'बाँदरको हातमा नरिवल।'
उखानहरू त्यसै बन्दैनन्। यसमा मानव समाजको लामो अनुभवयुक्त ज्ञान मिसिएको हुन्छ। यो पुस्ता दरपुस्तासम्म अनेक माध्यमबाट हस्तान्तरित हुँदै आएको हुन्छ।
मान्छेको यस्तै अनुभवहरूको निचोडबाट बनेको हो माथि उखान। फुटाउनै नसक्ने हातमा पुगेको एउटा गुणकारी फल 'नरिवल' कसरी तमासा बन्छ भन्ने एउटा कथा यही छोटो उखानले भनिदिन्छ।
'बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको पनि बनाउन दिँदैन' भन्ने उखान त भाइरल नै छ। पुरानो सामाजिक अनुभव लुकेको यो उखानले अस्थिरता, उच्छृंखलता र अव्यवस्थाको प्रतीकका रूपमा बाँदरलाई चिनाउने प्रयास गर्छ, गरेको छ।
कसैले अति चञ्चल व्यवहार गर्यो भने 'बाँदरे' भनियो, कसैले धेरै उफ्रियो भने पनि 'बाँदर झैं' भनियो।
बाँदरसँग सम्बन्धित यस्ता धेरै उखान र आहान छन्। यसबाट नेपाली समाजले बाँदरलाई कहिल्यै केवल जनावरका रूपमा मात्रै नहेरेको प्रस्ट हुन्छ।
मान्छेले उसलाई चरित्र बनाए। प्रवृत्ति बनाए अनि त्यो भन्दा धेरै उपमा बनाए। मान्छेका कमजोरी वर्णन गर्न उसैको सहारा लिइयो।
प्रकृतिको इन्जिनियर भनिने यो जनावर बदनाम बन्यो।
पछिल्लो समय बाँदरको चर्चा फेरि चुलिएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाले जेठ १ गते 'बाँदर लखेट्न सार्वजनिक बिदा' दिने सूचना जारी गरेपछि त्यसले सुरूमा धेरैलाई हँसायो।
लालीगुराँसको सूचनाप्रति धेरैले ठट्टा गरे — अब सरकारी कामभन्दा बाँदर धपाउने काम ठूलो भयो!
कसैले सामाजिक सञ्जालमा लेखे — नेपालमा जे पनि सम्भव छ!
सञ्जालमा जसरी प्रतिक्रिया व्यक्त भएको होओस्, त्यो सूचनाको पछाडि पहाडी भेगले लामो समयदेखि भोगेको एउटा थकाइको सुस्केरा थियो। हजारौं हजार किसानको निराशाको प्रतिक थियो। बाँदर आतंककै कारण रित्तिएका पहाडका धेरै बस्तीको पीडा त्यो सूचनामा लुकेको थियो।
जेठ महिनाको पहिलो दिन गएको शुक्रबार। लालीगुराँस नगरका डाँडापाखाहरूमा घाम बिस्तारै फैलिइसकेको थियो। सामान्य दिनमा यही बेला स्कुले बालबालिका झोला बोकेर उकालो लाग्थे।
त्यो दिन दृश्य फरक भयो।
वृद्धहरू हातमा टिनका डिब्बा बोकेर निस्किए। युवाहरू लाठी र गुलेली लिएर डाँडातिर उक्लिए। महिलाहरू खेतका कान्लामा उभिएर कराउन थाले।
'बाँदरबाट बालीनाली जोगाउन सामूहिक प्रयास भयो,' नगरप्रमुख अर्जुन मावोहाङले भने, 'दुई दिन दिनभरि सबै भएर बाँदर लखेट्ने ठूलो प्रयास गरियो।'
नगरपालिकाको आह्वानमा बाँदर लेखट्न धुइरिएका नगरबासीको ताँतीले भन्थ्यो — बाँदर त्यहाँको पीडाको सबैभन्दा ठूलो स्रोत बनिरहेको छ जसलाई स्थानीयबासी जसरी हुन्छ फ्याँक्न चाहन्छन्!
