बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि एकाएक अशान्त बनेको कोहलपुरको माहोल शान्त पार्न सोमबार सर्वपक्षीय छलफल सुरू भएको छ।
कोहलपुर नगरपालिका वडा नं. ८ स्थित कृषि तालिम केन्द्र पिपरीमा छलफल भइहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
उनले आइतबार ३ बजेदेखि कोहलपुर क्षेत्रमा लगाइएको कर्फ्यू सोमबार पनि यथावत रहेको बताए।
आफ्ना बुवासँगै भे ६ प २७४० नम्बरको स्कुटर चढेर विद्यालय पुगेकी १२ वर्षीया छात्रा चन्दलाई बिहान १० बज्दै गर्दा कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयको गेट अगाडि ठक्कर दिएर गम्भीर घाइते बनाएपछि एकाएक कोहलपुरको माहोल तनावग्रस्त बन्न पुगेको थियो।
आक्रोसित विद्यार्थीले ठक्कर दिने ट्रक जलाइदिए। अन्य एक दर्जन सवारी साधनमा पनि तोडफोड गरे। ईलाका प्रहरी कार्यालय कोहलपुरको क्यान्टिममा तोडफोड र आगजनी भयो। प्रहरीले दर्जनौं राउन्ड हवाई फायर र अश्रुग्यास हान्यो। त्यसबाट दुई दर्जन जति विद्यार्थी र सर्वसाधारण घाइते भए।
परिस्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा आइतबार दिउँसो ३ बजेपछि कर्फ्यू लगाएको छ।