सबभन्दा पहिला भ्रूण भनेको के हो भनेर थाहा पाउन जरूरी छ।
पुरूषको शुक्रकिट र महिलाको अण्डा मिसिएर भ्रूण बन्छ। कतिपय अवस्थामा सामान्य तरिकाले भ्रूण नबन्न पनि सक्छ।
बच्चा बस्न समस्या भएमा श्रीमानको शुक्रकिट र श्रीमतीको अण्डालाई निषेचन गराएर ल्याबमा भ्रूण बनाइन्छ।
भ्रूण बन्न समस्या आयो भने ल्याबमा बनाइन्छ। यसका थुप्रै कारण छन्।
महिलाको अण्डाको गुणस्तर राम्रो छैन अनि उमेर बढी छ भने अण्डाको संख्या कम हुँदै जान्छ। त्यसको गुणस्तर पनि घट्दै जान्छ। वंशानुगत कारणले पनि यस्तो हुन सक्छ भने अण्डाको संख्या पहिलेदेखि नै कम पनि हुन सक्छ। त्यस्तै महिलालाई पिसिओएसको समस्या छ भने अण्डाको गुणस्तर राम्रो हुँदैन, जसले गर्दा भ्रूण बन्न समस्या हुन्छ।
पुरूषका कारण पनि उत्तिकै समस्या आइरहेको हुन्छ। शुक्रकिटको गुणस्तरमा समस्या अनि संख्या कम हुँदा पनि भ्रूण नबन्न सक्छ।
तनावले पनि पुरूषको शुक्रकिटमा समस्या देखिन्छ।
एकातिर ढिलो बिहे गर्ने, चाँडो बिहे गर्नेले पनि गर्भको योजना ढिलो बनाउँदा भ्रूण बन्न अप्ठ्यारो हुन्छ।
पहिला-पहिला गर्भ रहने विषय महिलासँग मात्र जोडेर हेरिन्थ्यो, तर हिजोआज अनुसन्धानहरूले पुरूषलाई पनि जिम्मेवार बनाएका छन्। कतिपय वंशानुगत समस्या पुरूषका कारण आउने समेत तथ्यहरूले बताएका छन्।
जस्तै, डाउन सिन्ड्रोम भएको बच्चा जन्मिनुमा महिलाको बढ्दो उमेरलाई दोष देखाइन्थ्यो भने अहिले पुरूषको हकमा पनि लागू हुने अनुसन्धानहरूले पत्ता लगाएका छन्।
चुरोट रक्सी खानेहरूलाई समेत समस्या हुन्छ।
एक वर्षसम्म लगातार प्रयास गर्दा पनि बच्चा बस्न सकेन भने त्यस्तो बेला भ्रूण बन्न समस्या छ कि भनेर हेर्नुपर्छ। बच्चा बसेर मात्र पनि हुँदैन। कसैको बारम्बार खेर जान सक्छ। त्यस्तो अवस्थामा पनि अनुसन्धान गरिन्छ। पुरूषको शुक्रकिट र महिलाको अण्डालाई ल्याबमा हेरेर समस्या पत्ता लगाइन्छ।
पहिला सुरूमा अण्डाको मात्रा छ कि छैन या शुक्रकिटमा खराबी छ भनेर हेरिन्छ। एक दिन ल्याबमा राखेपछि भ्रूण बन्ने-नबन्ने थाहा पाउन सकिन्छ। पाँच दिनसम्म ल्याबमा राखेपछि मात्र आइभिएफको प्रक्रियामा जान्छ।
अण्डाको गुणस्तर र संख्या राम्रो छ भन्ने भएपछि महिलाको अण्डा निकालिन्छ। सँगै पुरूषको पनि शुक्रकिट निकालिन्छ। यसलाई ल्याबमा पाँच दिनसम्म राखिन्छ। यसको सफलताका लागि ल्याबको गुणस्तर, जनशक्ति अनि औषधिले समेत निर्धारण गर्छ।
तीन दिनमा पनि भ्रूण स्थानान्तरण गर्न सकिन्छ, तर पाँचौं दिनलाई धेरै उपयुक्त मानिन्छ।
कहिले शुक्रकिट देखिँदैन अनि कहिले अण्डाको गुणस्तर राम्रो हुँदैन भने त्यस्तो अवस्थामा डोनरबाट लिन सकिन्छ। त्यसपछि आइभिएफको प्रक्रियामा जान्छ।
कहिलेकाहीँ अण्डा बनिरहेको हुँदैन। त्यस्तो अवस्थामा औषधि दिइयो भने पनि समस्याको समाधान हुन सक्छ।
त्यस्तै आयुआई समेत गर्न सकिन्छ। पुरूषको शुक्रकिट लिएर महिलाको पाठेघरमा राख्न सकिन्छ। यसरी पनि गर्भ रहन सकेन भने मात्र आइभिएफमा जानुपर्छ।