सामाजिक सञ्जालमार्फत प्राइभेट भिल्ला पार्टी (१८+) आयोजना गर्ने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा 'नेपाल सर्भिस' नामक आइडी तथा ह्वाट्स एपमार्फत् पैसा अनुसार युवती तथा मादक पदार्थको व्यवस्था गरी काठमाडौंका विभिन्न स्थानमा रहेका घरमा विशेष सुविधा उपलब्ध गराइने भन्दै विज्ञापन प्रकाशित गरेका थिए। उनले ठगी गर्ने कार्य गरिरहेको भन्दै उजुरी सूचना आएपछि प्रहरीले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा भारतको ओडिसा राज्य, केन्द्रापाडा घर भई हाल काठमाडौं महानगरपालिका–२३, झोछे बस्दै आएका १९ वर्षीय सुभम मोहन्तीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरी टोलीले उनलाई बुधबार काठमाडौं महानगरपालिका–२२, सुन्धाराबाट नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक शरत कुमार क्षेत्रीले जानकारी दिए।
प्रहरीले सामाजिक सञ्जालमा प्रकाशित यस्ता आकर्षक तथा भ्रामक विज्ञापनप्रति सचेत रहन तथा कुनै पनि आर्थिक कारोबारअघि सम्बन्धित सेवाको विश्वसनीयता सुनिश्चित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।