नार्गाजुन नगरपालिका–२, इचंगुस्थित त्रितेन नोर्बुचे गुम्बामा मृतात्माको शान्ति र विश्व शान्तिको कामनासहित धार्मिक अनुष्ठान सुरु भएको छ। यसरी बोन धर्माबलम्बी ‘कुन्रीग लेसी ग्युङा’मा सहभागि भइरहेका छन्।
शान्ति तथा पूण्य प्राप्तिको कामनासहित गरिने पूजापाठ सातासम्म चल्छ। यस अनुष्ठानमा शनिबारदेखि होम सुरु भएको छ। तीन दिनसम्म होम हुने छ। खेम्पो तेम्बा युङ्डुङसहितका लामा एवं सर्बसाधारण पूजापाठमा सहभागि छन्।
बोन बुद्धिष्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेककाअनुसार भोट क्षेत्रका ठूला लामाहरूको निधन भएको ४९ औं दिनमा यस्तो अनुष्ठान गरिन्छ। काठमाडौंको गुम्बामा भने समय समयमा आवश्यकताअनुसार गरिन्छ।
यहाँको गुम्बामा बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवोका मूर्ति राखिएको छ। तिनै मिवोले सुरु गरेको बाने धर्मले संसारका सबै प्राणीलाई सबै खाले दुःखहरूबाट रक्षा गर्ने जनविश्वास छ।
बोन धर्म १८ हजार ३८ वर्ष पुरानो मानिन्छ। समयक्रममा पृथ्वीमा एक हजार आठ बुद्धको जन्म हुन्छ भन्ने बोन धर्मग्रन्थमा उल्लेख छ। यस हिसाबले तोन्पा शेन्राब आठौं बुद्ध हुन्।
विशेषतः नेपालको हिमाली भेगमा बोन धर्मावलम्बीको बाक्लो बसोबास छ। इचंगुनारायणको गुम्बा गुरु योङजीन रिम्पोचेले ३८ वर्ष अघि स्थापना गरेका हुन्। यहाँ बोधन धर्म सम्बन्धी ‘फिलोसपी अफ डाक्टर’ पढाई हुन्छ।












