रौतहट फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार काठमाडौंस्थित विशेष अदालतमा नगरपालिका प्रमुख गोपाल राय यादव, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू, वडाध्यक्ष र नगरपालिका सदस्यहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूविरूद्ध मुद्दा दायर गरिएको हो।
रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लालबकैया नदीको ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने निर्णय गरेको थियो।
आन्तरिक आय व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुबै नगरपालिकाले संयुक्त रूपमा सो निर्णय भएको थियो।
निर्णयअनुसार प्राप्त हुन आउने आयको फतुवा विजयपुरले ६० र गुजराले ४० प्रतिशत रकम बाडँफाँट गर्ने निर्णय भयो।
त्यसअनुसार फतुवा विजयपुरले आर्थिक वर्ष २०७५/०७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियमविपरीत रद्ध गरी नगरपालिकालाई नोक्सानी पुर्याएको भन्ने उजुरी परेको थियो।
त्यसमा संलग्न भएको हुँदा नगर प्रमुखसहित २१ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले यस मुद्दामा तत्कालीन तथा हालका नगरप्रमुख यादव, तत्कालीन उपप्रमुख कान्ती देवी, तत्कालीन वडाध्यक्षहरू वडा १ का संजय प्रसाद, वडा २ का भक्छिन राय यादव, वडा ३का दिपनारायण साह, वडा ५का शेख एजाज बहमद, वडा ६का हिरा राय यादवविरूद्ध मुद्दा दायर गरेको छ। शेख एजाज अहिलेका वडाध्यक्ष समेत हुन्।
त्यस्तै वडा ८ का तत्कालीन वडाध्यक्ष तथा हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा ९ का दिपनारायण चौधरी, वडा १० का योगेन्द्र प्रसाद चौधरी, वडा ११ का ज्ञानेन्द्र चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्यहरू लक्ष्मण साह कानु, सुन्दरी माझी, जिरनी देवी, फुलकुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह र रवीन्द्र कुमार निधिविरूद्ध पनि मुद्दा दायर गरेको छ।
उनीहरूले २०७५ पुस १५ गते लालबकैया नदीको ठेक्काको निर्णय कार्यान्वयन गराउन बेवास्ता गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
‘सबैभन्दा बढी बोलकबोल गर्ने बोलपत्रदाताले सम्झौता गर्न इन्कार गरेपछि दोस्रो बढी बोलकबोल गर्ने बोलपत्रदातालाई सम्झौता गर्न बोलाउने र पहिलो बढी बोलकबोल गर्ने बोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा जमानतबाट राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिएको,’ उनले भने,‘ २०७५ फागुन १७ गते कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता दिने निर्णय गरेको देखियो।’
त्यसो गर्दा नगरपालिकाको आन्तरिक आयमा एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ हानिनोक्सानी भएको अख्तियारले जनाएको छ।
अख्तियारले फतुवा विजयपुर नगरमा तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका र गोकुल ढुंगेलले उनीहरू कार्यरत रहँदा कार्यपालिका बैठकको निर्णय कार्यन्वयन गराउन बेवास्ता गरेको ठहर गरेको छ।
साथै सम्झौता गर्न ७ दिन म्याद दिएकोमा म्याद समाप्त हुँदा पनि नियमअनुसार सम्झौता गर्न नआउने ठेकेदारलाई कारबाहीको प्रक्रिया बढाउन धरौटी जफत नगरेको पनि आरोप छ।
रन्जना साहले पनि जफत गर्नुपर्ने धरौटी फिर्ता दिने निर्णय गरेको कारण भ्रष्टाचारको मुद्दा दायर गरेको हो।