काठमाडौंमा बुधबार दुई जना व्यक्ति पक्राउ परे। उनीहरू दोलखामा एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा समातिएका हुन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो।
प्रहरीले विक्रमलाई काठमाडौंको तीनकुने र सुमनलाई चुच्चेपाटीबाट बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
विक्रम काठमाडौंमा प्लम्बिङको काम गर्थे यता सुमन भने क्याम्पस पढ्थे। सामान्य काम गर्ने उनीहरूमाथि अहिले हत्या आरोप लागेको छ। जुन घटना एक महिनाअघिको हो।
गत कात्तिक १२ गते दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित एक जंगलमा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा एक पुरूषको शव फेला परेको थियो।
ती पुरूष हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्का थिए।
महतोका अनुसार डोरीले उनको खुट्टा र हात पछाडि बाँधिएको थियो। मुखमा खादाले बाँधिएको थियो भने टाउकोमा चोट देखिन्थे। खड्का १० गते रातिदेखि नै बेपत्ता थिए। सहकारीबाट पनि एक लाख ८५ हजार ७८० रुपैयाँ रकम गायब भइसकेको थियो।
यस घटनाको सूचना पाएपछि ब्युरो र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले अनुसन्धान थालेको थियो।
लामो अनुसन्धानपछि हत्यामा बिक्रम र सुमनको संलग्नता देखिएको र उनीहरू काठमाडौंमै रहेको थाहा पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक महतोका अनुसार उनीहरूले योजना बनाएर उनको हत्या गरेका हुन्।
'त्यहाँ धेरै पैसा हुन्छ भनेर काठमाडौंमै योजना बनाएर गएको देखिन्छ,' उनले भने।
काठमाडौंबाट दोलखा उनीहरू सार्वजनिक गाडीमै चढेर गए। उनीहरू त्यहाँ राति १० बजेतिर पुगेका थिए।
त्यसैबेला उनीहरूले लुटपाट गर्नको लागि सुरक्षा गार्डलाई हटाउनुपर्ने सोचे। त्यसैअनुसार उनीहरूले बहाना बनाए।
'दुई/तीन सय मिटर पर मान्छे बिरामी परेको छ जम् सहयोग गर्न भनेपछि गार्ड गएका रहेछन्। जंगल पुगेपछि उनीहरूले बनाएको योजना अनुसार ढुंगा र अन्य वस्तुले हिर्काएको भनेका छन्,' उनले भने,' उनीहरूले हात- खुट्टा पछाडि बाँधेर, कुटेर मृत्यु भएपछि भिरबाट हुर्याइदिएको बताएका छन्।'
प्रहरीका अनुसार हत्यापछि उनीहरूले गार्डसँग भएको सहकारीको चाबी लिएर लुटपाट गर्न गए। त्यसपछि सहकारी पसेर त्यहाँ भए जति रकम निकालेको प्रहरीसामु बयान दिएका छन्।
उनीहरूले सहकारीमा भएको सेफमा भएको सामान पनि लुट्ने सोचेका थिए। तर त्यो उनीहरूले फुटाउन नसकेको प्रहरी उपरीक्षक महतोले बताए।
राति हत्या गरेर उनीहरू चाबी लिएर सहकारीमा गएको प्रहरी उपरीक्षक महतोले बताए।
सेफ फुटाउन नसकेर बाहिरै भएको एक लाख ८५ हजार जति रकम लिएर उनीहरू भागेको उनले बताए।
भागेर उनीहरू काठमाडौं आए। त्यसपछि उनीहरू मुक्तिनाथ पनि घुम्न गएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
पक्राउ परेका उनीहरूबाट प्रहरीले जम्मा एक लाख ३८ हजार २३५ रुपैयाँ बरामद गरेको छ। त्यसबाट केही रकम मुक्तिनाथ घुम्न जानको लागि खर्चेको प्रहरीले जनाएको छ। केही दिन त्यहाँ बसेर काठमाडौं फर्किएपछि उनीहरू पक्राउ परेका हुन्।
ब्युरोले घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाएको छ। अहिलेसम्मको अनुसन्धानबाट दुई जनाको मात्रै संलग्नता देखिएपछि अनुसन्धान जारी नै रहेको हुँदा यकिनसाथ भन्न नसकिने प्रहरीले जनाएको छ।
यद्यपि अहिलेसम्म भने यसमा उनीहरू दुई जनाको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ।