पछिल्लो एक वर्षमा रूपन्देहीबाट १५ सय बढिले अंगीकृत नागरिकता प्राप्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक हजार १६७ जनाले वैवाहिक अंगीकृत र ३३४ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार वैवाहिक अंगीकृत लिनेहरूमा सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयबाट ५४४, इलाका प्रशासन कार्यालय मझगावाबाट ३९८, इलाका प्रशासन कार्यालय मानपकडीबाट १६५ र बुटवलबाट ६० जना छन्।
त्यस्तै अंगीकृत नागरिकता लिनेहरूमा जिल्ला प्रशासन कार्यालयबाट १६२, इलाका प्रशासन कार्यालय मानपकडीबाट १२०, मझगावाबाट ३४ र बुटवलबाट १८ जना छन्।
नेपालको प्रचलित कानुन अनुसार विदेशी महिलाले नेपाली पुरूषसँग वैवाहिक सम्बन्ध कायम गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने कानुनी प्रावधान रहेको छ।
अंगीकृत नागरिकता लिन भन्दा अगाडि जन्मिएका सन्तान, बुवा आमामध्ये कुनै एकको जन्मको आधारमा नागरिकता भएकाको सन्तानलाई अंगीकृत नागरिकता दिने प्रावधान छ।
गत वर्ष ६५ जनाले गैर आवासीय नागरिकता प्राप्त गरेका छन्। यी सबै गरेर एक वर्षमा २७ हजार ४९३ जनाले रूपन्देहीबाट नागरिकता प्राप्त गरेको तथ्यांक छ। त्यस्तै गत वर्ष रूपन्देहीबाट ५३ जनाले नागरिकता त्याग गरेका छन्।