अमेरिकाको राष्ट्रिय हवाइ यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले धनुषाकी ३४ वर्षीया रश्मी साहलाई सम्मान गरेको छ।
नासामा रहेर राम्रो काम गरेको भन्दै उनी २९ अक्टुबर (कात्तिक १२) मा सम्मानित भएकी हुन्।
नेपालमा एसएलसीसम्म पढेर साह अमेरिका गएकी थिइन्। उनी वैज्ञानिक हुन्।
‘दाइ जयप्रकाश र भाउजु सीमाकुमारीसहित भतिजी (रश्मी) र भतिजा अमेरिका हुनुहुन्छ,’ रश्मीका अंकल उमाशंकर साहले सेतोपाटीसँग भने, ‘दाइले अमेरिकामै पिएचडी गरेर त्यहीँ काम सुरू गर्नुभएको हो। उहाँ फ्लोरिडा युनिभर्सिटीमा काम गर्नुहुन्छ।’
रश्मी नासाबाट सम्मानित भएको खबर आफूहरूले परिवारका सदस्यबाटै जानकारी पाएको उनले जानकारी दिए।
‘नेपालकी छोरीले नासाबाट पुरस्कार पाउनु ठूलो कुरा हो। खबर सुनेपछि खुसी हुँदै फेसबुकबाटै बधाई दिएँ,’ उमाशंकरले भने।
रश्मी सम्मानित भएपछि सामाजिक सञ्जालमा बधाई आएका छन्। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ट्वीटमा भनेका छन्, ‘हाल अमेरिकामा बस्दै आएकी धनुषाकी रश्मीलाई धेरैधेरै बधाई। यो खबरले हामी गौरवान्वित भएका छौं। भविष्य थप सफल रहोस्।’