अन्न भण्डार मानिएको मधेस प्रदेशमा मध्यसाउन लागिसक्दा पनि ५१.८२ प्रतिशत भूभागमा मात्रै रोपाइँ भएको छ। अघिल्ला वर्षहरूको तथ्यांक विश्लेषण गर्ने हो भने यस बेलासम्म ८० प्रतिशतभन्दा बढी भूभागमा रोपाइँ भइसकेको हुने थियो।
अकासे पानी र भूमिगत स्रोतको भर पर्नुपर्ने तराई–मधेसमा यस पटक बेलैमा पानी परेन। जस कारण समयमा रोपाइँ हुन सकेन नै, रोपाइँ भएका ठाउँमा पनि खेतका गह्रा पटपटी फुटेका छन्। रोपो सुकेर खङ्ग्रङ भएको छ।
सुकेको रोपोलाई बोतलको पानीले सिञ्चित गरिरहेको विदारक तस्बिरहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ। यसले मधेसमा बढ्दो पानीको संकटको अर्थपूर्ण चित्रण गरेको छ।
यस पटक समयमै वर्षा नहुँदा रोपाइँमा परेको असरले उत्पादकत्व र कुल गार्हस्थ्य उत्पादनमै असर पुर्याउने देखिएको छ।
त्यसो त तराई–मधेसमा पिउने पानीकै हाहाकार देखिएको छ। खानेपानी संकट चिर्न मधेस सरकारले दमकलमा पानी बाँडिरहेको छ। नेपाली सेनाले आठ वटा दमकलमा अहिले वीरगञ्जलगायत सहरमा पानी वितरण गरिएको छ।
मनसुन यामको पूवार्द्धमा तराई–मधेसका किन मनग्गे पानी परेन भनेर चर्चा गर्नुअगाडि अहिलेसम्म कति पानी पर्यो भनेर विश्लेषण गरौं।
हामीले यहाँ मनसुन अवधि (जेठ १८ देखि) जुलाई २५ ( साउन ९) सम्मको तथ्यांक प्रस्तुत गरेका छौं। यो अवधिमा सिराहामा ५८५.३ मिलिमिटर वर्षा हुनुपर्नेमा २८७.९ मिलिमिटर मात्रै वर्षा भएको छ। यो भनेको न्यून वर्षा हो।
सिमरामा पनि न्यून वर्षा मापन भएको छ। त्यहाँ ७५७ मिलिमिटर सरदर वर्षा हुनुपर्नेमा साउन ९ गतेसम्म ३५६.४ मिलिमिटर वर्षा भएको छ।
राजविराजमा त झन् न्यून वर्षा मापन भएको छ।
राजविराजमा हालसम्म २१०.९ मिलिमिटर वर्षा भएको छ। यो अवधिसम्म त्यहाँ सरदर ६१७.६ मिलिमिटर वर्षा हुनुपर्ने थियो।
तराई–मधेसमध्ये सप्तरीको फत्तेपुरमा अलि बढी वर्षा मापन भएको देखिएको छ। फत्तेपुरमा मनसुन सुरू भएदेखि साउन ९ गते सम्म ७७१.४ मिलिमिटर वर्षा हुनुपर्नेमा ४४५.४ मिलमिटर वर्षा भएको छ।
हामीले इन्फोग्राफिक्समा मधेसका अन्य केन्द्रमा कति वर्षा भएको छ भनेर तथ्यांक प्रस्तुत गरेका छौं।
हुन त गत असार १७ गत नै जल तथा मौसम विज्ञान विभागले मनसुन ऋतुको हावापानी आकलन अद्यावधिक गर्दै मधेस प्रदेशमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको थियो। जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखाले मधेस प्रदेशका मध्य तथा पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको आकलन गरेको थियो।
