मध्य बर्खाको मौसम छ। आजबाट त साउन नै सुरू भइसक्यो।
ऋतुचक्र अनुसार पनि साउन र भदौ मुसलधारे पानी पर्ने याम हो।
तर देशका एकाध ठाउँबाहेक कतै पनि भारी वर्षा भएको छैन। हल्का (१० मिलिमिटरसम्म) देखि मध्यम (१० मिलिमिटरदेखि ५०सम्म) वर्षा भएर असार टर्यो।
अझ मधेस प्रदेशमा त पानीको हाहाकार नै छ। खेत बाँझै छ। लुम्बिनीदेखि पूर्व कोशीसम्मको तराईका भूभागमा पर्याप्त वर्षा नहुँदा खानेपानीको संकट चुलिएको छ। खानेपानीको संकटापन्न अवस्थालाई चिर्न मधेस सरकारले दमकलमा पानी बाँडिरहेको छ।
बुधबार ८ वटा पानी भरिएका दमकल प्रभावित क्षेत्रमा पठाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।
उनका अनुसार वीरगञ्जलगायत क्षेत्रमा पानीको संकट चुलिएको छ। तिर्खाएका मधेसवासीको प्यास मेटाउन प्रदेश विपद व्यवस्थापन कार्यकारी परिषद्को बैठक नै बसेर दमकलमार्फत् पानी आपूर्ति गर्ने निर्णय गरिएको हो।
तदनुरूप ५ हजार लिटर पानी बोकेका ८ वटा दमकल प्रभावित क्षेत्रमा पुर्याइएको थियो। नेपाली सेनाले थप वटा वारूण यन्त्र पठाएर मधेसको पानीको संकटसँग जुध्न हातेमालो गर्ने तयारी गरेको छ।
नागरिकको तिर्खा त दमकलको पानीले जसोतसो मेट्ला, पटपटी फुटेका मधेसका गह्रा कसरी सिञ्चित गर्ने? कृषकहरूलाई अहिले यही पिरलो छ।

रोपाइँ नै गर्न नपाएपछि त्यसको असर उत्पादनमै पर्नेछ। मधेसमा खाद्य संकट चुलिनसक्छ। देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मै असर पुर्याउने निश्चित छ। आर्थिक सर्वेक्षण २०८१/०८२ का अनुसार हाल जिडिपीमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत रहेको छ।
कृषि क्षेत्र फस्टाउने मूल आधार नै सिञ्चाइ हो र सिँचाइ आकाशे पानी नै निर्भर हुन्छ। त्यसकारण पनि समयमै पानी नपर्दा यसको धक्का राष्ट्रिय अर्थतन्त्रले नै व्यहोर्नुपर्ने भएको हो।
जल तथा मौसम विज्ञान विभागले यसवर्षको सुरूआती ऋतुगत आकलनमा मनसुन याममा मधेस प्रदेशमा सरदर वर्षा हुने प्रक्षेपण गरेको थियो। तर मनसुन सुरू भइसकेपछि त्यसलाई संशोधन गर्दै सरदरभन्दा कम वर्षा हुने आकलन गरिएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।
उनका अनुसार लुम्बिनीदेखि पूर्व कोशीसम्मका तराईका भूभागमा सरदरभन्दा कम वर्षा भएको छ। लुम्बिनीदेखि सुदूरपश्चिमसम्म तराईका भूभागमा सरदर वर्षा भएको छ। पहाडी तथा मध्यपहाडी क्षेत्रमा मात्रै एक दुई स्थानमा भारी वर्षा भएको छ।
जनकपुरमा मनसुन सुरु भएयता ११ प्रतिशत र अर्थात् १०० मिलिमिटर वर्षा भएको छ। जनकपुरमा मनसुन अवधिमा औसत ११ सय मिलिमिटर वर्षा हुनुपर्ने तथ्याङ्क छ। यसैगरी विराटनगरमा १५ प्रतिशत अर्थात् एक सय ५० मिलिमिटर वर्षा भएको छ। मनसुन अवधिभर यस क्षेत्रमा १४ सय मिलिमिटर वर्षा हुने गर्छ।
गएको २४ घन्टाको अद्यावधिक विवरण हेर्दा पनि एउटा केन्द्रमा मात्रै भारी वर्षा भएको छ। गोरखाको आरूघाट केन्द्रमा मात्रै ५७.४ मिलिमिटर पानी परेको छ।
असार ३२ गतेको तथ्यांकअनुसार त्यस दिनको २४ घन्टामा २६४ वर्षा केन्द्रमध्ये सबैभन्दा बढी भगवानपुर केन्द्रमा ७४.५ मिलिमिटर वर्षा भएको थियो। असार ३१ गते १७ वटा केन्दमा मात्रै ५० मिलिमिटरभन्दा माथि र ४ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा माथि वर्षा भएको थियो।