हुन पनि बाँदरबाट बालीनाली जोगाउन बालबालिका राम्रोसँग स्कुल जान पाउँदैनन्। तिनका अभिभावक दिनरात खेतबारी रूँघ्नमै व्यस्त हुन्छन्। रातभर टर्च बालेर पहरा दिनुपर्छ। त्यसो नगरे बिहान उठ्दा बाँदरले खेत सखाप पारिसकेको हुन्छ।
तेह्रथुम, धनकुटा, भोजपुर, पाँचथर, संखुवासभा सहितका कोशी प्रदेश मात्रै होइन, देशभरका पहाडी जिल्लामा अहिले बाँदर दैनिक त्रासको नाम बनेको छ। मकै पाक्न लागेपछि खेतमा मान्छेभन्दा पहिले बाँदरको आँखा पुग्छ। अलैंचीमा गुभो लाग्नुअघि नै बाँदरले थिचिसक्छ। किसानले महिनौं लगाएर हुर्काएको बाली एकैछिनमा ध्वस्त बन्छ।
बाँदरको समस्याबारे बहस संसदभित्र पनि प्रवेश गरिसकेको छ। प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म, पालिका प्रमुखदेखि नीतिनिर्मातासम्मको आँखाले देखेको र कानले लगातार सुनेको यो समस्या 'आतंक' बनिसकेको छ।
पहाडी भूभागमा किन र कसरी बढिरहेको छ बाँदर आतंक? के बाँदर त्यति नै बदनामी लायक जनावर हो, जति मान्छेमाझ उसको छवि बिग्रेको छ?
यी र बाँदरबारे हामीले त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका उपप्राध्यापक डा. रामचन्द्र अधिकारीसँग विस्तृत कुराकानी गरेका छौं।
डिग्री क्याम्पस विराटनगरमा अध्यापन गर्ने रामचन्द्रले पछिल्लो पाँच वर्ष लगातारजसो बाँदरका हुल पछ्याएका छन्। तिनको आनीबानीबारे अध्ययन गरेका छन्।
'नेपालमा पाइने रातो बाँदरको फरक फरक उचाइमा बासस्थान र आनीबानी' विषयमा अनुसन्धान सकेर भर्खरै मात्रै भारत पश्चिम बंगालको रायगन्ज विश्वविद्यालयबाट उनले विद्यावारिधि पूरा गरेका हुन्।
उनको अनुसन्धानको निष्कर्ष रोचक छ।
'नेपालका पहाड र मधेसमा सबभन्दा सफल वन्यजन्तु कुन हो भनेर सोध्ने हो भने धेरै प्राणीशास्त्रीको उत्तर रातो बाँदर आउँछ,' उनले भने, 'मानिसले खेतीको ढाँचा बदल्यो। जंगलको स्वरूप बदल्यो। धेरैतिर गाउँ रित्यायो। बाँदरले त्यो सबै परिवर्तनलाई अवसरमा बदल्ने चतुर्याइँ देखाइरहेको छ। जहाँ मान्छेले संकट देख्यो, त्यहीँ बाँदरले बाँच्ने नयाँ बाटो पहिल्यायो।'
यही असाधारण अनुकूलन क्षमताले बाँदरलाई नेपालको सबभन्दा चतुर र सफल जीवमध्ये एक बनाएको डा. रामचन्द्र ठहर छ। बाँदरको यही सफलताको रहस्य उनले यो अवधिमा पछ्याएका थिए।
उनको अनुसन्धानको केन्द्रमा थियो— रातो बाँदर, अर्थात् 'रेसस मंकी' जसको वैज्ञानिक नाम 'मकाका मुलाटा' हो।
नेपालमा यसलाई हजारिया बाँदर पनि भनिन्छ। नेपालमा पाइने पाँच प्रजातिका बाँदरमध्ये यही सबभन्दा चकचके र समस्या निम्त्याउने प्रजाति मानिन्छ।
उपप्राध्यापक डा. रामचन्द्र अधिकारी
रामचन्द्र यसलाई केवल उपद्रवी प्राणी मात्रै मान्दैनन्।
