'देवकोटाको घर भत्किएपछि हेर्न जानुभयो?'
यो प्रश्नले रवीन्द्र पुरीको अनुहारको उज्यालो हरायो। उदेक मान्दै उनले भने, 'त्यहाँ गएँ भने त मलाई हृदयघात हुन्छ होला! यति धेरै चित्त दुखेको छ। अब त जिन्दगीभर पाइला टेक्दिनँ।'
रवीन्द्र पुरी सम्पदा संरक्षणकर्मी हुन्, पुराना भवनहरू संरक्षण गर्छन्। मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर (कविकुञ्ज) भत्काएपछि उनलाई 'छागाँबाट खसेजस्तै' भएको छ। संरक्षणकर्मीको नाताले मात्र होइन, डेढ वर्षअघि सग्लो घरलाई आफ्नै आँखाले निरीक्षण गरेको कारण पनि।
करिब ८० वर्ष पुरानो देवकोटाको त्यो घर अलिकति यताउता पनि नभएको उनलाई सम्झना छ। बांगोटिंगोसमेत थिएन। डकर्मीको भाषामा भन्दा घन्टीसमेत मिल्ने (९० डिग्री) अवस्थामा थियो। त्यो घर हेरेर आएपछि उनले भवन निर्माणको जिम्मा लिएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई भनेका पनि थिए, 'यो घर त मेरो नमूना घरभन्दा दुई–तीन गुणा राम्रो अवस्थामा रहेछ। यसलाई भत्काउनुपर्दैन। जिर्णोद्धार गरे पुग्छ।'
एकाएक गत बिहीबार घर भत्काएको खबरले उनलाई नराम्ररी झट्का दिएको छ। त्यही भएर उनी देवकोटा घरको कुराकानी गर्न त्यति सहज मानिरहेका थिएनन्।
हामी भने भत्किएको देवकोटा घर हेर्न मंगलबार मैतिदेवी पुगेका थियौं। जस्ताले बारेको कम्पाउन्डभित्र घरका इँटाहरू एकातर्फ र काठको चाङ अर्कातर्फ राखिएको थियो। त्यहीँ एक कुनामा बोरिङको काम भइरहेको थियो। संग्रहालयका लागि नयाँ भवन बनाउने तयारी चल्दै थियो।
रवीन्द्र पुरीको नमूना घर। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरीअवशेष मात्र रहेको देवकोटा घरको कुरा थाती राख्दै हामीले पुरीसँग उनले अहिलेसम्म कस्ता–कस्ता घर जोगाए, पुराना भवनको महत्व र विशेषता के हो लगायत विषयमा कुराकानी गर्यौं।
देवकोटा घर भत्काउने प्रतिष्ठान, विभिन्न महत्वपूर्ण सम्पदा भत्काउने सरकारी निकाय र मान्छेलाई कस्ता–कस्ता 'धराप' घर उकास्न सकिन्छ भन्ने उदाहरण पुरीले दिएका छन्।
सबभन्दा पहिले 'नमूना घर' कै कुरा गरौं जसले सन् २००४ मा युनेस्को अवार्ड पाएको थियो।
भक्तपुरको दत्तात्रयमा जन्मिएका पुरी पेसाले इञ्जिनियर होइनन्, न आर्किटेक्ट। तर घर निर्माण अभ्यासले उनलाई विज्ञ बनाएको छ। यो घर त्यसैको उदाहरण हो।
पुरीले कानुन, मानविकी, चित्रकला र व्यवस्थापनमा स्नातक गरेका हुन्। पछि जर्मनीको ब्रेमेन विश्वविद्यालयबाट विकास नीतिमा स्नातकोत्तर सके। त्यहाँबाट फर्कर्ने बित्तिकै उनी चार वर्ष जिटिजेडको परियोजना प्रमुख भए।