असार ३० गते ५ वटा केन्द्रमा मात्रै ५० मिलिमिटरभन्दा माथि वर्षा भएको थियो। असार ३० गते ६ वटा केन्द्रमा मात्रै ५० मिलिमिटरभन्दा माथि वर्षा भएको थियो।
असार २८ गते १५० वटा केन्द्रमा वर्षा मापन भएकामा कुनै पनि केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको थिएन।
यसरी हप्ता दिन यताको तथ्यांक केलाउँदा न्यून वर्षालाई देखाउँछ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाको अद्यावधिक विवरणअनुसार असार ३२ गतेसम्म औसतभन्दा कम वर्षा भएको छ। अहिलेसम्म ४३७.८० मिलिमिटर वर्षा भएको छ। यो भनेको सरदर वर्षाको २९.६ प्रतिशत वर्षा हो।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै जुलाइ महिनामा कम पानी पर्ने आकलन त गरेको थियो। तर सरदरभन्दा कम वर्षा हुनुको कारण के हो भनेर हामीले मौसमविद सञ्जिव झालाई सोध्यौं।
उनले बंगालको खाडीबाट उत्तरपश्चिम रहने मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा निकै तल रहेको बताए। त्यसकारण बिहीबार र शुक्रबार उल्लेख्य वर्षाको सम्भावना छैन। शनिबार देशको पूर्वी भागमा केही बढी वर्षा हुने सम्भावना छ।
अहिले भारतको उत्तर प्रदेशमा एउटा पानी पार्ने प्रणाली (न्यूनचापीय क्षेत्र) बनेको छ। त्यसको प्रभावले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्छ। त्यसको प्रभाव गण्डकी प्रदेशसम्म देखिन सक्ने उनले बताए।
बागमती, मधेस, कोशी प्रदेशमा उल्लेख्य वर्षा गराउने कुनै प्रणालीको प्रभाव देखिएको छैन।
मधेसमा पानी कम पर्नुको भौगोलिक कारण छ। प्रायः नेपालमा मनसुन याममा राति पानी पर्छ। दिउँसोपख चरक्क घाम चर्किने, जमिनको सतहमा भएका पानी सोसिने र बाफ बनेर माथि उठ्ने हुन्छ। अपराह्नपछि वायुमण्डलमा बादल बन्ने प्रक्रिया सुरू हुन्छ र पानी पर्न थाल्छ। पहाडी भूभागमा त्यसरी पानीका कण बोकेको बादल झन् छिटो एकतृत भएर मुसलधारे वर्षासमेत हुने गर्छ।
‘पानी पर्न पहाड पनि चाहिन्छ। तराई क्षेत्रमा पहाड कम हुनाले पानी कम परेको हो,’ उनले भने।
जलवायुविज्ञ धर्मराज उप्रेतीले पनि मनसुनी वर्षा बिहार हुँदै उत्तर प्रदेशतिर लागेको बताएका छन्।
‘बंगालको खाडीमा उत्पन्न भइ भारतको उडिसा हुँदै उत्तरतिर आएको प्रणालीले नेपालको सुख्खा भएको तराईमा वर्षा गराउला भनेको त, त्यो प्रणाली मध्यबिहार हुँदै भारतको इलाहावाद पुगेको छ। त्यो प्रणालीको बाहिरी घेरा मात्र नेपालको तराई भागमा परेकाले केही ठाउँमा हल्का वर्षा गरायो, कतै बादल मात्र देखिएर गयो भने केही ठाउँमा मध्यम वर्षा गरायो। यसको बाहिरी घेराको मध्यम प्रभाव पश्चिम नेपालको बर्दियादेखि पश्चिमी भागमा बिहीबार पानी पर्ने सम्भावना छ,’ उनले भनेका छन्।
उनले पनि आगामी दुई–तीन दिनलाई भारी वर्षाको सम्भावना देखेका छैनन्।
पानीको मूल फुट्न, सिञ्चाइ हुँन घनघोर वर्षा हुनुपर्छ। मुलुकको कतिपय भागमा प्रि–मनसुनयामको जस्तो ह्वार्र पानी पर्ने र थामिइहाल्नेजस्तो देखिएको मौसमविद बताउँछन्। पछिल्ला केही दिनयता तराई–मधेसमा पनि यस्तै प्रकृतिको वर्षा भयो।
