राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनसम्म मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम स्तरको तातो लहर (हिट वेभ) चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमसम्बन्धी पूर्वानुमानअनुसार मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम तातो लहरको प्रभाव देखिन सक्नेछ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अत्यधिक गर्मीका कारण तातो दिन (हट डेज) हुने सम्भावना रहेको छ।
पूर्वानुमानअनुसार प्रभावित क्षेत्रहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने बताइएको छ।
अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई दिउँसोको समयमा अनावश्यक रूपमा घाममा ननिस्कन, प्रशस्त पानी पिउन तथा चिसो स्थानमा बस्न सुझाव दिइएको छ।
सम्बन्धित निकायले मौसमको अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन तथा गर्मीजन्य स्वास्थ्य समस्याप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।