तर काम गरेको चौथो वर्षदेखि उनलाई औडाहा हुन थाल्यो। त्यो बेला पुराना घर भत्काएर धमाधम आधुनिक ढलान घर बनाउने काम सुरू भएको थियो। उनलाई यसले पोल्न थाल्यो। यो प्रवृत्तिलाई हटाउन मन थियो।
यसको सुरूआत उनी आफैंले गरे। पुरीले २२ वर्षअघि एक किसानको एक सय ६० वर्ष पुरानो घर किने। त्यो घर जीर्ण थियो, कुखुरा पाल्ने खोर बनाइएको थियो।
घर किन्ने बित्तिकै उनका छिमेकीले सोचे, 'यो घर भत्काएर रवीन्द्रले अब खत्राको ढलान घर बनाउँछ।'
रवीन्द्र पुरीले जिर्णोद्धार गरेको द्वारे घर। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरीपुरीको त्यसो गर्ने उद्देश्यै थिएन। उनी त्यही घर टालटुल गर्दै मर्मत गर्न थाले। पुराना दलिन मर्मत गर्न, इँटा सफा गर्न, कुखुराको दाना राख्न गरिएको प्लास्टर उप्काउन उनले नयाँ बनाउन भन्दा बढी पैसा खर्च गरे। सात लाखमा किनेको घरलाई १५ लाख रूपैयाँ खर्चेर मर्मत गरे।
केही छिमेकीले भने, 'कस्तो दिमाग खुस्किएको होला। पैसा कमाएपछि मान्छे बौलाउँदो रहेछ।'
पुरी चुपचाप सुनिरहे। घरलाई मौलिक शैलीमा बनाउने कसरतमा नेवारी शैलीकै माँ अपा, दाची अपा, सुर्कीको जडान, झिँगटीको छाना, दलिन, कौसी कायम राखे। घरको ६० प्रतिशत भाग हेरफेर भए।
विस्तारै घर चिटिक्क देखियो, रूपरङ नै फेरियो। त्यसपछि पहिले गाली गर्नेले भन्न थाले, 'ओहो! बुढी मान्छे तरूनी भएजस्तै देखिन थाल्यो।'
त्यसले नाम पनि पायो, नमूना घर।
डेढ सय वर्षभन्दा पुरानो घरलाई थप दुई–तीन सय वर्ष उभ्याउन रेट्रोफिट नै गर्ने कि भन्ने पुरीलाई लागेको थियो। ०७२ सालको भुइँचालोमा नमूना घर कपालको रेसाजति पनि नचर्किएपछि उनलाई विश्वास भयो, 'पुरानो शैली नै मजबुत हुन्छ। प्रमाणित नै भयो नि।'
अहिले यही घर हेर्न विभिन्न ठाउँबाट मान्छे आउँछन्। पाटनका पुराना घरमा 'बेड एन्ड ब्रेकफास्ट' खोलेका व्यवसायीलाई त युनेस्कोले यो घर भ्रमण गर्न निमन्त्रणा नै दिएको थियो।
देवकोटा घरलाई जिर्णोद्धार गर्न नसकिने 'धराप' भनेर भत्काउने प्रतिष्ठानका प्राज्ञहरूको दिमागबाट पनि नमूना घर ओझेल भइनसकेको हुन पर्ने हो। जसरी पुरीलाई अझै सम्झना छ, 'मैले देवकोटा घर भत्काउन पर्दैन भन्ने सल्लाह दिएपछि प्रतिष्ठानका चार–पाँच जना प्राज्ञहरू मेरो घर हेर्न आउनुभएको थियो। उहाँहरू दंग पर्दै फर्कनुभएको थियो। तर उहाँहरूको नियत नै भत्काउने रहेछ।'
रवीन्द्र पुरीले जिर्णोद्धार गरेको मल्पी स्कुल। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरीउनले अगाडि भने, 'मेरो नमूना घर हेर्न हजारौं मान्छे आउँछन्। त्यो नयाँ बन्ने घर हेर्न अब को जाला?'
