सरकारले कोरोना संक्रमण पुष्टि भए पनि अन्य रोगका कारण मृत्यु भएको स्पष्ट भए त्यसलाई कोरोनाबाट भएको नमान्ने भएको छ।
हालसम्म संक्रमण पुष्टि भएपश्चात जुनसुकै कारणले मृत्यु भएपनि त्यसलाई कोरोनाबाट मृत्यु भएको गन्ने गरिएको छ।
स्वास्थ्य मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा पहिलो संशोधन गर्नेगरी सो निर्णय गरेको हो।
‘कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिन्हहरू र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरूलाई भन्ने बुझ्नुपर्दछ। कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधि बीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ। कोभिड १९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन,’ कार्यविधिमा भनिएको छ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट नौं जना व्यक्तिको मृत्यु भएको छ। जसमा बुधबार मात्र दोलखाका कोरोना संक्रमित पुरुषको महाराजगन्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो।
