इन्टरपोलबाट रेड नोटिस जारी भएका हत्याका फरार आरोपित १७ वर्षपछि पक्राउ परेका छन्।
उदयपुर बेलका नगरपालिका-६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याएको नेपाल प्रहरीले जनाएको छ।
२०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेको आरोप मगरमाथि छ।
हत्या गरेको आरोपमा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमति जारी भएको थियो। ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई अनुरोध गरेको थियो।
इन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते रेड नोटिस जारी भएको थियो।
मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ।