लोकन्थलीबाट कोटेश्वर जाने लेनमा बुधबार मध्यराति एक जना मानिसलाई ठक्कर दिएर सवारीसाधन फरार भएको छ।
ठक्करबाट घाइते भएका ती पुरुषको बुधबार मध्यराति नै मृत्यु भइसकेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यराति ठिमी नगरपालिका-१ स्थिति लोकन्थली मनहरा सडकखण्डमा अधवैंशे पुरुष घाइते अवस्थामा भेटिएका थिए।
उनलाई मध्यपुर ठिमी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
उनको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक थियो।
परिसर प्रवक्ता दीपक गिरीका अनुसार ती अधवैंशे पुरुषको नाम, थर, ठेगाना केही पनि खुलेको छैन।
उनीसँग परिचय खुल्ने केही कागजात र मोबाइलसमेत नभएको गिरीले बताए।
कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका करिब ५० वर्षका ती व्यक्तिको शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ।
सवारीसाधनले ठक्कर दिएको यकिन भए पनि दुर्घटना गराउने साधन अहिलेसम्म फेला नपरेको उनले बताए।
‘ट्राफिक प्रहरीलाई भनिएको छ, राजमार्गमा राखिएका सिसिटिभी फुटेज निकालेर अनुसन्धान थालिएको छ,’ गिरीले भने।