नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एक जनामा कोभिड- १९ रोग पोजेटिभ रिपोर्ट आएको छ,’उनले भने।
दुबईबाट आएका उनी गत चैत ११ गते अस्पताल भर्ना भएका थिए। 'उहाँमा रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गर्यौं। त्यसपछि परीक्षण गर्न स्वाब काठमाडौं पठायौं,' अस्पतालका चिकित्सक डा. जगदिश जोशीले सेतोपाटीसँग भने।
उनले अहिले विरामीको अवस्था सामान्य रहेको जानकारी दिए।
यो उपत्यका बाहिर कोरोना संक्रमणको पहिलो केस हो।
यसअघि तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ।