राम्रा सामुदायिक स्कुल
काठमाडौंको बौद्ध क्षेत्रमा छ जनकल्याण माध्यमिक विद्यालय। यो विद्यालय कक्षा तीनसम्म पढाइ हुने गरी २०१० सालमा स्थापना भएको थियो। लामो समय तीन कक्षामै सीमित रह्यो।
प्रजातन्त्र पुनर्स्थापनापछि कक्षोन्नति हुँदै २०५८ सालमा कक्षा १० सम्म पुग्यो।
यस विद्यालयमा विगत सात वर्षदेखि प्रधानाध्यापक छिन् कुमारीकमला राई। उनी यस विद्यालयमा शिक्षक बनेर आएको २८ वर्ष पूरा भयो। २०७२ मंसिरदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छिन्।
हाल यो स्कुलमा कक्षा १२ सम्म पढाइ हुन्छ। करिब २४ सय विद्यार्थी छन्। २०६४ सालमा कक्षा ११ मा स्तरोन्नति भएर अर्को वर्ष १२ कक्षामा पुगेको हो।
यसपालि सेतोपाटीको 'राम्रा सामुदायिक स्कुल' शृंखलामा हाम्रो छनोटमा परेको छ सरकारी अनुदानमा चल्ने यही विद्यालय जनकल्याण।
चाबहिलको चुच्चेपाटीबाट महांकाल सडक हुँदै जाँदा करिब डेढ किलोमिटर पर एउटा मन्दिर छ। मन्दिरको छेउमै छ जनकल्याण माध्यमिक विद्यालय। विद्यालयको परिवेश मन लोभ्याउने खालको छ, हरियालीयुक्त छ।
चिटिक्क परेका पाँचवटा भवन अर्थात् ब्लक छन्। ती ब्लकका आआफ्ना नाम छन्; सगरमाथा, अन्नपूर्ण, धवलागिरि, माछापुच्छ्रे, कञ्चनजंघा र ल्होत्से।
ल्होत्सेमा दुइटा हल मात्र छन्। अन्य भवनमा कक्षाकोठा, प्रयोगशाला र विद्यालयका अन्य एकाइहरू छन्।
गेटबाट प्रवेश गर्नासाथ पानीको झरना देखा पर्छ जहाँ बालबालिकाहरू रमाउँछन्। यो दृश्य हेर्दै गर्दा प्रधानाध्यापक कुमारीकमलासँग भेट भयो। उनी विद्यालय पोशाकमा थिइन्।
त्यहीँ कुरा सुरू भयो।
विद्यार्थी कति छन्?
प्रसन्न मुद्रामा उनले भनिन्, 'अहिले २४ सय विद्यार्थी पढ्छन्।'
उनका अनुसार विद्यार्थी संख्या अझै बढ्न सक्छन् तर भौतिक सुविधाले पुग्दैन।
'सबै कक्षा कोठामा क्षमताअनुसार विद्यार्थी छन्, योभन्दा बढी राख्ने ठाउँ छैन,' उनले भनिन्।
उनले कुरा गर्दै आफ्नो कार्यकक्षमा पुर्याइन् अनि करिब तीन दशकअघिदेखिको कुरा गरिन्।
भनिन्, 'म २८ वर्षअघि शिक्षणका लागि यस विद्यालयमा आउँदा साढे तीन सय विद्यार्थी थिए। अहिले हामीले काठमाडौंको एउटा राम्रो र नमूना सामुदायिक विद्यालयका रूपमा जनकल्याणलाई चिनाउन सकेका छौं।'
उनका अनुसार विद्यालय परिसर करिब तीन रोपनी जमिनमा फैलिएको छ। दस कक्षासम्म करिब १५ सय विद्यार्थी छन्। कक्षा ११ र १२ मा नौ सय छन्। शिक्षक ४४ जना छन्। यीमध्ये २७ जना सरकारी दरबन्दीमा छन्। अन्य निजी स्रोतमा।
एउटा कक्षा कोठामा कम्तीमा ४० देखि बढीमा ६५ जनासम्म विद्यार्थी अटाउँछन्। सबैभन्दा धेरै विद्यार्थी कक्षा १० मा १६५ जना छन्। प्रधानाध्यापक कुमारीकमलाका अनुसार सेक्सन विभाजन गरेर कक्षाकोठामा विद्यार्थी संख्या व्यवस्थापन गरिएको छ।
विद्यालयमा सातवटै प्रदेशका विद्यार्थी छन्। विशेषगरी मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, खोटाङ, सोलुखुम्बु, नुवाकोट, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाका विद्यार्थी बढी छन्। कपन, जोरपाटी, चाबहिल, मूलपानी लगायतका ठाउँबाट विद्यार्थी आउँछन्। कतिपय विद्यार्थी सार्वजनिक यातायातमा आउनु पर्ने गरी अलिक टाढाका पनि छन्।
जनकल्याण माध्यमिक विद्यालय यति धेरै विद्यार्थीको आकर्षणमा कसरी पर्यो त?