विभागका अनुसार अहिले पूर्वी लुम्बिनीदेखि दक्षिण कोशीको तराईको भूभागसम्मै कम वर्षा भएको छ। मधेस प्रदेशमा त अति नै न्यून वर्षा भएको छ।
यसबारे हामीले वरिष्ठ मौसमविद प्रतिभा मानन्धरलाई सोध्यौं। उनले मधेस प्रदेशमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण यसअघि नै गरेको बताइन्।
उनले पछिल्लो समय वर्षाको चरित्र बदलिँदै गएको र हरेक वर्ष मनसुनले भिन्नभिन्न चरित्र प्रदर्शन गरिरहेकाले अहिले नै विश्लेषण गर्न हतार हुने बताइन्।
'हामीले यसअघि नै मधेसमा औसतभन्दा कम वर्षा हुने सम्भावना देखाएका थियौं। सुरूको मनसुन ऋतुको आकलन र त्यसपछि असार १७ गतेको अद्यावधिक विश्लेषणमा पनि मधेसमा कम वर्षा हुने नै आकलन थियो। तर अहिले धेरै नै कम वर्षा भएको छ। हिजो र आजकै कुरा गर्नुहुन्छ भने पनि पहाडी भेगमा एक–दुई स्थानमा भारी वर्षा र बाँकी भूभागमा मध्यम वर्षा हुँदा तराईमा उल्लेख्य पानी नै परेको छैन। हरेक मनसुन याममा वर्षाको फरक-फरक चरित्र देखिँदा पनि प्रक्षेपण चुनौतीपूर्ण बनिरहेको छ,' उनले भनिन्।
यसका बाबजुद केही कारण भने औंल्याउन सकिने उनले बताइन्।
तराई–मधेसमा उल्लेख्य वर्षा नहुनुको कारण न्यूनचापीय रेखा हो।
मौसम विज्ञानको भाषामा मनसुनी रेखा एउटा वायुमण्डलीय प्रणाली नै हो। यो न्यूनचापीय क्षेत्रमा उत्तरी र दक्षिणी गोलार्द्धका हावाहरू आपसमा (अभिशरण हुन्छन्) मिल्छन्।
यो रेखा मनसुन याममा वर्षा ल्याउने प्रमुख कारक किन पनि हो भने यसले आर्द्र हावालाई एकत्रित गरी बादल बनाउँछ र पर्याप्त वर्षा गराउँछ। मनसुन याममा यो रेखा प्रायः दक्षिण एसियाको मैदानी भूभागमा क्षितिजीय हिसाबले रहन्छ। यो रेखा भारतको गंगा मैदान, नेपालको तराई क्षेत्र र बंगलादेश हुँदै फैलिएको हुन्छ।
वरिष्ठ मौसमविद मानन्धरका अनुसार पछिल्लो समय यो रेखा नेपालतिर सरेको छैन। भारततर्फ सरदरकै स्थानमा छ। नेपालतिर नसरेकाले नेपालतर्फ भारी वर्षा भएको छैन। नेपालको दक्षिणी भूभाग त सुख्खा नै भएको छ। भारततर्फ सरदरकै स्थानमा रहेकाले त्यहाँ (जुलाई २७ तारिखसम्म) सामान्यभन्दा ९ प्रतिशत बढी वर्षा भइरहेको छ। खास गरी नेपालतिर सीमा जोडिएका भूभागमा पर्याप्त वर्षा भएको छ।
यद्यपि भारतको पनि पूर्वी र दक्षिणी राज्यहरूमा तुलनात्मक रूपमा कम वर्षा भएको छ।
भारतको वर्षाको स्थिति।
नेपालको पनि पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रि–मनसुन यामदेखि नै वर्षा नियमित भइरहेकाले खोला–खोल्सी बढे। पहाडमा कृषिकर्म गर्न समस्या भएन।
पहाडमा नियमित वर्षा भइरहनुमा पनि वैज्ञानिक कारण छ।
