एक अध्ययनले प्लास्टिकजन्य फोहोरका कारण नारायणी नदीमा गम्भीर असर परिरहेको देखाएको छ। चितवनको भरतपुर–१ देवघाटदेखि भरतपुर–२८ गोलाघाटसम्म गरिएको अध्ययनले नदीमा प्रदूषण अत्यधिक रहेको देखाएको हो।
बेटर चितवन नामको संस्थाले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोग, गैंडाकोटस्थित सहमति नामको संस्था तथा चितवन र नवलपुरका अन्य विभिन्न संस्थासँग सहकार्य गरेर नदीमा फोहोरको अवस्थाबारे अध्ययन गरेको थियो।
'नदीसँगै हामी' नाम दिइएको उक्त अध्ययनका संयोजक इञ्जिनियर सागर कार्की अहिलेकै अवस्था कायम रहे नारायणी नदीको अस्थित्व नै संकटमा पर्न सक्ने खतरा देखिएको बताउँछन्।
अध्ययनकर्ताहरूले नदीको करिब ३५ किलोमिटर भागमा ८ वटा बिन्दु तोकेर ती बिन्दुमा फोहोरको नक्सांकन, परीक्षण, स्थानीय तह, सरोकारवाला संस्था तथा उपभोक्ताहरूसँग छलफल गरेका थिए।
उनीहरूले नदी किनारका निश्चित ठाउँमा बालुवामा पुरिएको फोहोर समेत निकालेर अध्ययन गरेका थिए। सो क्रममा प्लास्टिक, सिसा, कपडा, जैविक र औषधिजन्य फोहोरले नदीमा प्रदूषण बढाएको पाइएको कार्कीले बताए।
उनीहरूले यो क्षेत्रबाट १०२.८ किलो फोहोर संकलन गरेर त्यसको वर्गीकरण गरेका थिए। संकलितमध्ये सबैभन्दा बढी प्लास्टिकजन्य फोहोर (४२.५५ प्रतिशत) भेटिएको कार्कीले बताए।
उनका अनुसार तुलनात्मक रूपमा कम संकलन भएको देवघाट क्षेत्रमा संकलित फोहोरको ७२.२४ प्रतिशत प्लास्टिकजन्य भेटिएको छ। देवघाटको घाट र पूजा क्षेत्रमा छाडिने फोहोरले नदी प्रदूषण भइरहेको छ।
यसका अलावा नदी किनारमा गरिने मेला, महोत्सव, निर्माण गतिविधि, ढल मिसावट लगायत कारण प्रदूषण बढेको अध्ययनले देखाएको छ।


नारायणीको फोहोर नक्सांकन र लेखा परीक्षण विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै 'नदीसँगै हामी' कार्यक्रमका अध्ययन संयोजक इञ्जिनियर सागर कार्की।
'देवघाटदेखि गोलाघाटसम्म अध्ययन गर्दा ७ ठाउँमा प्रशोधन नगरिएको ढल सिधै नारायणीमा मिसाइएको पाइयो। यी ६ वटा नारायणघाटस्थित प्रदर्शनीस्थलमै छन्। एउटा ढल भरतपुरको वडा नम्बर ३ स्थित नगरवन पुलको तलबाट नदीमा मिसिन्छ,' कार्कीले भने।
नदीमा सबभन्दा बढी फोहोर पनि नगरवन क्षेत्रमै हुने गरेको छ। नारायणघाट र गैंडाकोट जोड्ने पक्की पुलदेखि दक्षिणतर्फको यो क्षेत्रलाई भरतपुर महानगरपालिकाले वर्षौंसम्म डम्पिङ साइट बनाएको थियो।
यहाँ नदी किनारमै फोहोर पुरिन्थ्यो। वर्खाका बेलामा नदीको बाढीले पुरेको फोहोर खोतलेर बगाउने गरेको छ।
पर्यटकीय क्षेत्र बनिरहेको शिवघाट, नारायणघाटको प्रदर्शनीस्थल, गोलाघाट र देवघाट र नारायणघाटको बीचमा रहेको जोरकुसुम पार्क क्षेत्रमा पनि प्रदूषण बढिरहेको छ।
शिवघाटस्थित भँगेरीथान लागुऔषध तथा मादक पदार्थ सेवनको 'स्पट' बन्दा त्यसको असर नदीमा परेको देखिएको संयोजक कार्कीले बताए।
नदी किनारमा सिरिन्ज, सिसाका बोतल, फुटेका सिसा भेटिएका थिए। साथै पर्यटकहरूले चाउचाउ, बिस्कुट, चिप्सका खोल जथाभावी फालेको र त्यसको व्यवस्थापन हुन नसकेको उनले बताए।
यस विषयमा जिज्ञासा राख्दा वडा कार्यालयले अनभिज्ञता प्रकट गरेको उनले बताए।
पश्चिम चितवनकै गाँजीपुरस्थित मदन स्मृति पार्क नजिकको क्षेत्रमा भने पार्कले राम्रो व्यवस्थापन गरेको भेटिएको थियो। त्यहाँ नदी किनारमा फोहोर फाल्न दिइएको छैन। बरू संकलन गरेर महानगरको फोहोर बोक्ने गाडीमा हालेर पठाउने गरिएको कार्कीले बताए।
साथै सामुदायिक वन भएको र तटबन्धन गरिएको क्षेत्रमा तुलनात्मक रूपमा कम फोहोर भेटिएको थियो।