हाल ५० वर्षका पुरी आफ्नो त्यही नमूना घरलाई जीवनकै 'टर्निङ प्वाइन्ट' मान्छन्। त्यसयता उनले सयौं हाराहारी निजी घर, दर्जनौं मन्दिर र स्कुल बनाइसकेका छन्। चालीस वर्षको उमेरमै उनले आफ्नो आधा सम्पत्ति ट्रस्ट बनाएर सामाजिक सेवामा लगाइसकेका छन्। रवीन्द्र पुरी फाउन्डेसनबाट सरकारी विद्यालय र मन्दिर निर्माणको काम साथै निःशुल्क तालिम दिन्छन्।
हामी यही फाउन्डेसनमा बसेर कुराकानी गर्दै थियौं जुन आफैंमा सय वर्षभन्दा पुरानो घर भएको पुरीले बताए।
उक्त घरको भित्ता रंगाउन आलेचा (लिउन) ले लिपिएको बताए। बजारिया रङमा लिड र रसायन हुने भएकाले वातावारणमैत्री र स्वस्थकर हुँदैन।
'तपाईं सुती र पोलिस्टरको लुगा लगाइहेर्नुस् न, हाम्रो शरीरलाई कुनले राम्रो गर्छ?,' प्रश्न गर्दै उनले भने, 'घरमा पनि त्यस्तै हो। हामीले प्राकृतिक सामग्री प्रयोग गरेर बनायौं भने बलियो र वातावरणमैत्री हुन्छ।'
घर बनाउने हाम्रो परम्परागत प्रविधि यहीँको परिवेशमा विकसित भएको हो। विभिन्न भुइँचालोहरू झेल्दै, समयअनुसार परिमार्जन हुँदै र दिगो पनि हुनेगरी यो प्रविधि विकास हुँदै आएको छ। यो प्रविधिमा काठ, इँटा र सुर्की चुनाको जडानले घर बनेको हुन्छ। नेपालजस्तो भूकम्पकीय जोखिम भएको देशमा यस्ता घर नै मजबुत हुने पुरीको भनाइ छ।
प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले देवकोटा घरको इँटा बाहिर पाको भए पनि भित्र काँचो भएको बताएका थिए। पुरीका अनुसार परम्परागत घर बनाइने प्रविधि नै त्यही हो।
'मल्लकालदेखि राणाकालसम्म नै यही चलन हो। यो कुरा त मैले प्रतिष्ठानका मान्छेलाई पनि भनेको थिएँ,' उनले भने, 'तर उनीहरूलाई त जसरी पनि भत्काउनु थियो।'
परम्परागत देवकोटा घर भत्काएर ढलान बनाउन लागेको प्रतिष्ठान र सिमेन्ट मात्र बलियो हुन्छ भन्ने सोच राख्ने मान्छेलाई पुरी सिमेन्टको आयु खोज्न अनुरोध गर्छन्।
'हामीकहाँ सिमेन्ट आएको कति भयो, ३०–४० वर्ष? यसको अनुभव हामीले गरिसकेका छैनौं। त्यसको अनुभव भनेको भयावह स्थिति हो,' उनले भने, 'सिमेन्टको निश्चित आयु हुन्छ। तर माटोको आयु हुँदैन।'
भक्तपुरकै तीन सय वर्ष पुरानो ङातापोल (पाँच तले मन्दिर) र पनौतीको आठ सय वर्ष पुरानो इन्द्रेश्वर त्यसकै उदाहरण भएको उनी बताउँछन्।
त्यस्तै उदाहरण त नमूना घर, टोनी हेगन हाउस, पनौतीको भूतघर (मतान छेँ), मल्पी कलेज लगायत पुरी आफैंले जिर्णोद्धार गरेर दिइरहेका छन्।
रवीन्द्र पुरीले जिर्णोद्धार गरेको टोनी हेगन हाउस। पहिले (बायाँ) र अहिले (दायाँ)। तस्बिर सौजन्यः रवीन्द्र पुरीपनौतीको बस्तीलाई त सन् २०३० सम्ममा पुरानो मौलिक शैलीमा बनाउने पुरीको योजना नै छ। मापदण्ड नै तयार भइसकेको उक्त ठाउँमा नगरपालिकाले बजेट पनि छुट्याइसकेको छ। मापदण्डअनुसार ती घरहरू क, ख ग, र घ मा वर्गीकरण गरिएको छ।
क. पुरानो घर सबलीकरण गरेर संरक्षण गर्ने,
ख. कुनै घर नभत्काइ नहुने स्थिति भयो भने भत्काउने। त्यही सामान फेरि प्रयोग गर्ने,
ग. सिमेन्टले बनिसकेका घरलाई पुरानै शैलीमा ढाल्ने,
घ. नयाँ घर बनाउँदा पुरानो शैली झल्काउने।
रवीन्द्र पुरी फाउन्डेसनमार्फत बन्ने अरू भवनले पनि यही मापदण्ड पछ्याउँछन्।
भक्तपुरको गछेँस्थित एक चार तले कंक्रिटको घर थियो। भूगर्भविद टोनी हेगनले आफ्नो किताबमा परम्परात नेवारी घर त्यस्तो भएकामा दुःख प्रकट गरेका थिए।
पुरीले त्यसलाई ग वर्ग अर्थात् पुरानै शैलीमा ढालेर सन् २००९ मा जिर्णोद्धार गरेपछि त्यसलाई नाम दिए, टोनी हेगन हाउस।
भक्तपुरकै मन्जु बहालाई ख वर्ग अर्थात् भत्काएर त्यहीको सामग्री प्रयोग गरी बनाइएको थियो। मन्दिरको कापकापबाट रूख उम्रिएकाले त्यसलाई भत्काउन परेको हो।
तर देवकोटा घरमा त्यस्तो कुनै त्रुटि थिएन। यही प्रसंगमा हामीले सोध्यौं, 'त्यसो भए देवकोटा घर अब ख वर्गको भन्न मिल्ने भयो?'
