सुर्यको आरधना, उपासन र पूजा गरी बुटवलमा पनि छठ पर्व मनाइएको छ।
शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुहरूले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्वलाई विदाइ गरेका छन्।
छठ पर्वको लागि शुक्रबार दिउँसैदेखि तिनाउ नदी किनारमा ब्रतालु भेला भएका थिए।
ब्रतालुले साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसार ज्यामिर, नरिवल, सुन्तला, केरा उखुलगायतका सामग्री नाङ्लो र ठूलो ढक्कीमा राखी परिवारका सदस्यसहित विभिन्न भक्ति गीत गाउँदै जलाशयमा पुगेर पूजा गरेका थिए।
तिनाउ नदीमा पछिल्ला केही वर्षदेखि छठ पर्वमा ब्रतालुहरूको ठूलै जमघट हुने गरेको छ।
मधेसी समुदायको समेत बाक्लो बसोबास रहेको बुटवल उपमहानगरपालिकाले तिनाउमा छठपूजाको व्यवस्थापनको लागि हरेक वर्ष बजेट समेत व्यवस्थापन गर्दै आएको छ।
तर, यस वर्ष कोरोना महामारीका कारण गएका वर्षहरूमा जस्तो ब्रतालुहरूको भिड भने भएको थिएन।
त्यस्तै, देवदहको शंकरपुर, भैरहवास्थित छठ पोखरी तथा मायादेवी, सियारी, सुद्धोधन, तिलोत्तमा, सिद्धार्थनगर लगायत रुपन्देहीका हरेक पालिकाहरूले छठ पूजाको लागि पोखरी र घाटको व्यवस्था गरी छठ पूजा गरेका छन्।