काठमाडौंको पुतलीसडकबाट कुमारी हल जाने ठाउँमा ‘हेलम्बु फास्टफुड’ नामक एउटा खाजा घर छ। त्यहाँ मम र चाउमिन पस्किरहेका भेटिन्छन् पातलो गाँठीका एक युवा। यसरी म:म पसलेको चिनारी बनाएका युवाको नाउँ हो- छिरिङ लामा ह्योल्मो।
धेरैले उनलाई म:म पसलेका रुपमा मात्र चिन्छन्। साहसिक खेल पर्यटन अभियन्ताहरू भने उनलाई ‘माउन्टेन टाइगर’ भनेर सम्बोधन गर्छन्। त्यसो भन्नुमा कारण छ, छिरिङ साहसिक खेलाडी हुन्। साथै, जन्मथलो हेलम्बुलाई साहसिक पर्यटनधाम बनाउन क्रियाशील अगुवा पनि।
उनकै अगुवाइमा गएको आइतबार हेलम्बु गाउँपालिका-२ शेर्माथाङमा ‘हेलम्बु ५ किमी रन’ आयोजना गरियो। जसमा बालबालिकादेखि बुढाबुढीसम्म ३९ जना दौडेका थिए। विजयीलाई उनले आकर्षक पुरस्कार पनि बाँडे।
बौद्धमार्गी ह्योल्मोको छेच्यू पर्वका अवसरमा दौड गरिएको। यस दौडेले गाउँलेमा उत्साह र ऊर्जा बढायो।
विगतमा उनले तीन पटक ‘हेलम्बु म्याराथन’ आयोजना गरेका थिए। पहिलोपटक सन् २००९ मा, दोस्रो पटक सन् २०१५ र तेस्रोपटक सन् २०१८ मा। विदेशी माझ प्रख्यात हेलम्बु पदमार्गमा पर्ने कुटुमसाङदेखि ठाडेपाटी, मेलम्चीघ्याङ, तार्केघ्याङ हुँदै शेर्माथाङसम्म म्याराथन गराइन्छ। म्याराथनले स्वदेश तथा विदेशमा हेलम्बुको राम्रो मार्केटिङ भएको छ।
आज हेलम्बु साहसिक खेल पर्यटन गन्तव्यका रुपमा चिनिन थालेको छ।
सादा जीवन उच्च विचारका हिमायती छिरिङ प्रतियोगिताको खर्च व्यवस्थापन गर्न निकै दौडधुप गर्छन्। विदेशमा भएका साथीहरू, संघ-संस्था, राष्ट्रिय खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड र स्थानीयको सहयोग बटुलेर काम फत्ते गर्दै आएका छन्।
‘सन् २०२१ मा फेरि हेलम्बु म्याराथन गर्ने योजना छ,’ भर्खरै हेलम्बुबाट फर्केका छिरिङले बिहीबार अपराह्न नयाँ बानेश्वरको एउटा क्याफेमा भने, ‘म्याराथन पनि हेलम्बुलाई चिनाउने माध्यम बनेकामा खुसी लागेको छ।’
त्यति मात्र होइन, उनी विगत चार वर्षदेखि हेलम्बुमा ‘हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’ बनाउने अभियानको नेतृत्व गरिरहेका छन्। त्यसैले आवश्यक फाइल बोकेर राष्ट्रिय खेलकुद परिषद(राखेप)देखि सिंहदरबारसम्म धाइसके। परिणामस्वरुप राखेपले बागबानी फार्मको १६१ रोपनी जमिनमा सम्भाव्यता अध्ययन गरिसकेको छ।
अब उनको होस्टेमा सिन्धुपाल्चोकका प्रदेश र संघीय सांसदहित हेलम्बु गाउँपालिका नेतृत्वले हैंसे गर्नुपर्ने देखिन्छ।
अथक योद्धा हुन् छिरिङ। उनले व्यक्तिगत स्वार्थका लागि होइन, समग्र हेलम्बुलाई चम्काउने अभियान चलाएका हुन्। हेलम्बुलाई एडभेन्चर हब बनाउन आफूलाई प्रख्यात साइक्लिष्टहरू देवेन्द्र बस्न्यात, रञ्जन राजभण्डारी, सुदीप पौड्याल र गोपाल श्रेष्ठलगायतले हौस्याएको उनी बताउँछन्।
शेर्माथाङको ङाकु गाउँमा जन्मे-हुर्केका छिरिङ ३६ वर्षका भए। उनले विगतमा आठ वर्ष महेन्द्र पुलिस क्लबमा आबद्ध भएर खेल खेलेका थिए। त्यही बेला सन् २००५ मा एभरेष्ट म्याराथन जिते। त्यतिबेला उनले ३ घन्टा ५२ मिनेटमा दौड पूरा गरे।
अचेल हिमालयन स्पोर्टस् क्लब र बैकुण्ठ मानन्धर फाउन्डेशनसँग मिलेर खेलकुद इभेन्ट गर्छन्। साथै नयाँनयाँ खेलाडी उत्पादन गर्दैछन्।
अर्को कुरा, हाम्रा अन्य गाउँघर जस्तै हेलम्बु पनि बसाइँसराइको मारमा छ। खेतियोग्य जमिन बाँझो हुनेक्रम बढ्दैछ। त्यसैले, उनी कृषिमा पनि मन दिँदैछन्। गाउँमा खेतीपाती गर्न ‘हेलम्बु फार्म हाउस एण्ड नसरी’ दर्ता गरिसके।
उनलाई पहिलो पटक ‘माउन्टेन टाइगर’ उपमा विदेशी प्रशिक्षकले दिएका रहेछन्। एभरेष्ट म्याराथन जितेर फर्केपछि तीनचुली, काठमाडौंको ह्योल्मो गुम्बामा संघ-संस्थाले सम्मान कार्यक्रम राखेका थिए।
त्यही कार्यक्रममा जर्मन कोच गुन्टर लाङ्गेले उनलाई ‘माउन्टेन टाइगर’ उपमा दिएका।