चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले आफ्ना मागहरू तत्काल सम्बोधन नभए कडा आन्दोलन र सत्याग्रह पुनः सुरू गर्ने चेतावनी दिएका छन्।
गत साउन ११ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएको र स्वार्थको द्वन्द्व भएका व्यक्तिहरूलाई निरन्तरता दिइएको भन्दै उनले कडा आपत्ति जनाएका हुन्।
निजी मेडिकल कलेजका सञ्चालकहरूले इन्टर्न र आवासीय चिकित्सकहरूको निर्वाह भत्ता रोक्ने धम्की दिइरहँदा सरकार मौन बसेको र राज्य संयन्त्र माफियाको मुठ्ठीमा पुगेको आरोप डा. केसीले लगाएका छन्।
डा. केसीद्वारा जारी विज्ञप्ति अनुसार, हाल शहिद दशरथचन्द मेडिकल विश्वविद्यालयका रजिस्ट्रार (जो पूर्वनिजी कलेज सञ्चालक सङ्गठनका महासचिव हुन्), स्वास्थ्य मन्त्री तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको नियुक्तिमा गम्भीर स्वार्थको द्वन्द्व र अयोग्यता देखिएको छ। सार्वजनिक शिक्षण संस्थालाई ध्वस्त बनाउन र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति कटौती गरेर निजीमा सिट बढाउन सरकार र मेडिकल माफियाबीच अनैतिक साँठगाँठ भएको उनको दाबी छ।
डा. केसीका ५ प्रमुख मागहरू:
१. अयोग्य र स्वार्थ बाझिने पदाधिकारीको बर्खास्तगी: स्वास्थ्य मन्त्री, शहिद दशरथचन्द मेडिकल विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रार, र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई तत्काल पदमुक्त गरिनुपर्ने। साथै, आयोगका रिक्त निर्देशक पदहरूमा निष्पक्ष र योग्य व्यक्तिहरू नियुक्त हुनुपर्ने।
२. साउन ११ को सहमति कार्यान्वयन: २४ औँ सत्याग्रहका क्रममा सरकारसँग भएका सहमतिहरू—जस्तै मेडिकल विश्वविद्यालयको पूर्ण सञ्चालन, ऐन संशोधन, छात्रवृत्ति कटौती फिर्ता र सिट वृद्धि बदर—अक्षरशः पालना हुनुपर्ने।
३. स्नातकोत्तर (PG) कार्यक्रम सरकारीमा मात्र: निजी कलेजहरूमा बिनामापदण्ड सञ्चालित स्नातकोत्तर, विद्यावारिधि (PhD) र सो सरहका कार्यक्रमहरू बन्द गरी सरकारी अध्ययन संस्थान र प्रतिष्ठानहरूमा मात्र सञ्चालन गरिनुपर्ने।
४. बढाएको सिट बदर: न्यूनतम पूर्वाधार नपुर्याई निजी कलेजहरूमा थप गरिएका सिटहरू तत्काल बदर गरी सरकारी शिक्षण संस्थाहरूमा क्षमता अनुसार सिट संख्या वृद्धि गरिनुपर्ने।
५. श्रम शोषण र वित्तीय अपराधको छानबिन: निजी मेडिकल शिक्षण संस्थाहरूमा भइरहेको ठगी र आवासीय चिकित्सकहरूको श्रम शोषणको छानबिन गरी कारबाही हुनुपर्ने। निर्वाह भत्ता रोक्ने धम्की तत्काल फिर्ता गराउनुपर्ने।
सरकारले विगतका सहमति र यी मागहरूलाई बेवास्ता गरेमा स्थगन गरिएको २४ औँ सत्याग्रह सहितको सशक्त आन्दोलन पुनः सुरू गर्ने डा. केसीले स्पष्ट पारेका छन्।
आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनेसमेत उनले चेतावनी दिएका छन्।