‘अहिलेसम्म को अनुमानअनुसार आउने हप्ताको आइतबारदेखि साउन ४–५ (मंगलबार) सम्म पश्चिम नेपाललगायत देशको केही भागमा भारी वर्षाको सम्भावना देखिन्छ,’ उनले भने।
चलनचल्तीको भाषामा लगातार झरी परेर बीचमा एक रात पानी परेन भने बासिबिदो बसेको भनिन्छ। अर्थात् मनसुन याममा पानी नपरेको रातलाई पनि बासिबिदो भनिन्छ। यसपटक त रात होइन मनसुन याम नै बासिबिदो बसेझैं भएको छ।
यसपटक प्रि–मनसुन याममा लगातार झरी परेको थियो। सरदरभन्दा बढी नै पानी परेको थियो। वैशाखदेखिको लगातारको झरीले बर्खा जोडेकाले यसपालि खेतीपाती सप्रिनेमा कृषकहरू विश्वस्त थिए। जल तथा मौसम विज्ञान विभागले यसपटक वर्षा र तापक्रम दुवै सरदरभन्दा माथि हुने प्रक्षेपण गरेकाले कृषकहरूको आशालाई मलजल पनि गरेको थियो।
तर असार निख्रिएर साउन सुरू भइसक्दा पनि मनग्गे वर्षा नहुँदा मधेसमा औसतभन्दा कम रोपाइँ भयो।
कुन प्रदेशमा कति रोपाइँ?
कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६ दशमलव ७३ हजार हेक्टरमध्ये असार मसान्तसम्म ४१ दशमलव ३२ प्रतिशत अर्थात् एक लाख १४ हजार २२१ दशमलव ४ हेक्टरमा रोपाइँ भएको छ। प्रदेशमा गतवर्ष सोही अवधिमा ६१ दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो।
विभागका अनुसार मधेस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमध्ये हालसम्म ३३ दशमलव ८ प्रतिशत अर्थात् एक लाख २५ हजार ८८८ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ। गतवर्ष सोही समयमा प्रदेशमा ६१ दशमलव ५ प्रतिशत रोपाइँ भइसकेको थियो।
बागमती प्रदेशमा एक लाख २० हजार ५४५ हेक्टरमध्ये हालसम्म ९१ हजार ९८३ दशमलव नौ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ।
जुन ७६ दशमलव ३१ प्रतिशत हो। प्रदेशमा गत वर्ष सोही अवधिमा ७० दशमलव छ प्रतिशत रोपाइँ भएको विभागको भनाइ छ।
गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमध्ये हालसम्म ६६ दशमलव ९९ प्रतिशत अर्थात् ६३ हजार ९१ हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ६७ दशमलव ४ प्रतिशत रोपाइँ भएको थियो।
लुम्बिनी प्रदेशमा हालसम्म ७३ दशमलव ७ प्रतिशत रोपाइँ सकिएको छ। प्रदेशमा तीन लाख दुई हजार ९३९ हेक्टरमध्ये हालसम्म दुई लाख २३ हजार २१२ हेक्टरमा रोपाइँ भएको हो । प्रदेशमा गतवर्षको यही समयसम्म ६६ दशमलव ७ प्रतिशत रोपाइँ भएको थियो।
कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टरमध्ये हालसम्म ८३ दशमलव २३ प्रतिशत अर्थात् ३४ हजार २५ दशमलव ९ हेक्टरमा रोेपाइँ सकिएको हो। प्रदेशमा गतवर्ष यो समयसम्म ८६ दशमलव २ प्रतिशत रोपाइँ भएको थियो।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा असार २९ गतेसम्म ९३ दशमलव एक प्रतिशत रोपाइँ पूरा भएको छ। प्रदेशमा एक लाख ७६ हजार १५१ हेक्टरमध्ये हालसम्म एक लाख ६३ हजार ९९३ हेक्टरमा रोपाइँ सकिएको हो। प्रदेशमा गतवर्ष यही अवधिसम्म ८६ प्रतिशत रोपाइँ भएकोे थियो।
कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेका छन्।