भन्छन्, 'यो वातावरणसँग सबैभन्दा छिटो घुलमिल हुन सक्ने जीव हो। खानपान, बासस्थान र व्यवहार परिवर्तन गर्न यिनीहरू अत्यन्तै सफल छन्।'
उनका अनुसार रातो बाँदरको गर्भधारण अवधि करिब १६० दिनको हुन्छ र साधारणतया एउटा मात्र बच्चा जन्मिन्छ। जंगली अवस्थामा औसत आयु १२ देखि १५ वर्षसम्मको हुन्छ।
'यिनीहरूको वास्तविक शक्ति शरीरमा होइन, व्यवहारमा लुकेको हुन्छ,' उनले भने।
अनुसन्धान क्रममा उनले सुनसरीको रामधुनी जंगल, धरानको जंगल र धनकुटाको करिब १२५० मिटर उचाइसम्मका क्षेत्रमा बाँदरका निश्चित हुल पछ्याएर अध्ययन गरे।
त्यो क्रममा उनले एउटा रोचक अन्तर भेटे — उचाइ बदलिँदा बाँदरको समाज र स्वभाव पनि बदलिने रहेछ।
'तल्लो क्षेत्र वा मधेसका जंगलमा एउटै हुलमा ६० देखि २०० वटासम्म बाँदर देखिन्छन्। धनकुटा जस्ता पहाडी क्षेत्रमा एउटा हुलमा २० देखि ३० वटा मात्र पाइन्छन्,' रामचन्द्रले भने।
बाँदरको दैनिक तालिका हेर्दा आफू नै चकित परेको उनले सुनाए।
'उनीहरूको समय तालिका निकै व्यवस्थित हुन्छ। बिहान खानेकुरा खोज्ने र अघाउने काम गर्छन्। दिउँसो गर्मी हुँदा शितलमा आराम गर्छन्। बेलुकातिर फेरि घुमफिर गर्छन्।'
जाडो मौसममा भने उनीहरूको व्यवहार फेरिन्छ। बिहान ढिलो मात्रै बाहिर निस्किन्छन्। तातो बाहिर नजाओस् भनेर एकअर्कासँग जीउ टाँसेर बस्छन्।
उचाइ बढ्दै जाँदा बाँदरको समय व्यवस्थापन फेरिन्छ। पहाडमा खानेकुरा कम हुने भएकाले बढी समय खोजीमै खर्च गर्नुपर्छ। यसको विपरीत मधेसका बाँदर फुर्सदिला हुन्छन्।
'त्यसैले मधेसमा एउटाले अर्कोको जुम्रा हेर्ने, सुमसुम्याउने ग्रुमिङमै धेरै समय बिताउँछन्। पहाडका बाँदरसँग त्यो फुर्सद हुँदैन। आहारा खोजीमै धेरै समय बित्छ,' उनले भने।
बाँदरको समाज पनि कम रोचक छैन।
प्रत्येक समूहमा एउटा नाइके हुन्छ। साधारणतया ठूलो र पाको भाले। तर त्यो सत्ता स्थायी हुँदैन। उमेर बढ्दै गएपछि तन्नेरी भालेहरूले विद्रोह गर्छन्।
'त्यसपछि नाइकेलाई चुनौती दिन्छन् र आफ्नो छुट्टै समूह बनाएर हिँड्छन्,' रामचन्द्रले भने।
पछिल्लो पाँच वर्ष नियाल्दा उनले बाँदरको झगडा नजिकबाट देखेका छन्।
भाले–भालेबीच दादागिरी र पोथीको निहुँमा धेरै झगडा हुन्छ। बच्चाहरू भने मान्छेका केटाकेटीजस्तै खेल्दाखेल्दै एकैछिनमा झगडा गर्छन्। एकैछिनमा मिलिहाल्छन्।
तर बाँदर झगडालु मात्र होइनन्, सहकार्यका पर्याय पनि हुन्छन्। कतैबाट खतरा महसुस हुनासाथ रूखको हाँगा हल्लाउँछन्। अनुहारको हाउभाउ बदल्छन्, पुच्छर ठाडो पार्छन्, आवाज निकाल्छन् र एकअर्कालाई सतर्क गराउँछन्।
मौसमले बाँदरको व्यवहारमा पार्ने प्रभावले पनि रामचन्द्रलाई अचम्मित तुल्याएको छ।
