रूकुम पूर्वबाट कस्तुरीको बीना सहित दुई जना पक्राउ परेका छन्।
रूकुम पश्चिमको सानी भेरी गाउँपालिका–११ का ३८ वर्षीय मिलन केसी र रूकुम पूर्वको सिस्ने गाउँपालिका–१ पाखापानीका २५ वर्षीय टकल बुढा पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट खोपीचारबाट प्रहरी नायब निरीक्षक जीवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो साढे ४ बजेतिर मध्यपहाडी लोकमार्गमा सवारी चेकजाँचका क्रममा उनीहरूको साथबाट कस्तुरीको बीना फेला पारेपछि नियन्त्रणमा लिएको थियो।
रूकुम पूर्वको रूकुमकोटबाट पश्चिम रूकुमतर्फ जाँदै गरेको केसीले चलाएको रा ४ प ९७०० नम्बरको मोटरसाइकलमा पछाडि सवार बुढाले बोकेको झोलामा २ ग्राम ६४० मिलीग्राम कस्तुरीको बीना बरामद भएको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर विकले बताए।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रूकुम पूर्वमा पठाइएको प्रहरीले जनाएको छ।