प्यूठानमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
दुर्घटनामा परी गौमुखी गाउँपालिका–७ नारीकोटकी २८ वर्षीया रबि सुनारलाई बढी चोट लागेको छ।
उनलाई जिल्लाको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
दुर्घटनाका घाइतेमध्ये अन्य सात घाइते गौमुखी गाउँपालिका–७ नारीकोटकी ५० वर्षीया गीता गिरी, २७ वर्षीया सावित्रा परियार, ३३ वर्षीया लक्ष्मी विक, ३५ वर्षीया सीता रोका, उनका १० वर्षीय छोरा रबिन रोका, ५ वर्षीय सरप्राइज केसी र गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ की २८ वर्षीया शान्ता परियारको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार जारी छ।
उनीहरूको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ।
नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु.१ ज. ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको गाडी ब्रेक फेल भई झिमरूक गाउँपालिका–३ लामासेरामा सडकमा पल्टिएको थियो।
प्रहरीका अनुसार गाडीमा चालक सहित १४ जना सवार थिए।
जिपका चालक गौमुखी गाउँपालिका–७ नारीकोटका २५ वर्षीय ऋषिराम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।