करिब सात वर्षअघि उनी बाइक दुर्घटनामा परेकी थिइन्। त्यसयता उनलाई ढाड दुख्ने समस्या छ। एक ठाउँमा बसेपछि बिना सहारा जुरूक्क उठिहाल्न सक्दिनन्।
उनलाई बाहिर हिँडडुल गर्न पनि सहज छैन। तर एकै ठाउँ बसिरहन पनि मन लाग्दैन। अचेल वरपर कतै जाने ठाउँ छैन। त्यसैले भक्तपुर खरिपाटीको विद्युत प्राधिकरण तालिम केन्द्र परिसरभित्रै डुलिरहन्छिन्।
५२ वर्षीया लक्ष्मी कटु पहिले टेकुको वंशीघाट सुकुम्बासी बस्तीमा बसोबास गर्थिन्। सरकारले काठमाडौं उपत्यकाभरिका सुकुम्बासी बस्ती हटाएपछि अहिले उनी भक्तपुरको चाँगुनारायण नगरपालिका-७ खरिपाटीको होल्डिङ सेन्टरमा आश्रित छिन्।
यहाँ विद्युत प्राधिकरण तालिम केन्द्रको दोस्रो नम्बर भवनको भुइँतले कोठामा उनलाई एउटा खाट दिइएको छ। त्यही कोठामा थप दुईवटा खाट पनि छन्, जहाँ उनीजस्तै दुई जना एकल वृद्धालाई राखिएको छ।
'तीन जनालाई एउटै कोठा दिइए पनि खाट छुट्टछुट्टै खाट छन्। त्यसैले कुनै समस्या छैन,' लक्ष्मीले भनिन्, 'बस्न खान त ठिकै छ, तर यहाँ बिरामीहरूलाई वास्ता गरिएन।'
उनका अनुसार यहाँ बिहान, दिउँसो र बेलुकी तीन छाक खाना दिइन्छ। ओढ्नी-ओछ्याउनी पनि ठिकठाक छन्। शौचालय र खानेपानीको कुनै समस्या छैन।
'सबै कुरा आफूले भनेजस्तो हुँदैन। अरू जे भए पनि स्वास्थ जाँचमा सहयोग पुर्याइदिए हुन्थ्यो भन्ने लाग्छ। टाउको दुखेको, ज्वरो आएको वा अरू सामान्य औषधिहरू त पाइन्छ, तर ठूला रोग लागेका बिरामीहरूलाई कुनै चासो दिएको देखिएन,' उनले गुनासो गरिन्।
लक्ष्मी बाइक दुर्घटनामा परेयता वीर अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर औषधि खाइरहेकी छन्। ढाड दुखाइसँगै सुगर र प्रेसरको रोग भएकाले दिनहुँ औषधि खाइरहनुपर्छ। पहिले अर्काको घरमा काम गरेर खर्च जुटाउँथिन्। होल्डिङ सेन्टर आएपछि त्यो बन्द भएको छ। आफै औषधि किन्न समस्या भइरहेको उनी बताउँछिन्।
औषधि किन्न मात्र होइन, भक्तपुरबाट वीर अस्पतालसम्म आवतजावत गर्न पनि समस्या छ। गाडी भाडासमेत खल्तीमा नभएको उनले सुनाइन्।
'सरकारले होल्डिङ सेन्टरमै स्वास्थ्य परीक्षणको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो। तर त्यसो गर्न सकिएन भने पनि नजिकको जुनसुकै अस्पतालमा छुटको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ,' लक्ष्मीले भनिन्।
लक्ष्मीसँगै एउटै कोठामा बसिरहेकी ७१ वर्षीया रिंगमाया धिमाललाई पनि आँखा नदेख्ने समस्या छ। उनी एउटा आँखा राम्ररी देख्न सक्दिनन्।
रिंगमाया धिमाल। तस्बिर: सरिशा अछामी/सेतोपाटी
