सिरियाका पूर्वराष्ट्रपति बशर-अल असदलाई मृत्युदण्डको सजाय तोकिएको छ।
उनको अनुपस्थितिमै मुद्दा चलाएर सिरियन अदालतले उनलाई मृत्युदण्डको सजाय तोकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
करिब १४ वर्षसम्म चलेको युद्धका क्रममा हत्या, यातना र मनमानी गिरफ्तारी लगायतका अपराध गरेकोमा दोषी ठहर गरेको हो।
सन् २०२४ को डिसेम्बरमा विद्रोहीको आक्रमणपछि असद सत्ताच्यूत भएका थिए। यससँगै सिरियामा उनको परिवारको दशकौं लामो कठोर शासन अन्त्य भएको थियो।
उक्त युद्धमा सयौं हजार सिरियाली मारिएका थिए।
विद्रोही लडाकुहरू राजधानी दमास्कसतर्फ अघि बढेपछि असद देश छाडेर भागेका थिए। उनी हाल मस्कोमा रहेको बताइएको छ।
मंगलबार सुनुवाइका क्रममा न्यायाधीशले असदलाई ‘एकभन्दा बढी व्यक्ति तथा बालबालिकाको पूर्वनियोजित र जानाजानी हत्या, यातना, मनमानी गिरफ्तारी तथा मानवता विरूद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्ड सुनाएका हुन्।
असदको शासनकालमा सुरक्षा अधिकारी रहेका अतेफ नाजिबलाई पनि अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
सन् १९६५ मा जन्मिएका असद आफ्ना बुबा हाफेज-अल असदको निधनपछि सन् २००० मा सिरियाको राष्ट्रपति बनेका थिए। उनले परिवारको शासनलाई निरन्तरता दिँदै सुन्नी मुस्लिम बहुसंख्यक रहेको सिरियामा आफ्नो अलावाइट सम्प्रदायको प्रभुत्व कायम राखेका थिए।
साथै सिरियालाई इरानको सहयोगी तथा इजरायल र अमेरिकाप्रति शत्रुतापूर्ण मुलुकका रूपमा कायम राखेका थिए।
सन् २०११ को अरब स्प्रिङका क्रममा लोकतन्त्रको माग गर्दै सिरियालीहरू सडकमा उत्रिएपछि उनीहरूमाथि सरकारले दमन गरेको थियो। त्यसबाट सुरू भएको द्वन्द्व गृहयुद्धमा परिणत भएको थियो।
यो पनि: सिरियाली तानाशाहको उदय र पतनको कथा (भिडिओ)