धेरै गर्मी भएको दिन बाँदरहरूमाझ खानेकुरा संकलन र झगडा दुवै बढ्छ। पानी परेको दिनको दृश्य रोचक हुन्छ।
'उनीहरू रूखको हाँगा हल्लाएर एकअर्कालाई भिजाउन खोज्छन्। त्यही बेला रिसारिसमा झगडा पनि बढी हुन्छ,' उनले भने, 'चिसो दिनमा भने बढी उफ्रिन्छन् र दौडिन्छन्। जीउ तताउन सक्रिय हुन्छन्।'
धेरैलाई बाँदर फलफूल मात्र खाने जनावर भन्ने लाग्छ। तर उनको अनुसन्धानले फरक तस्बिर देखाएको छ।
'बाँदरले सबभन्दा बढी खाने भनेको रूखको पात र मुना हो,' उनले भने।
त्यसबाहेक फलफूल, फूल, कोपिला, बीउ र रूखको खोटो पनि उनीहरूको भोजनमा पर्छ।
अझ रोचक कुरा— बाँदरले माटो र ढुंगा पनि चाट्छन्।
'शरीरमा लवणको कमी हुँदा बाँदरले माटो खान्छन्,' उनले भने, 'जब खानेकुरा अभाव हुन्छ उनीहरूले रूखको बोक्रा, कुहिएका पात, किराफट्यांग्रा र छेपारोसम्म खाने पाइएको छ।'
रामचन्द्रले अनुसन्धान क्रममा बाँदरले खाने खाद्यवस्तुहरू बारम्बार प्रयोगशालामा परीक्षण गरेका थिए। त्यो परीक्षणले अर्को महत्वपूर्ण तथ्य देखाएको उनले बताए।
'जंगली बाँदरले कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ र फाइबरको मात्रा निकै मिलाएर खाने रहेछन्,' उनले भने, 'मानिसले दिएको खानेकुरामा पल्किएका धरानका बाँदर भने फरक देखिए। उनीहरू अल्छी देखिए। र, पूर्ण रूपमा जंगली रहेका रामधुनीका बाँदर अत्यन्त सक्रिय र खानपानमा अनुशासित देखिए।'
उनको अनुसन्धानको सबभन्दा संवेदनशील पक्ष भने बाँदर आतंकको सामाजिक असरको पाटो हो।
रामचन्द्रले धनकुटा र भोजपुरबाट बसाइँ सरेर सुनसरीको रामधुनी आसपास आएका धेरै परिवार भेटे, जसको बालीनाली बाँदरले सखाप पारिदिएको थियो।
'पहाडमा गाउँ रित्तिएको कुरा सत्य हो,' उनले थपे, 'पहाडबाट बाँदरबाट जोगिन भनेर तराई झरेकाहरू यहाँ पनि बाँदरबाटै सताइएका धेरै भेटिए।'
किन गाउँ पसे बाँदर?
उनी यसको उत्तर सामाजिक र पर्यावरणीय परिवर्तनमा खोज्नुपर्ने बताउँछन्।
'पछिल्लो २०–२५ वर्षमा मानिसहरू पहाडबाट ठूलो संख्यामा बसाइँ सरे। पुराना खेतबारी बाँझो भए, जंगल बढ्यो। त्यसले बाँदरको बासस्थान र संख्या दुवै बढायो। यसले आतंक बढाउँदै लग्यो।'
बाँदरको प्राकृतिक शत्रु घट्नु पनि आतंक बढ्नुको अर्को मुख्य कारण भएको उनको ठहर छ।
'बाघजस्ता जनावर कम भए। वा उनीहरूले सजिलै भेटिने हरिण र मृग शिकार गर्न थाले। बाँदर चाहिँ सुरक्षित भयो,' उनले भने।
सामुदायिक वनको अभ्यासले पनि अप्रत्यक्ष असर गरेको उनी बताउँछन्। जंगलमा मानिसको धेरै आवतजावत हुँदा बाँदर बस्तीतिर पस्छ।