उनी छोराबुहारीसँग छुट्टिएर बसेको वर्षौं भइसक्यो। त्यही भएर बल्खु सुकुम्बासी बस्तीमा बस्नु र होल्डिङ सेन्टरमा बस्नु उनका लागि कुनै फरक छैन।
'अब सरकारले जहाँ लगेर राखिदिन्छ, त्यहीँ बस्ने हो,' उनले भनिन्, 'दुई छाक खान दिएकै छ। स्वास्थ्य उपचार पनि गरिदियो भने बुढेसकाल सहज हुन्थ्यो।'
होल्डिङ सेन्टरमा आश्रित ३३ वर्षीय राजेश कार्की पनि ठूला मान्छेहरूलाई यहाँको बसाइ खासै समस्या नभए पनि साना बालबच्चालाई भने समस्या भइरहेको बताउँछन्। आफूलाई भन्दा छोरीलाई हेरचाह गर्नुपर्ने बेला होल्डिङ सेन्टरमा राख्नुपरेकामा उनी दु:खमनाउ गर्छन्।
कार्की यसअघि शंखमुलमा बस्थे। २०३० सालमा काठमाडौं महानगरपालिकाले नै त्यहाँ बस्ने अनुमतिसहित कागज दिएको उनको भनाइ छ।
सरकारले नै अनुमति दिएकाले ऋण गरेर पाँचकोठे घर बनाएको उनले बताए।
'दु:खसुख गरेर ऋण तिरूँला भन्ने थियो, तर सरकारले त्यही घर पनि भत्काइदियो,' उनले भने, 'जागिर छैन, केही काम गरूँ भने त्यो पनि छैन।'
उनकी ३० वर्षीया श्रीमती टीका कार्की पनि होल्डिङ सेन्टरमा छोरीलाई चाहेजस्तो खुवाउन नसकेकोमा दु:खी छिन्।
'सानी छोरीले घर सोचेर पहिलेजस्तै दूध, बिस्कुट, लिटो माग्छिन्। कहाँबाट ल्याएर दिनु?' उनले भनिन्, 'आफूसँग एक रूपैयाँ छैन। बच्चा र वृद्धहरूलाई उनीहरूको आवश्यकता अनुसार खान दिए हुन्थ्यो।'
सरकारले ढिला नगरी स्थायी बसोबासको व्यवस्थापन गरोस् भन्ने उनको चाहना छ।
प्रेमबहादुर हुमागाईं र उनकी पत्नी माया हुमागाईं। तस्बिर: सरिशा अछामी/सेतोपाटी
शंखमुलबाट खरिपाटी होल्डिङ सेन्टर ल्याइएका प्रेमबहादुर हुमागाईं पनि यसरी अलपत्र बस्नुपर्दा छोराछोरीको भविष्य धरापमा पर्ला कि भन्ने चिन्तामा छन्।
उनले आफ्नी छोरीलाई बोर्डिङ स्कुलमा पढाइरहेका थिए। यहाँ आएपछि सामुदायिक विद्यालयमा पढाउन थालेका छन्। यहाँबाट सरेपछि फेरि स्कुल सार्नुपर्ने हो कि भन्ने उनलाई अलमल छ।
'यसरी त केटाकेटीको भविष्य बिग्रिन्छ,' उनले भने, 'बरू जहाँ भए पनि स्थायी बसोबासको बन्दोबस्त गरिदिए हुन्थ्यो। हामी आफ्नो दु:खसुख गरेर खान्थ्यौं।'
प्रेमबहादुर आफै पनि बिरामी छन्। उनको खुट्टामा रड राखिएको छ। खुट्टा सुन्निएर हिँड्न गाह्रो भइरहेको छ। यहाँ पाइने सामान्य औषधिले एलर्जी भएको र थप उपचार गर्न आफूसँग पैसा नभएको उनी सुनाउँछन्।
खरिपाटीको विद्युत प्राधिकरण तालिम केन्द्रका दुईवटा भवनमा २०७ जना सुकुम्बासी राखिएका छन्। तीमध्ये ३० जनाभन्दा बढी बालबालिका छन्।
यो पनि पढ्नुहोस्:
भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा बनाइएको सुकुम्बासी होल्डिङ सेन्टर
होल्डिङ सेन्टरमा रहेका महिलाहरू।