काठमाडौंको गुर्जुधारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ।
आइतबार दिउँसो चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा एक पुरूषमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
मृतक चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ घर भई गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजाल छन्।
आइतबार दिउँसो पौने १ बजे उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो। त्यसपछि उनी घाइते भएका थिए।
घाइते भएको खबरपछि महानगरीय प्रहरी प्रभाग बलम्बु, प्रहरी वृत्त थानकोट र परिसरबाट टोली खटिएको थियो।
उनलाई तत्कालै प्रहरीले नजिकैको सशस्त्र प्रहरी बल अस्पतालमा लगिएको थियो। त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए।
‘दुई पक्षबीच झगडा भएको जस्तो देखिन्छ। मृतकका साथीहरू पनि हिजो त्यहीँ भएको देखिन्छ,’ उनले भने, ‘दुई जनालाई हामीले नियन्त्रणमा लिएका छौं।’
अहिले पक्राउ परेका व्यक्तिहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
एक जनालाई गुर्जुधाराबाट आइतबार र अर्का व्यक्तिलाई सोमबार धादिङबाट पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएको छ।
उनीहरूबीच के कारणले झगडा भएकोबारे पनि प्रहरीले खुलाएको छैन।
‘हामी 'स्लम एरिया' भन्छौं। जुन ठाउँ बस्तीभन्दा बाहिर छ। जहाँ विभिन्न खालका मान्छेहरू बस्छन्। त्यो ठाउँमा धेरै झैझगडा र अपराध पनि हुन्छ,’ उनले भने, ‘धेरैजसो मान्छे पक्राउ परिरहने ठाउँमा घटना भएको हो। अहिले कारण खुलिसकेको छैन।’
घटनामा अरूको संलग्नता भए/नभएकोबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक मैनालीका अनुसार मृतक एक वर्षअघि मात्रै दुबईबाट आएका थिए। उनी अहिले पनि विदेश जाने तरखरमा थिए। त्यसैबीच यो घटना भएको हो।