडकमा लड्नु भएछ। रगताम्मे भएकी उहाँलाई बालुवा बोक्ने ट्रकमा राखेर गण्डकी अस्पताल लगिएछ। बुबा र भाइलाई खबर गरेपछि अस्पतालमा उपचारको क्रममा राति कति बेला निधन भएछ। सायद काठमाडौँ लगेको भए उपचार हुन्थ्यो होला कि!
‘मानिसको लेखा टार्न नसकिने रहेछ’ भनेको यही हो। जब कि उहाँ चढेको गाडी पछाडि हाम्रो आफ्नै गाडीको छुट्ने पालो थियो। तर उहाँलाई खेतमा पुग्न हतारो थियो। सायद कुरेर हाम्रो आफ्नै गाडीमा आएको भए यस्तो हुन्थेन होला कि! हुन त उहाँको निमित्त आइपुगेको होला।
सहरमा सुकिला, वयस्क मान्छेहरू सार्वजनिक बस चढेका हुन्छन्। त्यहाँ बसभित्र कतै गाडीवालाले यात्रुलाई अन्याय गरिरहेको हुन्छ, कति महिलामाथि दुर्व्यवहार भइरहेको हुन्छ, कतै गाडीवालालाई यात्रुले तर कोही यात्रु चुँक्क बोल्दैन। लाग्छ, यो जीवित मुर्दाको सहर हो! हामी यति धेरै बेमतलब भयौँ कि अब कसैले कसैको सहयोग पाउन्नँ पनि, चाहन्नँ पनि।
यो दुर्घटनाको बारेमा ५ किलोमिटरको दूरीमा रहेका हामी गाउँमा बस्ने परिवारजनले भोलिपल्ट बितेपछि मात्र खबर पायौँ। किनकि गाउँमा टेलिफोन थिएन।
कहिलेकाहीँ मान्छेको नामले पनि फरक पार्छ। यसैले नाम सकभर बिलकुल नयाँ राख्दा कल्याण हुने रहेछ। अर्थात् नाम जुधाउन हुँदैन। गाउँभरि शान्ति नामका करिब १० जना छोरीमान्छे थिए होलान् त्यो बेला। अहिले विदेशी नाम राख्छन्।
हामीले दिदी बित्नुभन्दा अघिल्लो दिन बेसी खेतमा धान काट्न जाँदा ‘एक जना शान्ति बसबाट लडेर मरन्त परेर अस्पताल लगेका छन् रे’ भन्ने सुनेका थियौँ। तर हामीले उहाँ हाम्री दिदी नभई अर्के बन्जारा थर कि शान्ति भन्ने भ्रममा पर्यौँ। दिदीको सास भेटाउन सकिएन, लाससम्म भेटाइयो।
यो घटनाले मलाई पीडा कुण्ठा त अहिले पनि दिइरहन्छ र पनि दुई कुरा सिकायो। एक, कुनै पनि विषयमा केही कुरा थाहा पाएपछि सत्य तथ्य बुझ्न ढिला गर्न हुँदैन, सञ्चारमा चनाखो हुनुपर्छ। दुई, बिरामीको उपचार गर्न हतपती जुनसुकै अस्पताललाई विश्वास गर्न हुँदो रहेनछ।