सुशीला महतराले बर्दिया राष्ट्रिय निकुञ्जमा नेचर–गाइडको रूपमा काम गर्न थालेको १० वर्ष भयो।
यहाँ महिला नेचर–गाइडतर्फ सबैभन्दा सिनियर हुन् उनी। उनले सन् २०१५ मा पहिलो पटक नेचर–गाइडको तालिम लिँदा यो क्षेत्रमा कोही महिला थिएनन्।
अझै अर्को दस वर्ष नेचर–गाइडकै रूपमा काम गर्ने उनले सोचेकी छन्।
'दुई बहिनीहरू काठमाडौंमा पढ्दै छन्, उनीहरूलाई पढाउनु छ,' ३२ वर्षीया सुशीलाले भनिन्, 'एउटी बहिनी विदेशमा एयर–होस्टेस छिन्।'
परिवारका सात बहिनीमध्ये सुशीला जेठी हुन्। हालसम्म अविवाहित सुशीलाले घरको सम्पूर्ण आर्थिक भार सम्हालेकी छन्।
उनलाई देखेर पछिल्लो समय अरू युवती पनि यो क्षेत्रमा जोडिएका छन्। सुशीलाकी आफ्नै एक बहिनी नेचर–गाइड भइन्। उनको रूचि प्रकृति र जनावरको फोटो खिच्नु हो।
पहाड घर सुर्खेत भएका सुशीलाका बुबा हात्तीसारमा काम गर्थे। जागिरको सिलसिलामा बर्दिया झरे र त्यहीँ विवाह गरे। सन्तान सबै बर्दियामै जन्मिए।
सरकारले हात्तीसारका कर्मचारीलाई क्वार्टर उपलब्ध गराएको थियो। सुशीलाको बाल्यकाल त्यहीँ बित्यो। उनी सानैदेखि बुबाको पछि लागेर हात्तीका आनीबानी नियाल्थिन्।

स्कुल पढ्दा उनी 'इको क्लब' हरूमा जोडिएर काम गर्न थालिन्। तत्कालीन नेकपा (माओवादी) युद्धका बेला राष्ट्रिय निकुञ्जभित्र चोरी–शिकार ह्वात्तै बढेको थियो। न्यूनीकरण निम्ति निकुञ्जले ४० सदस्यीय 'कम्युनिटी बेस एन्टी फोर्स युनिट' नामक क्लब गठन गरेको थियो। सुशीला त्यसको एक सदस्य भइन्।
उनी जस्ता सदस्यको मुख्य काम गाउँमा शंकास्पद व्यक्ति वा कसैले गैरकानुनी गतिविधि गरिरहेको भए त्यसबारे निकुञ्जलाई सूचना दिनु हुन्थ्यो। निकुञ्जले पनि क्लबका सदस्यहरूलाई बेला बेला कार्यक्रमहरूमा बोलाउँथ्यो, जानकारी दिन्थ्यो।
'म हात्तीसारमा खेल्दै हुर्किएँ। घर र निकुञ्जको सीमा एक सय मिटरभन्दा पनि कम भएकाले सानैदेखि जंगली जनावर देख्दै आएँ। नजानिँदो किसिमले उनीहरूसँग प्रेम बस्यो,' सुशीलाले भनिन्।
बर्दिया निकुञ्जमा पर्यटक संख्या बढ्दै जाँदा केही आधुनिक होटलहरू खुल्न थाले। ती होटलले पर्यटकलाई र्याफ्टिङ र सफारी गराउँथे। त्यस्तो सफारी कर्णाली नदीबाट सुरू भएर हात्तीसारमा सकिन्थ्यो।
यसरी पर्यटक खोलामा रमाउँदै आएको देख्दा सुशीला पनि रोमाञ्चित हुन्थिन्। पर्यटकले पानी खाएका खाली बोतल र चकलेट केटाकेटीलाई दिएको देखेर दंग पर्थिन्।
