सामान्यतया मान्छेको कानमा हुने समस्या जालीमा संक्रमण हुने, जालीमा प्वाल पर्ने र कान पाक्ने हो।
कहिलेकाहीँ कानको हड्डीमा पनि संक्रमण हुन्छ। यस्तो बेला पिप जम्ने र पिप दिमागमा पुग्ने जटिलता पनि हुन सक्छ।
विशेष गरेर सात वर्षमुनिका बालबालिकामा कान पाक्ने समस्या धेरै देखिन्छ। नाक, कान र घाँटी जोड्ने एउटा नली (ट्युब) हुन्छ। साना बालबालिकामा यो नली राम्ररी विकास भइसकेको हुँदैन। यसै कारण कहिलेकाहीँ कान पाक्ने समस्या हुन सक्छ।
स्तनपानको उचित तरिका नजान्दा पनि बच्चामा कान पाक्ने समस्या हुन सक्छ। आमाले स्तनपान गराउने क्रममा बच्चाको मुखबाट दूध बगेर कानमा पस्छ र कान पाक्छ भन्ने धारणा छ।
यथार्थ त्यस्तो होइन। बच्चालाई स्तनपान गराउने क्रममा बच्चाको सुताइ वा बसाइ मिलाउन जानिएन भने मुखको दूध नाक–कान–घाँटी जोड्ने नली हुँदै कानमा पुग्छ।
बच्चालाई आमाको काखमा लमतन्न सुताएर स्तनपान गराउनु हुँदैन। बच्चालाई काखमा लिएर उसको टाउको थोरै माथि उठाएर स्तनपान गराउनुपर्छ।
कानको जालीमा र हड्डीमा संक्रमण हुने रोगले भित्री नसासम्म असर पार्छ। त्यसको असर दिमागसम्म पुग्न सक्छ। यसो भयो भने मेनन्जाइटिस समेत हुन सक्छ।
कहिलेकाहीँ कानमा मासु पलाउने समस्या पनि हुन्छ तर यो अलि दुर्लभ समस्या हो। यो समस्या वृद्धवृद्धालाई हुन्छ।
वृद्धवृद्धाको कानबाट रगत आएको राम्रो मानिँदैन। यसलाई क्यान्सरको संकेत मान्न सकिन्छ।
गर्मी मौसममा कानमा ढुसी लाग्ने समस्या पनि हुन्छ। नाकको पछाडिको टन्सिल ठूलो भयो भने पनि कानको संक्रमण गराउँछ।
कान पाक्ने समस्या देखा परेमा डाक्टरसँग परामर्श गर्नुपर्छ। कस्तो खालको संक्रमण हो, जालीको मात्र समस्या हो कि हड्डी खाने रोग हो भनेर पहिचान गर्नुपर्छ। जाली मात्र पाक्ने रोग छ भने जाली फेर्दा हुन्छ।
हड्डी खाने रोग छ भने हड्डी खुर्किने अपरेसन गर्नुपर्छ।
कतिपय बिरामीले सामान्य ठानेर आफ्नै तरिकाले उपचार गर्न खोज्दा समस्या जटिल हुने गरेको छ। हड्डी खाने रोग बिग्रिएर मेनन्जाइटिस भएको पनि पाइएको छ।
लापरबाही गरेर उपचारमा ढिलो गर्दा दिमागमा पिप जम्ने लगायतका अप्ठ्यारा समस्या पनि देखिएका छन्।
कान चिलायो भनेर कहिल्यै पनि कोट्ट्याउनु हुँदैन। कोट्ट्याउँदा भित्रसम्म असर गर्न सक्छ, कानको भित्री भाग संरक्षण गर्ने ठाउँमा घाउ हुन सक्छ जसले गर्दा थप संक्रमण हुन्छ।
कान फोहोर हुँदैमा त्यसले दुःख दिन्छ भन्ने हुँदैन। कान फोहोर भएर दुख्यो भने डाक्टरको सल्लाह लिनुपर्छ। कानभित्र मसिना रौं हुन्छन् जसले कानको संरक्षण गरेको हुन्छ। त्यही रौंले फोहोर बाहिर निकाल्छ, कोट्टयाएर निकाल्नु पर्दैन।
फोहोर जम्मा भयो भनेर निकाल्न आफ्नै तरिकाले कान कोट्ट्याउँदा संक्रमण हुन सक्छ। कान केहीले पनि कोट्ट्याउनु हुँदैन। कानमा तेल राख्न पनि हुँदैन।
बच्चाको कानमा तेल हाल्ने सन्दर्भमा अझै पनि जनचेतना पुगेजस्तो देखिँदैन। बच्चाको कानमा कहिल्यै पनि तेल हाल्नु हुँदैन। तेल हाल्दा जटिल समस्या हुन सक्छ।
रूघा लाग्दा र एलर्जी हुँदा पनि कान चिलाउँछ। नुहाउँदा साबुनपानी पस्नबाट कान जोगाउनुपर्छ। पानी पस्यो भने कान पाक्ने समस्या हुन सक्छ। कान पाक्ने समस्याले जटिल रूप लियो भने त्यसले लामो समय दुःख दिन सक्छ।
कहिलेकाहीँ सुगर (मधुमेह) का बिरामीलाई पनि कान पाक्ने समस्या देखिने भएकाले यसको परीक्षण गर्न जरूरी हुन्छ।
नाक, कान, घाँटी एकअर्कासँग सम्बन्धित छन्। नाकको पछाडि रहेको नली कानसँग सम्बन्धित हुन्छ। एउटाको संक्रमणले अर्कोलाई असर गर्छ। नाक र घाँटीको संक्रमणले कानको समस्या गराउँछ।
(नाक–कान–घाँटी रोग विशेषज्ञ डा. छाँया भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छिन्।)