आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थालेका छन् ।
आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र मर्नेगरी कामसमेत गर्नुपरेको उनले सम्झिए।
उनीजस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा भोग्नुपरेको थियो । अहिले सरकारको उपलब्ध गराएको पाँच लाख २५ हजार रूपैयाँले घर तथा जग्गा किनेर ढुक्कसँग बस्न पाएको खुशी बुद्धेले व्यक्त गरे ।
उनीहरू जस्तै जाजरकोटका ४०० हलियाले घर निर्माण गरी आनन्दसँग बस्न थालेका छन् ।
प्रतिपरिवार जग्गा किन्न दुई लाख र रु घर बनाउन तीन लाख २५ हजार रूपैयाँ उपलब्ध गराइएको थियो ।
अर्काको हलिया बसेर दैनिक जिन्दगी गुजार्दै आएका हलिया आफ्नै घरमा बसेर आफ्नै खेतबारीमा किसानी गर्न थालेपछि अहिले परिवार नै खुशी भएको बुद्धे बताउँछन्।
पुनःस्थापना भएर आफ्नै दाजुभाइसँग बस्न पाउँदा जेलबाट मुक्त भएझैँ लागेको अर्का कालीबहादुर टमाटाले बताए।
जिल्लाका सात स्थानीय तहमा रहेका र अर्काको घरमा काम गर्न बाध्य भएका हलिया अहिले पुनःस्थापना भएपछि निकै खुशी भएका हुन् ।
जिल्लाका सबै ठाउँमा निर्माण भएका घर अनुगमन गर्दा राम्रो भेटिएको र सबै परिवार खुशी भएर बसेको पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
आफ्नै घरजग्गा भएपछि अर्को जिन्दगीको शुरुआत भएको प्रतिक्रिया उनीहरूबाट आफूले पाएको प्रजिअ बस्नेतले बताए।