सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नं. ३ ढोरचौरस्थित निराजन माविले गाउँमा बाटो खनेको छ।
निर्माणपछि शिलालेखमा त्यसको नामा ‘स्वर्ग जाने बाटो’ भनेर राखिएको छ।
विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले निर्माणपछि आफैंले उक्त नाम राखेको सेतोपाटीलाई बताए।
‘सालखोली डाँडाबाट फलाटे खोला मसान घाटसम्म जाने करिब तीन सय मिटर लम्बाइको बाटो मेरै पहलमा विद्यालय परिवारले निर्माण गरेको हो,’ प्रअ घर्तीले भने, ‘हामी शिक्षक, विद्यार्थी आफैंले मिलेर बाटो खनेका हौं।’
झन्डै एक सय २० जना शिक्षक विद्यार्थीले तीन दिन दैनिक एक डेढ घन्टा श्रमदान गरी बाटो निर्माण गरेको उनले जानकारी दिए।
बाटो खन्न ९, १० र ११ कक्षाका विद्यार्थी, शिक्षक र तीन जना स्थानीय समेत खटिएको घर्तीले बताए। ‘पुसको २३, २४ र २५ गते हामीले बाटो खन्यौं,’ घर्तीले भने, ‘त्यसको उद्घाटन भने हामीले पुस २७ गते गरेका हौं।’
बाटो उद्घाटन गर्न कुनै दलका नेता, सांसद वा मन्त्री नबोलाएर स्थानीय सबै सर्वसाधारणसँगै हिँडेर गरिएको प्रधानाध्यापक घर्तीले जानकारी दिए।
घर निर्माण गर्दै गरेका एक जनासँग पाँच किलो जति सिमेन्ट मागेर सानो पिलर बनाइ त्यसैमा विद्यालयको नाम लेखिएको प्रअ घर्तीले बताए।
घर्तीको घर जिल्लाकै छत्रेश्वरी गाउँपालिका वडा नं. २ दमाचौरमा पर्छ।
उनी अध्यापनका सिलसिलामा सिद्धकुमाखमा पुगेका हुन। जहाँ उनले स्थानीय मासिनहरूको मृत्युपछि अन्तिम संस्कारका लागि लगिने बाटो नहुँदा भोग्नु परेको समस्या नजिकबाट नियाले।
‘शव बोकेर हिँड्ने ठाउँ पनि थिएन,’ उनले भने, ‘मलामीहरू खोलैखोला वा किसानका खेतबारीमा हिँड्नुपर्ने निकै अप्ठेरो अवस्था थियो।’
त्यसबारे उनले स्थानीय जनप्रतिनिधिसँग पटक-पटक आग्रह गरे। तर, उनको कुरा सबैले सुनेको नसुनेझैं गरे। प्र
स्थानीयले पाएको दुःख देखेर उनले हप्ता दिन अगाडि त्यस ठाउँमा खेत भएका व्यक्तिहरू सबैलाई एकै ठाउँमा भेला गरेर छलफल गरे।
विद्यालयले नै बाटो बनाइदिने भएपछि स्थानीय पनि बाटोको लागि आवश्यक पर्ने जग्गा दिन तयार भए।
त्यसपछि शिक्षक र विद्यार्थीसँग उनले कुरा गरे। ‘सकारात्मक कामका लागि सबैले साथ दिए। धमाधम काम भयो र हामीले तीन दिनमै बाटो बनाउन सफल भयौं,’ उनले थपे, ‘अबदेखि शव बोकेर हिँड्ने मलामीलाई खोलैखोला वा किसानले उत्पादन गरेका अन्नबालीमा टेक्दै खेतैखेत हिँड्नुपर्ने छैन।’
किन बाटोको नाम ‘स्वर्ग जाने बाटो’ भनेर राखिएको हो? भनेर सोध्दा उनले मानिसको मृत्युपछि स्वर्गमा बास हुन्छ भन्ने विश्वासको साथ उक्त नाम राखिएको तर्क गरे।
‘हाम्रो आस्था विश्वास र धर्म अनुसार मृत्युपछि स्वर्गमा गइन्छ भन्ने छ,’ उनले थपे ‘मानिसलाई उसको जीवनपछिको अन्तिमको यात्रा गराउने बाटोको सोही अनुरुप सुहाउने नाम छ।’