प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।
राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समितिले तीन वटा प्रस्ताव अघि सारेको छ।
जसमध्ये सबै दलको साझा प्रस्ताव जनकपुर राजधानीका लागि मतदान सुरू भएको हो।
यस प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग सिमाना कायम गरिएको छ।
राजधानी सम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत आवश्यक हुन्छ।
यो प्रस्तावमा दुई तिहाई नपुगे दोस्रो प्रस्ताव ‘वीरगञ्ज’ मा मतदान हुनेछ।
पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग यस प्रस्तावमा समेटिएको छ।
जसपाका सांसद सिंगासन साह कल्वार यसका प्रस्तावक छन् भने लोसपाका सांसद प्रह्लाद गिरी गोस्वामी, जसपाकी सांसद करिमा बेगम र भीमा यादवले प्रस्तावको समर्थन गरेका छन्।
यो प्रस्तावमा समेत दुई तिहाई नपुगेको खण्डमा वीरगञ्जमा वीरगञ्ज महानगरपालिका भरिको भूभाग उल्लेख गरिएको अर्को प्रस्तावमा मतदान हुनेछ।
जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने कांग्रेसकै शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र असियादेवी थरूनी समर्थक छन्।
राजधानी समबन्धी प्रस्तावमा माथि मतदान सम्पन्न भइसकेपछि नामका लागि मतदान प्रक्रिया अघि बढाउने कार्यसूची छ।