विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा मंगलबार चौधरी ग्रुप तथा 'ब्लु वेष्ट टु भ्यालु'बीच विद्युतीय फोहर व्यवस्थापनको सम्झौता भएको छ।
एलजी लाइफ स्टाइल सप्पी, मिनभवनमा गरिएको कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा ब्लु वेष्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत नवीन विकास महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
विद्युतीय उपकरण वितरण तथा बिक्रीमा चौधरी ग्रुपले अग्रणी स्थान लिँदै आएको छ। उपकरणको समय सकिएपछि त्यसलाई राम्ररी व्यवस्थापन गर्न र वातावरणमा त्यसको असर कम गर्न चौधरी ग्रुप तथा ब्लु वेष्ट टु भ्यालुले हातेमालो गरेका हुन्।
'सरकारबाट नियम कानुन आउन समय लाग्न सक्छ। तर हामीले आफ्नो तर्फबाट सक्दो योगदान दिनुपर्छ,' निर्वाण चौधरीले भने।
सम्झौताको मुख्य उद्देश्य विद्युतीय फोहर 'टेक–ब्याक सिस्टम' अर्थात फिर्ता लिने प्रणाली स्थापना गर्नु हो। सिजी र एलजीका सबै आउटलेटमा ग्राहकले कुनै पनि कम्पनीको विद्युतीय फोहर हस्तान्तरण गर्न सक्नेछन्। टिभी, फ्रिज, तथा वासिङ मेसिनजस्ता भारी सामानका लागि भने घरमै लिन आउने व्यवस्था गरिनेछ। साथै टिभी, फ्रिज र वासिङ मेसिनका लागि ग्राहकले छुट पनि पाउने छन्।
यसरी संकलन भएका विद्युतीय फोहर ब्लु वेष्ट टु भ्यालुको रिसाइकलिङ केन्द्रमा लगि वातावरण मैत्री ढंगले व्यवस्थापन गरिने कम्पनीको भनाइ छ।
'हामीले विद्युतीय फोहर पहिले मर्मत गछौं। नमिल्नल भएमा आवश्यक सावधानी अपनाइ छुट्याउछौं। काम निकै चुनौतिपूर्ण छ, तर सामना गर्दै अघि बढ्ने हाम्रो लक्ष्य छ,' नवीन विकास महर्जनले भने।
काठमाडौंमा बढ्दै गएको विद्युतीय फोहरमा हुने हानिकारक रसायन तथा भारी धातुको कारणले वातावरण र स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने सम्भावना हुन्छ।
'यस्तो स्थितिमा हामीले आजैबाट सतर्क भएर काम गर्नु अत्यावश्यक छ। यसका लागि चौधरी ग्रुप र ब्लु वेष्ट टु भ्यालुको भन्दा पनि मुख्य भूमिका सर्वसाधारण जनताको रहनेछ, जसले आफ्नो घरमा भएका पुराना विद्युतीय फोहोर व्यवस्थापन कार्यलाई सफल बनाउन सक्छन्,' ब्लु वेष्ट टु भ्यालु, विद्युतीय फोहर व्यवस्थापनकी प्रोजेक्ट लिडर मनश्री नेवाले भनिन् ।