अर्को समस्या पुराना रूख धेरै काटिनु पनि हो। बाँदरलाई बस्न र आराम गर्न लामो हाँगा भएका बुढा रूख धेरै चाहिन्छ। त्यस्ता रूखमा पानीको स्रोत, झ्याउ र लवण बढी हुन्छ।
'तर सामुदायिक वनले सबभन्दा धेरै त्यस्तै बुढा रूखहरू ढाल्छन्। यसले बाँदरको सबैभन्दा प्रिय बासस्थान मासिदिएको छ। त्यसैले उनीहरू बाध्य भएर बस्ती छिरेका छन्,' उनले भने।
यसबीच सबभन्दा ठूलो परिवर्तन बाँदरको 'धर्म' मा आएको उनी बताउँछन्।
बाँदरलाई बस्ती छिरेपछि जंगलमा दुःख गरेर पात खोज्नुभन्दा गाउँमा पसेर बालीनाली खान सजिलो भयो। छिटो पेट भरिने र दिनभर आराम गर्न पाइने भएपछि उनीहरू गाउँतिरै बढी पल्किए।
बाँदरको गालाको दुवैतर्फ च्यापुमा प्राकृतिक झोला हुन्छ। जसलाई मौका मिल्नासाथ खानेकुरा खाँदेर राख्न बाँदरले प्रयोग गर्ने र पछि आरामले चपाएर खाने अधिकारी बताउँछन्।
मान्छेले लगाएका बालीनाली सखाप पारिदिने र यति धेरै समस्या निम्त्याउने बाँदरलाई रामचन्द्र प्रकृतिको 'इकोसिस्टम इन्जिनियर' मान्छन्।
उनका अनुसार बाँदरको शरीरमा ७०० भन्दा बढी प्रकारका परजीवी हुन्छन्। बाँदर नहुने हो भने तीमध्ये धेरैजसो सिधै मानिसमा सर्न सक्छन्।
त्यस्तै परागसेचनमा बाँदरको भूमिका पनि महत्वपूर्ण मान्नुपर्छ। कतिपय अग्ला रूखमा चरा वा किराहरू पुग्न सक्दैनन्। त्यहाँ बाँदरले मात्र परागसेचन गराउँछ।
म्याडागास्करको 'ट्राभलर पाम' को उदाहरण दिँदै उनले भने, 'बाँदर बिना त्यहाँका अग्ला रूखमा फल फल्नै सक्दैन।'
बाँदरले जंगलको कार्बन सञ्चितिमा पनि योगदान गर्छ।
अनुसन्धानले देखाएको छ — बाँदर नहुँदा कार्बन स्टक १५ देखि २५ प्रतिशतसम्म घट्न सक्छ।
चिकित्सा विज्ञानमा त बाँदर झन् अपरिहार्य छ। मानिस र बाँदरको एनाटोमी र फिजियोलोजी धेरै मिल्छ। त्यसैले नयाँ औषधि, खोप वा कस्मेटिकको पहिलो परीक्षण प्रायः बाँदरमै हुन्छ, गरिन्छ।
बाँदरको महत्वबारे उनले यति भनिरहँदा पहाडका गाउँ बस्तीमा चुलिएको तिनको आतंक घटाउने उपाय चाहिँ के हुन सक्छ?
रामचन्द्र यसबारे प्रस्ट छन्, 'पहिलो सर्त भनेको जंगलका बाँदरलाई जंगलमै अड्काउने वातावरण बनाउनुपर्छ।'
यसका लागि जंगलमा मानिसको गतिविधि घटाउनुपर्छ। बाँदरलाई मनपर्ने बाँसका झाङ र बुढा रूख जोगाउनुपर्छ।
'तर अहिले बाँदरको संख्या अत्यधिक भइसकेको छ,' उनले भने, 'केही हदसम्म संख्या नियन्त्रण नगरी बाँदर जंगलमा सीमित हुने अवस्था देखिँदैन।'
भौगोलिक उचाइ अनुसार बाँदरको खानपान फरक हुने भएकाले तराई र पहाडी भेगका जंगलमा तिनीहरूले मनपराउने प्रजातिका वनस्पति लगाउन उनी सुझाव दिन्छन।
'यसो गर्न सक्दा बाँदर जंगलमै अलमलिन सक्छन्। गाउँ बस्तीमा अहिले जसरी चहार्न कम हुन सक्छ,' डा. रामचन्द्रले भने।