दाङको तुलसीपुरमा प्रमुख शाखा रहेको ज्ञान ज्योति फाउन्डेसनले बाढीपीडितको सहयोगार्थ १५ लाख रूपैयाँभन्दा बढी सहायता रकम पठाएको छ।
फाउन्डेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालित विभिन्न स्कुलहरूमा कार्यरत शिक्षक, कर्मचारी र संस्थाको तर्फबाट बाढीपीडितको सहयोगार्थ संकलित रकम मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र जिसीले १५ लाख १५ हजार ५ सय ५५ रूपैयाँ कोषमा जम्मा गरिएको बताए।
भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूलीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी कोषमा हस्तान्तरण गरिएको जिसीले जनाए।
फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विपद, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको उनले बताए।
बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै उनले फाउन्डेसनले आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने बताए।