'त्यो त क वर्गकै घर थियो नि,' पुरीले भने, 'अब ख वर्गमा गर्न पनि त्यहाँका सबै सामग्री उनीहरूले फ्यालिसके होलान्। पुरातत्व विभागले पनि सरंक्षण पहल देखाएको छैन। नभए त्यस्तो स्थिति नै आउने थिएन।'
उनले अगाडि भने, 'त्यही पनि त्यो घर थाहा नपाएर भत्काएको होइन। जानाजान भत्काएकाले अपराध हो।'
पुरीका अनुसार अझै पनि त्यसलाई मौलिक शैलीमा बनाउने पहल गर्ने हो भने करिब दुई करोडमा निर्माण हुन्छ। प्रतिष्ठानले बनाउने भनेको ढलाने घर, लिफ्ट लगायत सुविधासहितको हो जुन उनलाई अनावश्यक लाग्छ। किनभने यस्ता ऐतिहासिक घर बनाउने अन्तर्राष्ट्रिय शैली नै त्यसको पुरानो स्वरूप कायम राखेर हो।
रवीन्द्र पुरी र उनको बासुकी घर। तस्बिर सौजन्यः रवीन्द्र पुरीबेलायतस्थित १६ औं शताब्दीको सेक्सपियरको घर पनि सन् १८५७ देखि १८६४ सम्ममा जिर्णोद्धार गर्दा पुरानै शैलीलाई कायम राखेर बनाइएको थियो। त्यसका लागि पुराना चित्रको पनि सहायता लिइएको थियो। देवकोटा घर भत्काएपछि अहिले सामाजिक सञ्जालमा धेरैले सेक्सपियरको घरलाई पनि उदाहरणका रूपमा सेयर गरिरहेका छन्।
पुरीका अनुसार परम्परागत शैलीमा घर बनाउँदा, फिनिसिङसहित प्रति वर्गफुट चार–पाँच हजार रूपैयाँ लाग्छ। अग्राख काठ मुख्य भागमा, बिम, झ्याल–ढोकामा प्रयोग गरेर दलिनमा सल्ला राख्न सकिन्छ। त्यसले काठको लागत कम गराउँछ।
पहिलेका परम्परागत घरको कमजोरी भनेको उचाइ र उज्यालोमा थियो। पुरीले अहिले त्यो दुवै सुधारेर घर बनाइरहेका छन्। भक्तपुरको नागपोखरीमा उनी अहिले नागकै बुट्टा कुँदिएको बासुकी घर बनाएर बसेका छन्। पहिलेका त्रुटि सामान्य बनाउन उनले घरको उचाइ बढाएका छन्, झ्याल धेरै हालेका छन्।
'अहिले जसरी आधुनिक शैलीको प्रचार भएको छ, त्यसरी नै परम्परागत शैलीको प्रचार हुने हो भने नेपालमा नयाँ उद्योग सुरू हुन्छ,' पुरीले भने, 'एक त हाम्रो मौलिकता बच्छ, अर्को हाम्रो देश पर्यटकीय स्थल बन्छ।'
उनले अगाडि भने, 'संसारभरले हामीलाई नेपाली भनेर चिन्ने भनेको हाम्रो भाषा, लवाइ–खवाइ अनि यहाँका कलाकृतिले हो। उनीहरू घुम्न जाने पनि पुराना सभ्यता भएका ठाउँ हुन्। झिल्के टावर र घरभन्दा उनीहरूलाई प्रकृति र पुराना संरचना नै मन पर्छ।'
हामीलाई पनि नयाँ बन्ने आधुनिक संग्रहालयभन्दा भत्काइएको पुरानो देवकोटा घरकै महत्व बढी छ। देवकोटा बितेपछि उनको याद ताजा बनाउने त्यो घर पनि एक थियो। उनले हिँडेका पदचापहरू, छोएका भित्ताहरू, बसेको ठाउँलाई अनुभूत गराउने ८० वर्ष पुरानो त्यो घर आफैंमा संग्रहालय थियो।
देवकोटा घर (भत्काउनु पहिले बायाँ) र भत्काइसकेपछिको दृश्य। तस्बिर सौजन्यः विनोद देउवा/सञ्जय अधिकारी