व्यापारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि विशाल बजार क्षेत्रका पसलहरू बन्द भएका छन्। बिहीबार विशाल बजार क्षेत्रका दुई जना व्यापारीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका-२४ले सूचना जारी गर्दै शुक्रबारदेखि भदौ ७ बजेसम्मका लागि पसलहरू बन्द गर्न आग्रह गरेको छ।
हाल विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरू बन्द छन्। न्युरोडका केही पसलहरू समेत बन्द गरिएको छ।
शुक्रबार महानगरपालिकाले कीटनाशक औषधि समेत छर्किएको छ।
'हामीले नेपाल सरकारले भने अनुसारको रेष्टुरेन्टमा टेक अवे, होटल, शैलुन, जिम लगायतका पसलहरू बन्द गर्न लगाएका छौं,'जनसेवा काठमाडौंका डिएसपी सुनिलजंग शाहले भने,'वडाले आग्रह गरेको हो। हामीले भन्दा पनि व्यापारीहरूले आफैं बुझेर सुरक्षित हुन खोजेको देखिन्छ।'
संक्रमण बढेपछि सुरक्षाका विधि अपनाउन र सुरक्षित हुन भन्दै प्रहरीले माइकिङ गरी जानकारी गराएको डिएसपी शाहले बताए।