साधारणतया पहाडी भेगमा दिउँसो चरक्क घाम चर्किन्छ। घाम चर्किँदा जमिनको पानी सोसिने र उक्त पानीको कण बोकेको हावा मैदानी भूभागबाट माथि उक्लिने हुन्छ। रातमा तापक्रम घट्दा यो आर्द्र हावा चिसो भएर संकुचित हुन्छ। जसका कारण बादल बन्ने प्रक्रिया सुरू हुन्छ। तिनै बादल पहाड र पर्वत शृंखलामा ठोक्किएर पानी पर्छ।
साधारणतया दिउँसो अपराह्नपछि बादल बन्ने प्रक्रिया सुरू भएर रातिपख पानी पर्ने क्रम बढी देखिन्छ। पहाडको उचाइले हावालाई माथि धकेल्दा पनि पहाडमा कहिलेकाहीँ घनघोर वर्षा हुने र यो क्रम रातमा तीव्र हुन्छ। मौसम विज्ञानको भाषामा यसलाई 'कन्भेक्सनल वर्षा' भनिन्छ।
नेपालको पहाडी भूभागमा यही कारणले रातिराति पानी पर्छ।
तर तराई भेगमा डाँडाकाँडा नभएकाले चुरेभन्दा मुनिको भूभागमा सुख्खा हुन पुगेको विश्लेषण पनि मानन्धरले गरिन्।
हिन्दकुश–काराकोरम–हिमालय पर्वत शृंखलामा वायु ठोक्किने हुनाले मनसुन याममा औसतभन्दा धेरै पानी पर्ने गरेको हो।
नेपाल, भुटान, उत्तरपूर्वी भारत, हिमाञ्चल र उत्तराखण्ड क्षेत्रमा धेरै पानी पर्नुको कारण पनि यही हो।
मौसमविद विनोद पोखरेलले तराई–मधेसमा पछिल्ला केही दशक यताकै सुख्खा महसुस गरिएको बताए। ३०–४० वर्ष यताकै सुख्खा महसुस गरिए पनि अध्ययन हुन बाँकी रहेको उनले बताएका छन्। जल तथा मौसम विज्ञानको तथ्यांक विश्लेषणपछि मात्रै यसबारे निर्क्यौल गर्न सकिने उनले बताए।
मौसमविद् पोखरेलले पनि मनसुनी हावाले कम मोइस्चर (जलवाष्प) ल्याए पनि पर्वत शृंखलाले एकत्रित गराएर बादल बनाउने र वर्षा गराउने हुँदा हिमाली र मध्यपहाडी क्षेत्रमा नियमित वर्षा भइरहेको बताए। तर मधेसमा पानी पार्न ठूलै प्रणाली आउनुपर्ने हुँदा अहिलेसम्म त्यस्तो नदेखिएको उनले बताए।
वरिष्ठ मौसमविद मानन्धरले सोमबार देशभर हल्कादेखि मध्यम र कतै भारी वर्षाको सम्भावना रहेको बताइन्। सोमबार मधेसमा पनि हल्का वर्षाको सम्भावना छ। मंगलबारपछि भने मधेसमा ठूलो वर्षाको सम्भावना छैन। पहाडमा पनि हल्कादेखि मध्यम वर्षा मात्रै हुने उनले बताइन्।
अगस्ट (साउन १६) सुरू भएपछि भने अवस्थामा सुधार देखिने उनले बताइन्। उनका अनुसार मध्य साउनपछि वर्षाको अहिले देखिएको चरित्र बदलिएर ठूलो पानी पर्ने सम्भावना देखिएको छ।
'अगस्टपछि अहिलेको परिदृश्य परिवर्तन हुन्छ। ठूलो वर्षातको सम्भावना छ,' उनले भनिन्।
तर यति बेला पानी परेर मधेसको उत्पादकत्वमा कुनै टेवा पुग्दैन। तराई-मधेसका प्रमुख खाद्यान्न बाली धान बेलैमा रोप्न नपाएकाले त्यसको असर कुल गार्हस्थ्य उपत्पादनमै देखिने भएको हो।

यी पनि पढ्नुहोस्ः
बासिबिदो बसेको मनसुन
सधैंजसो राति राति किन पर्छ पानी?