अनि उनीहरूले गाइडसँग कुरा गरेको देखेर, सुनेर उनमा पनि टुरिस्ट (पर्यटक) गाइड बन्ने सपना पलाएको थियो।
प्लस–टू सकेपछि घरको आर्थिक अवस्था र अन्य कारणले सुशीलाले पढाइ छोड्नुपर्यो।
'बुबालाई सघाउन केही काम गर्छु भन्ने भयो। आफूले सोच्दै आएको टुरिस्ट गाइड राम्रै पेसा हुन्छ भन्ने लाग्यो,' सुशीलाले भनिन्।
सुरूमा सुशीला एक होटल काम गर्न थालिन्। होटलमा फूलहरू गोडमेल गर्ने, रिसेप्सन हेर्ने, भान्साको काम सिकिन्।
होटलले विदेशी पर्यटकलाई 'भिलेज टुर' लैजान्थ्यो। होटल साहुनीले पर्यटकहरूसँग अंग्रेजीमा कुरा गरेको सुशीला रूचिपूर्वक सुन्थिन्। यस्तै टुरमा जाँदा–जाँदै उनले अंग्रेजी भाषा फरर बोल्न सिकिन्।
उता निकुञ्जले गर्ने विभिन्न कार्यक्रमहरूमा पनि उनी सहभागी हुन्थिन्। निकुञ्जले आफ्नो क्लबका सदस्यहरूलाई सीपमूलक तालिम दिन्थ्यो। त्यसमध्येको एउटा नेचर–गाइड तालिम पनि थियो।
सन् २०१५ मा सुशीलाले पाँच दिन नेचर–गाइडको तालिम लिइन्। होटल फर्किएपछि अब आफू गाइड बन्ने भनिन्। तर महिलाहरू गाइडका रूपमा जाने चलन थिएन। होटल साहुनीको पनि गाइड लाइसेन्स थियो, तर उनी जान्न थिइन्।
सबैले उनलाई 'हुँदैन' भने।


सुशीलाले मन मारिनन्।
होटलमा दुई जना पुरूष गाइडहरू थिए। कहिलेकाहीँ पर्यटकको दुई–तीन समूह एकै पटक आउँदा चाप हुन्थ्यो। त्यस्तो बेला सुशीला सफारीमा असिस्टेन्ट गाइडका रूपमा जान थालिन्। करिब दुई–तीन वर्ष यसैगरी जंगल सफारीको अनुभव सँगालिन्।
बिस्तारै उनलाई होटलभित्रको काम र बाहिरको कामबीच तालमेल मिलाउन मुस्किल हुन थाल्यो।
अनि उनले निधो गरिन् — फ्रिल्यान्सर (स्वतन्त्र) नेचर–गाइडको काम गर्छु।
यसरी स्वतन्त्र रूपमा काम गरेको करिब दुई वर्षमै कोभिड फैलियो। पर्यटन ठप्प भयो।
उनलाई अलि कठिन भयो। उनी पछि हटिनन्।
सन् २०२१ देखि आन्तरिक पर्यटक बढे।
'त्यही बीच राम्रो टिमसँग काम गर्ने अवसर पाएँ। सन् २०२१ को अन्त्यतिर नेपालले बाघ वर्ष मनाइरहेको समयमा युकेबाट बिबिसीको टिम बर्दिया आएको थियो,' उनले सुनाइन्।
पर्यटन क्षेत्रका व्यक्तिहरू, बाघले समुदायमा पारेको प्रभाव, वन्यजन्तुबाट प्रभावित परिवार तथा मानव–वन्यजन्तु द्वन्द्वका क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग बिबिसी टिमले भेटघाट र छलफल गरेको थियो।
उनीहरूले बनाएको 'रिटर्न टाइगर' डकुमेन्ट्रीमा सुशीलाको भूमिका पनि समेटिएको छ। करिब पाँच दिन उनले त्यो टिमसँग काम गरिन्, जसले उनको पहिचान फैलाउन सहयोग गर्यो।
