ललितपुरको जावलाखेलस्थित एक नवनिर्मित घरले सडकपेटीमै फोहोर फालिएकोमा पटक पटक उठाउन आग्रह गर्दा पनि नमानेपछि उक्त फोहरलाई सम्बन्धित घरमा नै फालेर व्यवस्थापन गरिएको छ।
नवनिर्मित घरबाट सडकपेटीमा फालिएका ईट्टाका टुक्रा, माटो, रड, ढुंगा, बालुवालगायतले सडक फोहर हुनुका साथै पैदल यात्रुलाईसमेत हिँडडुल गर्न बाधा भएपछि ललितपुर नगर प्रहरीले त्यसलाई हटाउन घरधनीसँग आग्रह गरेको थियो।
सडक पेटीमा पैदल यात्रुलाई नै बाधा पर्ने गरि राखिएका निर्माण सामाग्री र फोहोरहरू पटक पटक हटाउन आग्रह गर्दा पनि नटेरेकाले नगर प्रहरीले उक्त फोहोर नवनिर्मित घरभित्रै फालिएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुंले सेतोपाटीलाई जानकारी दिए।
‘हामीले धेरै पटक उक्त सामाग्री हटाउन आग्रह गरेका थियौं तर घरबेटीले नटेरेपछि नगर प्रहरीले उक्त फोहर सम्बन्धित घर भित्रै फ्यालेर बाटो सफा गरेका हौं’, उनले भने।
यसरी सडक पेटी ढाकेर पैदल यात्रुलाई अवरोध हुने गरि विभिन्न ठाउँमा राखिएका निर्माण सामाग्री हटाउन सम्बन्धित व्यक्तिलाई जानकारी गराइसकेको भन्दै हाछेथुंले अब सबै ठाउँबाट हटाएर बाटो सफा पार्ने बताए।
ललितपुर महानगरलाई सफा र सुन्दर बनाउने महानगरको प्रमुख कर्तब्य रहेको भन्दै हाछेथुंले यसअघिनै ललितपुर महानगरपालिका भित्र अव्यवस्थित तवरले टाँगेका र सडकमा लत्रिएर बसेको तार व्यवस्थित पारिसकेको छ।
अव्यवस्थित तारका कारण शहर कुरुप बनेको र दुर्घटनाको जोखिम बढेको भन्दै महानगरले त्यस्तो तार हटाएर सफा पारेको छ।
यसअघि, ललितपुर महानगर क्षेत्रका होर्डिङबोर्ड हटाएर नगर प्रहरीले सम्पदा सफाइ अभियान चलाएको थियो।
यस्तै महानगरले ललितपुर महानगरभित्र अस्थायी रुपमा रहेका फुटपाथभन्दा पनि सटर भाडामा लिएर सडक मिच्ने प्रवृत्ति हटाएको छ।
सहरको शोभा बढाउने भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका बिजुलीका पोल चिटिक्क पारेर सिंगारेको छ। हरियो रङ लगाएर महानगर भित्रका भित्री बाटोका पोलसमेत सफा र चिटिक्क छन्।
ललितपुर महा–नगरपालिका प्रमुख चिरिबाबु महर्जनले पुराना विज्ञापन हटाएर रङरोगन कार्यक्रमको सुरूआत गर्दै सफा र सुन्दर महानगरको परिकल्पना गरेका हुन्। ‘हामीले मुख्य बाटोमा मात्र नभएर सहरका भित्री सडकका पोलमा पनि वर्षौदेखि टाँसिएका विज्ञापन हटाएर ६ फिट उचाईसम्म हरियो रंग लगाएर सफा बनाएका छौ’, हाछेथुले भने,‘सफा पारेका बिजुलीका पोलमा भर्ना खुल्यो, विभिन्न जागिर, घर–फ्ल्याट खाली’ जस्ता विज्ञापन टाँस्नेलाई नगरपालिकाले कारवाही शुरु गरिसकेको छ।’
हेर्नुहोस् केही तस्बिहरू