निर्माणाधीन सेप्टिक ट्यांकीभित्र निस्सासिएर पाँचथरमा एक जना मजदुरको ज्यान गएको छ। सोही घटनामा थप दुई मजदुर बेहोस बनेर सिकिस्त अवस्थामा उपचाररत छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी कौशल बुढाथोकीले दिएको जानकारी अनुसार फाल्गुनन्द गाउँपालिका –५ मा रहेको घुर्बिसे पञ्चमी सहकारी संस्थाको निर्माणाधीन भवनमा यो घटना भएको हो।
बुधबार अपराह्न ५ बजेर २० मिनेट गएको बेला सोही ठाउँका रत्न चेम्जोङ ट्यांकीभित्र पसेका थिए।
‘निर्माण कार्य चलिरहेको रहेछ, उनी ढलान गर्दा लगाइने सेटिङका सामान निकाल्न सानो प्वाल पारेर ट्यांकीभित्र छिरेछन्,’ बुढाथोकीले भने ‘उनी भित्र पसेको केहीबेरमै अक्सिजन कम भएर बेहोस भए। बोलाउँदा नबोलेपछि उनका दुई साथीहरू निकाल्न पसेका थिए। उनीहरू पनि बेहोस भएछन्।’
घटना थाहा भएपछि निर्माणस्थलमै रहेका अरूले उनीहरूलाई बाहिर निकालेर अस्पताल दौडाएका थिए।
सबैभन्दा पहिले ट्यांकीमा पसेका ३८ वर्षीय रत्न चेम्जोङको इलाम अस्पतालमा उपचारका क्रममा राति पौने आठ बजे मृत्यु भएको थियो।
‘रत्नलाई निकाल्न पसेका त्यही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ,’ डिएसपी बुढाथोकीले भने ‘उहाँहरु दुवैको आइसियूमा राखेर उपचार भइरहेको छ।’