सन् २०२३ मा फेरि बिबिसीकै अर्को डकुमेन्ट्रीमा उनले तीन महिना काम गर्ने अवसर पाइन्। पछिल्लो समय बिबिसीले जेठ २५ गते सार्वजनिक गरेको 'टाइगर आइल्यान्ड' डकुमेन्ट्रीमा पनि उनी संलग्न भइन्।
यसरी आफ्नो कामको मूल्यांकन हुन थालेपछि उनलाई गर्व महसुस हुन थालेको छ।
'सुरूका दिनमा त काम नपाउँदा छोडिदिऊँ कि जस्तो पनि लागेको थियो। अहिले आफ्नो कामको पहिचान र सम्मान बढ्दै गएकोमा खुसी छु,' उनले भनिन्, 'कमाइ पनि राम्रै छ। सिजनमा मासिक ५० हजारदेखि १ लाख रूपैयाँसम्म कमाइ हुन्छ।'
बर्दिया निकुञ्जमा मुख्यतः दुई प्रकारका गाइड हुन्छन्।
एक, होटलमा कर्मचारीकै रूपमा नियुक्त भएका जो गाइड भएर नजाँदाको समयमा होटलकै अरू काम गर्छन् र महिनावारी तलब लिन्छन्।
अर्को सुशीला जस्तै स्वतन्त्र गाइड हुन्छन्। उनीहरूका आफ्नै 'बुकिङ' हुन्छन्। पुराना पर्यटक र अनुभवका कारण उनीहरूको खोजी हुन्छ। होटलहरूले पनि आवश्यक पर्दा बोलाउँछन्।
'होटलले बोलाउँदा एक पूरा दिनको ३ हजार रूपैयाँ लिइन्छ। अनुसन्धान र फिल्म (डकुमेन्ट्री) को काममा बढी कमाइ हुन्छ,' उनले सुनाइन्।

नेचर–गाइडको कामको सिजन वर्षको ८ महिना हो। मनसुन र जाडो याम (क्रिसमसको समय) मा पर्यटक कम आउँछन्। त्यो समयमा सुशीला घरको खेतीपातीमा सघाउँछिन्।
यो क्षेत्रमा महिला नेचर–गाइडतर्फ सबैभन्दा सिनियर हुन् उनी। उनलाई देखेर पछिल्लो समय अरू युवती पनि यो क्षेत्रमा जोडिएका छन्। सुशीलाकै एक बहिनी नेचर–गाइड छिन्। उनको रूचि प्रकृति र जनावरको फोटो खिच्नु हो।
पछिल्ला वर्षमा बर्दिया निकुञ्ज बाघका लागि अझ प्रसिद्ध भएको छ। सन् २०२२ को गणना अनुसार बर्दियामा करिब १२५ वटा पाटे बाघ थिए।
यहाँ आन्तरिकसँगै भारत, सार्क र पश्चिमा देशबाट आउने पर्यटक बढेका छन्। करिब ८० प्रतिशत बाघ नै हेर्न आउने सुशीलाले बताइन्। चरा अवलोकन, समुदाय तथा संस्कृति अध्ययन, कृषि अभ्यास बुझ्न तथा अनुसन्धानका लागि पनि आउँछन्।
सुशीलाको पनि बाघसँग धेरै पटक जम्काभेट भएको छ। थोरै सावधानी अपनाउने हो भने बाघले केही नगर्ने उनको बुझाइ छ।
'बाघ त्यस्तो हिंस्रक पनि हुँदैन, हामीलाई बेवास्ता नै गरिरहेको हुन्छ,' उनले भनिन्, 'मानिस नजिक हुँदा लुकेर बसेको हुन सक्छ। खोलामा पानी खान झर्दा मानिस देख्यो भने घन्टौं झाडीमा बसेर मानिस गएपछि मात्र पानीमा झरेको देखेकी छु। उसले पनि खतरा महसुस गरेपछि आक्रमण गर्न सक्छ। डमरू साथमा भएको, बुढो वा घाइते बाघसँग भने अझै बढी सावधानी अपनाउनुपर्छ।'
