पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्कमा बसोबास गर्दै आएका सुकुम्बासीलाई विस्तृत विवरण बुझाउन ३ दिनको समय दिएको छ।
महानगरले बुधबार सुचना जारी गर्दै बसपार्कमा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले कागजपत्रसहित विवरण पेश गर्न भनेको हो।
सूचनामा सुकुम्बासीसँग महानगरले वितरण गरेको निस्साको प्रतिलिपी, घरमुली र परिवारको सदस्यको नागरिकताको प्रतिलिपी तथा नाबालकको हकमा जन्मदर्ताको प्रतिलिपी, घरमुली र अन्य परिवारका सदस्य वीचको नाता प्रमाणित पत्र वा घरमुली आफैले खुलाएको स्वघोषणा पत्र, शौक्षिक योग्यता, अशक्त, असाहाय, वृद्ध, सुत्केरी वा अन्य केही भएमा पनि खुलाउन भनेको छ।
पोखरा महानगरपालिकाले सुकुम्बासीका नाममा सुचना जारी गरेर यस्ता विवरण बुझाउन निर्देशन दिनुका कारण उनीहरुका वास्तविक अवस्था पत्ता लगाउनु रहेको मेयर धनराज आचार्यले बताए।
महानगरले सुकुम्बासीलाई दिएको निस्सा नै खरिद बिक्री गरेको र सुकुम्बासीले टहरा बनाएर भाडामा दिएको जस्ता गुनासा आएकाले यसको छिनोफानो गर्न पनि विवरण माग गरिएको उनले बताए।
‘सुकुम्बासीलाई हामीले वितरण गरेको निस्सा नै किनबेच भएको सुनेका छौं, टहरा बनाएर भाडामा लगाएको गुनासो आएका छन्,’ उनले भने, ‘यकिन गर्न हामीले विवरण माग गरेका हौं। भोलि हटाउनुपर्ने अवस्थामा उहाँहरुको व्यवस्थापन गर्न पनि यी विवरण चाहिएको हो।’
सुकुम्बासी बस्तीका अगुवाहरुसँग छलफल गरेर सहजीकरण गरेको भन्दै उनले वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गरेर मात्र बसपार्क खाली गराउने बताए।