प्रधानाध्यापक कुमारीकमलाका अनुसार विद्यार्थी संख्या बढाउन विद्यालयको सिंगो टिमले मेहनत गरेको छ। विद्यालयको कार्ययोजना अर्को महत्वपूर्ण पाटो हो। कक्षोन्नति हुँदै १० कक्षा पुगेपछि विद्यालयले विद्यार्थीको हेरचाह र खुसी प्राथमिकतामा राख्यो।
'हामीले आपसी सम्मानको संस्कारमा जोड दियौं। विद्यालयमा प्रवेश गर्दा सबै बालबालिकालाई हाँस्दै नमस्कार गरेर बोल्न सिकायौं। कक्षाकोठामा पनि विद्यार्थीलाई खुसी राख्ने प्रयास गर्यौं,' उनले भनिन्, विद्यालय परिसरको सफाइ, स्वच्छता र सौन्दर्यमा ध्यान दियौं। विद्यार्थीको स्वास्थ्य र सफाइमा पनि जोड दियौं।'
विद्यालयले पढाइमा जोड दियो। कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा थपिए। परीक्षाको नतिजा राम्रो हुँदै गयो। क्रमशः विद्यार्थी संख्या थपिँदै गयो।
यतिन्जेल विद्यार्थीका लागि विद्यालय पोसाक अनिवार्य थिएन। विद्यार्थी र अभिभावकहरूको आकर्षण बढ्दै गएपछि विद्यालय पोसाक अनिवार्य गरियो।
प्रधानाध्यापकको जिम्मेवारीमा पदोन्नति भएपछि कुमारीकमला नाम चलेका केही विद्यालयहरूमा गइन्। त्यहाँका असल अभ्यासहरू अवलोकन गरिन्। यस्ता विद्यालय हेर्न शिक्षकहरूलाई पनि पठाइन्।
'हामीले राम्रा स्कुलका असल अभ्यासबारे खोजी गर्यौं। भक्तपुरका केही स्कुल अवलोकन र त्यहाँका शिक्षकहरूसँगको छलफलबाट धेरै कुरा सिक्यौं,' उनले भनिन्, 'अन्य विद्यालयमा सफल भएका असल अभ्यासहरू कार्यान्वयन गर्दै जाँदा सकारात्मक परिवर्तन देखियो।'
भौतिक र शैक्षिक उन्नयन हुँदै गएपछि प्रधानाध्यापक कुमारीकमलाको पहलमा विद्यालयले 'हाम्रो जनकल्याण, राम्रो जनकल्याण' भनेर सन्देशमूलक नारा बनायो। कुमारीकमला आफू प्रधानाध्यापक भएपछिको मात्र प्रयासले विद्यालयको प्रगति भएको भन्ने मान्दिनन्।
भन्छिन्, 'यसअघिका प्रधानाध्यापकहरू, शिक्षकहरू र अहिलेको टिम, विद्यालय व्यवस्थापन समिति सबैले सत्प्रसायले विद्यालय राम्रो भएको हो।'
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र ढकालका अनुसार विद्यार्थीहरू पढाइसँगै केही व्यावहारिक सिप पनि सिक्छन्। पाक शिक्षा यस्तै एउटा कार्यक्रम हो। यसै वर्ष सिलाइबुनाइ सिकाउन सुरू गर्ने तयारी छ।
अध्यक्ष ढकालले भने, 'शिक्षणसँगै क्षमता अभिवृद्धिका लागि सिपमूलक कार्यक्रमहरू हुन्छन्। यही वर्षदेखि सिलाइबुनाइ सिकाउन ३० वटा सिलाइ मेसिन तयार राखेका छौं।'
विद्यालयमा रैथाने सामग्रीहरू संकलन गरेर सजाइएको छ। यस्ता सामग्रीमा खैंजडी, झ्याली, मादल, ढिकी, जाँतो, लोहोरो–सिलौटो, खुकुरी, चुलेसी इत्यादि छन्। पुरानो रेडियो, क्यामेरा, श्रव्यदृश्य क्यासेट इत्यादि पनि छन्।
