धादिङमा पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
बिहीबार बिहान साढे ७ बजे रूबिभ्याली गाउँपालिका-१ लिङ्जोमा खसेको पहिरोमा तीन जना पुरिएका थिए।
त्यसमध्ये एकजनाको शव शनिबार अपरान्ह पौने ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए।
मृतक काभ्रे महाभारत गाउँपालिका-२ बस्ने १९ वर्षीय राजु तामाङ हुन्। उनी स्काभेटरका सहचालक थिए।
लिङ्जोपुर-तिप्लिङ जाने बाटो खन्ने क्रममा स्काभेटरसहित तीन जनालाई पहिरोले पुरेको थियो।
काभ्रेका चालक २७ वर्षीय आकाश तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ अझै बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको कार्यलयले जनाएको छ।
खोजतलासको लागि नेपाली सेनाका २० जना, सशस्त्र प्रहरीका ११ जना र नेपाल प्रहरीका ७ जना खटिएको डिएसपी भण्डारीले बताए।