'त्रिशूली र कालीगण्डकी नदीको संगमस्थल देवघाटमा धार्मिक पर्यटक धेरै हुन्छन्। अध्ययन क्रममा यहाँबाट बगाएको अधिकांश फोहोर गोलाघाट हुँदै तल्लो तटीय क्षेत्रसम्म पुगेको भेटियो। पर्यटकीय क्षेत्रहरूमा जथाभावी फोहोर फालिने तर त्यसको व्यवस्थापनमा चासो कम भएको पाइयो,' कार्कीले भने।
उनले जोड दिए, 'यस विषयमा बेलैमा गम्भीर भएर व्यवस्थापनतिर लागिएन भने नदीमा ठूलो असर पर्छ। यसको असर मानव, वन्यजन्तु, जलचर प्राणी सबैले भोग्नुपर्छ।'
अध्ययनको रिपोर्ट भरतपुर महानगरपालिका लगायतका सरोकारवाला निकायलाई बुझाएर फोहोर व्यवस्थापनमा सुधार ल्याउन आह्वान गरेको पनि कार्कीले बताए।
व्यवस्थापनका लागि सबै तीर्थस्थल, नदी किनार, घाट तथा पर्यटकीय क्षेत्रमा रङ अनुसार फोहोर संकलन गर्ने भाँडा अनिवार्य राख्नुपर्ने, ढल, मलमूत्र नदीमा मिसाउन रोक्ने नियम कडाइ साथ कार्यान्वयन गर्नुपर्ने, नदीलाई डम्पिङ साइट बनाउन बन्द गरेर सुरक्षित र उपयुक्त ठाउँमा व्यवस्थापन गर्नुपर्ने सुझाव नदीसँगै हामी अभियानले दिएको छ।
साथै जैविक फोहोर व्यवस्थापनका लागि सामुदायिक कम्पोस्ट युनिट स्थापना गर्नुपर्ने, पुनः प्रयोग र पुनः चक्रण हुने फोहोर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गनुपर्ने सुझाव पनि अध्ययन समूहको छ।
नदीसँगै हामी नामक कार्यक्रमका लागि बेटर चितवन नामक संस्थाकी संयोजक आकृति सुवेदीले देवघाटदेखि गोलाघाटसम्मको क्षेत्रलाई 'प्लास्टिक मुक्त क्षेत्र' घोषणा गर्न आवश्यक रहेको बताइन्।
उनले हरित संस्कार प्रवर्द्धन गर्न धार्मिक संस्था, विद्यालय, टोल विकास संस्था, महिला समूहहरू सक्रिय बनाउनुपर्ने बताइन्।
'लागुऔषध तथा मादक पदार्थ सेवन गर्ने, सार्वजनिक स्थानमा फोहोर फाल्ने, प्लास्टिक बोतल जथाभावी फाल्ने कार्यमाथि निगरानी र नियन्त्रण जरूरी छ। मेला, महोत्सव तथा पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा नियमन बढाउनुपर्छ। हरित पर्यटन प्रवर्द्धन गर्न, पुनः प्रयोगयोग्य पानी स्टेसन स्थापना गर्न आवश्यक देखिन्छ,' सुवेदीले भनिन्।
उनले अगाडि भनिन्, 'नारायणीको संकट हामी सबैको बेवास्ताको परिणाम हो। बेलैमा व्यवस्थापनको काम गर्न सकियो भने नदीको संरक्षण गर्ने अवसर अझै बाँकी छ।'
गैंडाकोटस्थित सहमति नामक संस्थाका परियोजना संयोजक खेमराज खनाल नदी स्वच्छ बनाउन नागरिकहरूमा चेतनाको स्तर बढाउनुपर्ने बताउँछन्। सहमति संस्थाले नवलपुरतर्फ नारायणी नदीको प्रदूषण नियन्त्रणका लागि समुदायसँग मिलेर काम गरिरहेको उनले बताए।


'दुवै किनारमा फोहोर व्यवस्थापन प्रभावकारी बनाउन सकियो भने नारायणी स्वच्छ बन्छ। यसका लागि हामीले मान्छेको व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ,' खनालले भने।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का फ्रेस वाटर एसोसिएट करूण देवानका अनुसार डब्लुडब्लुएफले यसअघि पनि करिब दुई वर्ष लगाएर नारायणीको अवस्थाबारे अध्ययन गरेको थियो।
काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत सहभागी सो अध्ययनले सिसवार बाहेकको क्षेत्रमा नारायणीको अवस्था राम्रै रहेको देखाएको थियो।
'हामीले नदीमा प्रदूषणको अवस्थादेखि मानवीय गतिविधि लगायत धेरै कुरालाई आधार मानेर नदीको स्वच्छताबारे अध्ययन गरेका थियौं। सो क्रममा तुलनात्मक रूपमा सिसवार क्षेत्रमा नदीको स्वच्छता बिग्रिएको देखिएको थियो,' देवानले भने, 'कोरोना महामारी पछिका दिनमा नदीको स्वच्छता बढेको पाइएको थियो।'
पछिल्ला वर्षमा भने बढ्दो मानवीय गतिविधिले नदीमा प्रदूषण बढिरहेको छ।
नारायणीमा विगतमा धेरै संख्यामा डल्फिन रहेकामा अचेल फाट्टफुट्ट मात्रै रेकर्ड हुने गरेको छ। घडियाल गोही, ओंतहरूको संख्या पनि घटिरहेको छ।
नेपालका विभिन्न नदीहरूमा पाइने डल्फिनको विषयमा विद्यावारिधि गरेका शम्भु पौडेल खोलालाई डम्पिङ साइट जस्तो बनाउने, बासस्थानको गुणस्तरमा असर गर्ने गरी खोलाको बहाब परिवर्तन गर्ने, नदीमा ठूला मोटरबोट, क्रुजशिप चलाउने, विकासको नाममा नदीको गहिराइ घट्ने खालका गतिविधि गर्ने जस्ता मानवीय क्रियाकलाप डल्फिन लगायत दुर्लभ प्राणीका लागि जोखिम बनिरहेको बताउँछन्।