विद्यार्थीहरूलाई रैथाने र पुराना सामान चिनाउने प्रयास गरेको ढकालले बताए। उनले जनकल्याण विद्यार्थीलाई खुसी राखेर गुणस्तरीय शिक्षा दिने प्रयास अघि बढेको पनि बताए।
प्राधानाध्यापक कुमारीकमलाका अनुसार केही वर्षयता विद्यार्थी संख्या बढ्दो क्रममा छ। शैक्षिक वर्ष २०७८ मा २१ सय विद्यार्थी रहेकोमा चालु शैक्षिक वर्षमा तीन सय जना थपिए। कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकायको पढाइ हुन्छ। सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायमा छन्।
जनकल्याणले चालु शैक्षिक वर्षमा कक्षा ९ मा प्राविधिक शिक्षा पढाउन सुरू गरेको छ। यसअन्तर्गत कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङ पढाइ हुन्छ।
धेरै अभिभावक र विद्यार्थीको मागअनुसार कम्प्युटर इञ्जिनियरिङ पढाउन सुरू गरिएको अध्यक्ष ढकाल बताउँछन्।
प्राविधिक शिक्षाका लागि काठमाडौं महानगरले बजेट दिएको छ। महानगरले करिब ५० लाख रूपैयाँ दिएपछि प्राविधिक शिक्षा सुरू भएको हो। जनकल्याणलाई काठमाडौं महानगरले नमूना विद्यालय मानेको छ। महानगरको 'एक वडा एक नमूना विद्यालय' अन्तर्गत वडा नम्बर ६ मा जनकल्याण छानिएको हो।
प्रधानाध्यापक कुमारीकमलाका अनुसार छोराछोरी निजी विद्यालयमा पढाउने अभिभावकहरू विस्तारै सामुदायिक विद्यालयतिर फर्किँदैछन्।
'सामुदायिक विद्यालयमा विद्यार्थी थोरै हुनुमा अभिभावकको सहभागिता नहुनु हो। जनकल्याणमा शिक्षक, विद्यार्थी र अभिभावक हातोमालो गर्दै अघि बढेका छौं,' उनले भनिन्।
शिक्षकहरूबीच शैक्षिक विषयमा अपसी छलफल हुन्छ। शिक्षक–अभिभावक भेट र छलफल भइरहन्छ। जनकल्याणले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत शिक्षणमा आधुनिक डिजिटल प्रविधि पनि अघि बढाएको छ। विद्यार्थीको व्यक्तित्व विकासका लागि शिक्षण सिकाइसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको उनले बताइन्।
अतिरिक्त क्रियाकलाप समितिले कथा लेखन, कविता लेखन, नृत्य, गीत, हाजिरीजवाफ, वादविवाद लगायतका प्रतिस्पर्धाहरू गराउँछ। काठमाडौं महानगरले ३२ वटा वडाका ३२ वटा नमूना विद्यालयलाई फरक विषयको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसअनुसार जनकल्याण 'गणित हब' मा परेको छ। स्कुलमा गणितको प्रयोगशाला छ। प्राथमिक उपचार कक्ष र एक जना नर्स पनि छन्।