जंगलमा चरा तथा मृगको आवाज, गतिविधिमा ध्यान दिनुपर्ने र बाघका पाइलाको संकेत देखिए सजगता अपनाउनुपर्ने उनी बताउँछिन्।
'हामी गाइडहरू बाघ खोज्न र हेर्न आएका हुन्छौं र चारैतिर ध्यान दिएर हिँड्छौं,' उनले भनिन्।
सुशीलाका लागि प्रकृति सिकाइको पाठशाला जस्तै हो। हरेक पटक निकुञ्ज प्रवेश गर्दा उनले नयाँ अनुभव पाउँछिन्।
'बिबिसीको डकुमेन्ट्री बनाउने क्रममा दुई वटा बघिनी, तिनका डमरू र नजिकै एक वयस्क भाले सँगै रहेको दृश्यले चकित बनाएको थियो,' उनले भनिन्।
बाघका कारण पर्यटक बढ्दा स्थानीय समुदायलाई आर्थिक लाभ हुने उनको बुझाइ छ। बर्दियामा थप पर्यटक भित्र्याउन सडक पहुँच सुधार्नु र हवाई भाडा घटाउनुपर्ने उनी बताउँछिन्।
साथै बर्दिया पूर्ण रूपमा डिजिटलाइज्ड नभएकाले सूचना र जानकारी गुगलमार्फत सजिलै उपलब्ध हुने व्यवस्था विकास गर्नुपर्ने उनले बताइन्।
बर्दियामा पछिल्लो तथ्यांक अनुसार जंगली हात्ती करिब १२० वटा र गैंडा ३८ वटा छन्। साथै ६२ प्रजातिका स्तनधारी, ८४ प्रजातिका सरीसृप र ५३५ प्रजातिका चरा पाइन्छ।


निकुञ्ज वरिपरि कर्णाली र बबई नदी बग्छन्, जसका सहायक नदी पनि निकुञ्जभित्र बग्छन्। तालतलैया पनि छन्, जहाँ १२१ प्रजातिका माछा रेकर्ड गरिएका छन्।
सुख्खा याममा पानी व्यवस्थापनका लागि निकुञ्जभित्र करिब ८० वटा कृत्रिम पोखरी बनाइएका छन्। बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य अनुसार पछिल्ला दस वर्षमा यी पोखरी बनाइएका हुन्। यसले पानीको समस्या कम गर्नुका साथै मानव–बाघ द्वन्द्व घटाएको छ।
यहाँ घाँसे मैदान विकास गरिएको छ, जसले चित्तलको संख्या बढाउन सहयोग गरेको मानिन्छ। हालैको एक अध्ययन अनुसार चित्तलको संख्या ६५ हजारभन्दा बढी देखिएको थियो।
हात्तीसारको खोरमा समस्या भएका बाघलाई राखिन्छ। गैंडा संरक्षण कार्यक्रम पनि चलाइएको छ। गोही प्रजनन केन्द्र छ, जहाँ मगर र घडियालका बच्चा हुर्किरहेका हुन्छन्। कछुवा पनि यहाँ राखिएको छ।
जंगल नजानेहरू, जेष्ठ नागरिक र बालबालिकाहरू यहाँ यी सबै हेरेर रमाउन सक्छन्।
'हालसम्म निकुञ्जको करिब २० प्रतिशत क्षेत्र मात्र एक्सप्लोर भएको छ। चुरे क्षेत्रका कारण धेरै भागमा बाटोको समस्या छ। त्यसैले कर्णाली नदी आसपासको करिब सय वर्ग किलोमिटर क्षेत्रमा र बबई भ्यालीमा केही मात्रामा सफारी हुन्छ। बाँकी धेरैजसो र्याफ्टिङ र फिसिङ हुन्छ,' सुशीलाले भनिन्।
