त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद-बिक्रीमा संलग्न विद्यार्थी सुरेन्द्र कोइराला, केदार भट्टराई र परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारी रामबहादुर कर्माचार्यलाई विशेष अदालतले जरिवाना र कैद सजाय सुनाएको छ।
मंगलबार विशेषका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी, सदस्य न्यायाधीशहरू बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।
एक वर्षअघि त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद–विक्रीमा संलग्न तीनै जनालाई अख्तियारले मुद्दा चलाएको थियो।
विशेषले कोइरालालाई १४ महिना कैद र ४ लाख ५७ हजार जरिवाना, भट्टराईलाई ११ महिना कैद र तीनलाख ५ हजार जरिवाना अनि कर्माचार्यलाई १ लाख ५५ हजार जरिवाना र ११ महिना कैद सजाय सुनाएको प्रवक्ता पुष्पराज पाण्डेले बताए।
भक्तपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षक कोइरालाले आफूलाई इकोनोमिक्सको स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउने गरी अंक थपिदिन भन्दै १ लाख ५० हजार रुपैयाँ कर्माचार्यलाई दिएका थिए।
कोइरालाले आफ्ना साथी भट्टराईलाई अंक थपेर पास गराइदिन भन्दै ३ लाख रूपैयाँ कर्माचार्यलाई दिएको अख्तियारले पुष्टि गरेको थियो।
त्यसैले कर्माचार्य र कोइरालालाई ४ लाख ५० हजार घुस लिएको र भट्टराईलाई ३ लाख घुस दिएको भन्दै अख्तियारले मुद्दा लगाएको थियो।
कर्माचार्य र कोइरालाबाट ४ लाख ५० हजार रूपैयाँ जफत गर्न त्यति नै रुपैयाँ जरिमाना तिराउन अख्तियारले माग गरेको छ। दुवैलाई ६ महिनादेखि डेढ वर्षसम्मको कैद सजाय हुनुपर्ने अख्तियारको माग थियो।
त्यस्तै, भट्टराईबाट ३ लाख जफत गर्ने, तीन लाख नै जरिमाना तिराउने र ६ देखि डेढ वर्षसम्म कैद सजाय गर्नुपर्ने अख्तियारको माग थियो।
कर्माचार्यले स्नातकोत्तर तहको इकोनोमिक्स, ग्रामीण विकास र समाजशास्त्रका संकायका १५ वटा पेपरमा कोइरालालाई ३ देखि ५० नम्बरसम्म थपिदिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। कोइरालालाई त परीक्षा नै नदिएको समाजशास्त्रमा समेत कर्माचार्यले नम्बर दिएको भेटिएको थियो।
कोइरालाबाट १ लाख ५० हजार लिएर २ सय २४ अंकसम्म थपिदिएको तथ्य खुल्न आएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ।
‘यसरी कोइरालाले पैसा दिएर अंक थप्न लगाई सन् २०१९ को दीक्षान्त हुँदा उनले गोल्डमेडल पाएको, ग्रामीण विकासमा प्रथम श्रेणी र समाजशास्त्रमा भने परीक्षा नै नदिई पास भएको देखिएको छ,’ अख्तियारको अभियोगपत्रमा उल्लेख थियो।
त्यस्तै कर्माचार्यले भट्टराईलाई स्नातकोत्तर तहको इकोनोमिक्सका ५ वटा पेपरमा १०÷१० अंकका दरले नम्बर बढाइदिएर प्रथम श्रेणीमा पास गराइदिएको अख्तियारको अभियोग छ।