प्रधानाध्यापक कुमारीकमलाका अनुसार स्कुल केही अभावमा भने गुज्रिएको छ। मुख्य समस्या दुइटा छन्; विद्यार्थी संख्याको तुलनामा शिक्षक दरबन्दी अति कम हुनु र खेल मैदान नहुनु।
'निजी स्रोतमा शिक्षक राख्नुपरेको छ। विद्यार्थीहरू खेलकुदबाट बञ्चित छन्। विद्यालयको जग्गामा भवन मात्रै छन्,' उनले भनिन्।
शिक्षक दरबन्दी थपिदिन सरकारी निकायमा आग्रह गरे पनि सुनुवाइ भएको छैन।
यो स्कुलमा झन्डै तीन दशक अवधि बिताएकी कमलाकुमारीले अनेक उतारचढाव देखिन्, भोगिन्। उनी २०५१ सालमा शिक्षक बनेर जाँदा उक्त विद्यालय पाँच कक्षासम्मको थियो। करिब साढे तीन सय जना विद्यार्थी थिए। सेवा प्रवेशको नवौं वर्षमा सहायक प्रधानाध्यापक नियुक्त भइन्। दुई वर्ष निमित्त प्रधानाध्यापकका रूपमा काम गरिन्। पछि सहायक प्रधानाध्यापक हुँदै प्रधानाध्यापक भएकी हुन्।
'म खासमा प्रधानाध्यापकको जिम्मेवारी लिन इच्छुक थिइनँ,' उनले भनिन्।
यसको कारण जिम्मेवारीबाट पन्छिएर होइन, समस्याले हो। उनलाई २०६५ सालमा स्तन क्यान्सर भयो। करिब ६ महिनाको उपचारले निको भयो, काममा फर्किन्। यसपछि उनी बढी खट्नुपर्ने जिम्मेवारी नलिने विचारमा थिइन्। सहायक प्रधानाध्यापक छँदै थिइन्।
यहीबीचमा प्रधानाध्यापकको स्थान रिक्त भयो। कुमारीकमलाले आफू इच्छुक नरहेको र गम्भीर रोगको 'सर्भाइभर' ले गहन जिम्मेवारी लिनु उचित नहुने आफ्नो धारणा सुनाइन्।
'विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र केही शिक्षकहरू घरमै गएर प्रधानाध्यापकको जिम्मेवारी लिन आग्रह गर्नुभयो,' उनले भनिन्, 'सम्पूर्ण रूपमा सहयोग गर्ने वचन दिनुभयो।'
अन्ततः कुमारीकमला तयार भइन्। सहायक र निमित्त प्रधानाध्यापकका रूपमा उनी अब्बल मानिएकै थिइन्। प्रधानाध्यापकका रूपमा पनि उनले आफूलाई उत्तिकै कुशल सावित गरेकी छन्।
विद्यालय शिक्षणमा उनको लगावको पनि आफ्नै पाटो छ। विद्यालय शिक्षक रहँदै उनी पद्मकन्या क्याम्पसमा पढाउँथिन्। नौ वर्ष दैनिक ज्यालादारीमा पढाएपछि करारमा नियुक्ति पाइन्। उनलाई विश्वविद्यालय सेवामा रहने अवसर थियो। तर करारमा सात वर्ष पढाएपछि राजीनामा गरेर पूर्ण रूपमा विद्यालय शिक्षणमा फर्किन्।
उनी भन्छिन्, 'विश्वविद्यालयमा पढाउनु बढी सहज हुन्थ्यो। तर चुनौती र अवसर आत्मसात गरेर विद्यालय शिक्षण नै रोजेँ।'
कुमारीकमलाको नेतृत्वमा जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक उन्नयनमा अनुकरणीय फड्को मार्न सफल पनि देखिन्छ।
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
यी पनि पढ्नुहोस्ः
साँच्चैको नमूना बन्ने प्रयासमा छ काठमाडौंको यो सामुदायिक स्कुल