अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै बुधबार अपराह्न दुई सैनिकमाथि गोली प्रहार भयो।
राष्ट्रपति निवासबाट दुई ब्लकभन्दा कम दूरीमा रहेको मेट्रो स्टेशननजिक तैनाथ नेसनल गार्डका सदस्यहरूमाथि गोली प्रहार भएको थियो।
गोली प्रहारबाट दुवै सैनिक गम्भीर घाइते भएका छन्। उनीहरुको अहिले उपचार भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
गोली प्रहार गर्ने व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको थियो।
गोलीको आवाज सुनेपछि घटनास्थल पुगेका नेसनल गार्डका अरू सेनाले आक्रमणकारीमाथि गोली चलाएका थिए।
उनलाई चार वटा गोली लागेको छ।
वाशिङ्टन डिसी प्रहरीका कार्यकारी सहायक प्रमुख जेफ्री क्यारोलले आक्रमण गर्ने व्यक्ति रहमानउल्ला लकनवाल छन्। एशोशियटेड प्रेसका अनुसार उनी अफगानी नागरिक हुन् ।
२९ वर्षीय लाकानवाललाई घटनास्थलमै रहेका अन्य सैनिकहरूले नियन्त्रणमा लिएका थिए।
जबाफी कारबाहीका क्रममा उनी पनि गोली लागेर घाइते भएका छन् तर उनको अवस्था ज्यान जाने खालको नरहेको एपीले प्रहरी स्रोतोको हवाला दिँदै भनेको छ।
स्रोतका अनुसार उनी सन् २०२१ मा राष्ट्रपति जो बाइडेन प्रशासनको ‘अपररेशन अलाइज वेलकम’ कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए।
सो कार्यक्रमअन्तर्गत अमेरिका अफगानिस्तानबाट फिर्ता हुँदा करिब ७६ हजार अफगान नागरिकलाई सुरक्षित रूपमा अमेरिका पुनःस्थापना गरिएको थियो। तीमध्ये धेरैले यसअघि अमेरिकी सेना तथा कूटनीतिज्ञसँग दोभाषे वा अनुवादकका रूपमा काम गरेका थिए।
एपीका अनुसार लाकानवाल वासिङ्टन राज्यमा बस्दै आएका थिए तर उनको विस्तृत पृष्ठभूमिबारे अनुसन्धान जारी छ।
उनका एक नजिकका आफन्तले उनी विवाहित र पाँच छोराका पिता भएको बताएका छन्।
ती आफन्तका अनुसार लाकानवालले सेप्टेम्बर २०२१ मा अमेरिका आउनुअघि अफगान सेनामा करिब १० वर्ष सेवा गरेका थिए। त्यस अवधिमा केही समय कन्धारस्थित सैन्य अड्डामा तैनाथ पनि थिए। उनले अफगानिस्तानमा अमेरिकी विशेष फौजसँग सहकार्य गरेको पनि बताइएको छ।
घटनापछि ह्वाइट हाउसमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले आक्रमणकार बाइडेन प्रशासनको कुख्यात अपराधी भित्र्याउने उडानमार्फत अफगानिस्तानबाट अमेरिका आएको भनेका छन्।
ट्रम्प र उनका समर्थक, कंग्रेसका रिपब्लिकनहरू तथा केही सरकारी निगरानी निकायले उक्त पुनःस्थापना कार्यक्रमको सुरक्षा जाँच प्रक्रिया र प्रवेशको गतिप्रति लगातार आलोचना गर्दै आएका छन्।
तर कार्यक्रम समर्थकहरू भने तालिबानको प्रतिशोधको जोखिममा रहेका व्यक्तिहरूका लागि यो जीवनरक्षक कदम भएको तर्क गर्छन्।
घटनाबारे सुरक्षा निकायहरूले विस्तृत अनुसन्धान अघि बढाएका छन् र वासिङ्टन डीसी क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
घटनापछि केही समयका लागि ह्वाइट हाउस क्षेत्र लकडाउन गरिएको थियो।
आक्रमणमा कुन प्रकारको हतियार प्रयोग भएको हो भन्ने स्पष्ट भइसकेको छैन। त्यसको उद्देश्य पनि खुलेको छैन।
वासिङ्टन डिसीमा अहिले करिब २२ सय नेसनल गार्ड तैनाथ छन्। यो सैन्य बललाई प्रहरीजस्तै कानुन लागू गर्ने वा पक्राउ गर्ने अधिकार हुँदैन।
ट्रम्पले गत अगस्टमा 'नियन्त्रण बाहिरको अपराध' रोक्न भन्दै नेसनल गार्ड वासिङ्टन पठाएका थिए। त्यसपछि वासिङ्टनको अपराध दर घटेको देखिएको छ। तर यो नेसनल गार्डको उपस्थिति कारण हो कि होइन भन्ने प्रस्ट छैन।
वाशिङ्टन डिसी प्रहरीको तथ्यांकअनुसार मे २५ देखि नोभेम्बर २५ सम्म ६२ हत्याको घटना दर्ता भएको छ।गत वर्ष यही अवधिमा १०७ थियो।
त्यस्तै, अगस्ट १२ देखि अहिलेसम्म ६,५०० भन्दा कम आपराधिक घटना दर्ता भएका छन्। गत वर्ष यही अवधिमा करिब ९,५०० थियो।
ट्रम्प प्रशासनले यसअघि पनि लस एन्जेलस, सिकागो, मेम्फिस जस्ता डेमोक्र्याट–नेतृत्व राज्यहरूमा नेसनल गार्ड तैनाथ गरेको थियो।