काठमाडौं मेडिकल कलेज, सिनामंगलको मेडिसिन वार्ड। यहाँको 'बेड नम्बर १४३' एउटा अस्पतालको सामान्य फलामे शैय्या मात्रै होइन, उनको सिंगो जीवन र संसारकै केन्द्र बनेको छ।
त्यही बेडमा विगत १० महिनादेखि ३३ वर्षीय दौलत थापा निस्पन्द लडिरहेका छन्। अचेत अवस्थामा मृत्युसँग पौँठेजोरी खेल्दैछन्।
उनको शरीरमा जडान गरिएका विभिन्न प्लास्टिकका पाइप, नाकमा उनिएको अक्सिजनको सहारा र उपकरणका मोनिटरहरूले मात्रै उनी जीवित रहेको मधुरो संकेत दिन्छन्।
त्यही बेडको छेउकै कुर्सीमा दिनरात एक महिला टोलाइरहेकी भेटिन्छिन्– उनी हुन्, ३२ वर्षीया यमकला ठकुरी।
उनी कहिले श्रीमान्को निधार सुम्सुम्याउँछिन्, कहिले हात समाउँछिन् त कहिले गालामा स्पर्श गर्दै कानै नजिक पुगेर बिस्तारै भन्छिन्, 'सानु तपाईंको सानीले कत्ति धेरै बोलाउँछे नि है। म त बोलाइरहन्छु नि। तिमीले सुनिरहेका छौ नि सानु' भन्दै निधारमा चुम्बन गर्छिन्।
दिनभर बस्दा उनी यस्तै, यस्तै कुरा भनिरहेकी हुन्छिन्, बोलाइरहेकी हुन्छिन्। तर उताबाट कुनै जबाफ आउँदैन। दौलत न केही बोल्छन्, न आँखा नै खोल्छन्।
तर यमकलाले आफ्ना भावनाहरू पोखिरहँदा कहिलेकाहीँ अचानक श्रीमान्को आँखाका परेला हल्का झिम्किन्छ, कहिलेकाहीँ उनले थुक निल्छन्। चिकित्सा विज्ञानका लागि यो सामान्य शारीरिक प्रतिक्रिया मानिन्छ।
विगत १० महिनादेखि अस्पतालको गन्ध र मोनिटरको तिखो आवाजमा बाँचेकी यमकलाका लागि भने यही सानो संकेत नै पहाड जत्रो लाग्छ। आफू बाँच्ने आशाको आधार ठान्छिन्।
'दिनभर उहाँसँग बोलिरहन्छु, कहिलेकाहीँ आँखा झिम्काउनुहुन्छ, थुक निल्नुहुन्छ, मलाई लाग्छ, उहाँले मेरा सबै कुरा सुनिरहनु भएको छ,' उनले भनिन्, 'केही महिना अघिसम्म भने उहाँले सामान्य प्रतिक्रिया समेत दिनुहुँदैनथ्यो। त्यसैले उहाँको प्रतिक्रियाले सास आउँछ।'
दौलत १० महिना अघिसम्म अरू जस्तै हिँडडुल गर्ने परिवारको खम्बा थिए।
सिन्धुपाल्चोक घर भएका दौलत र दोलखाकी यमकलाले तीन वर्षको प्रेम सम्बन्धलाई १५ वर्षअघि विवाहमा परिणत गरेका थिए।
उनीहरूको १३ वर्षका छोरा र ११ वर्षकी छोरी छन्।
उनीहरू भक्तपुर नयाँ ठिमीमा बस्छन्। ४ जनाको जीवन सरल र सुखी थियो। दौलत ट्रक चलाउँथे। यमकला घर व्यवहार सम्हाल्थिन्। १५ वर्षदेखि डेरामा बस्दै आएका दम्पतीको छोराछोरीलाई पढाउने र सानो आफ्नो छानो बनाउने सपना थियो।
तर एउटा घटनाले उनीहरूको जिन्दगी नै मोडियो।
जसलाई यमकलाले कालो दिनको संकेत दिएकी छन्। त्यो दिन हो-भदौ २४ गते।
भदौ २३ गते दौलत बिहानदेखि नै आन्दोलनमा गएका थिए। त्यो दिन भने उनी सकुशल फर्किए। तर नयाँ बानेश्वरमा गोली चलेको कुरा यमकलाले सामाजिक सञ्जालमा देखिरहेकी थिइन्, आत्तिइन्।
२४ गते पनि दौलत बिहानै आन्दोलनमा जान तयार भए। तर यमकलाले अघिल्लो दिनको घटनाको दृश्य सम्झेर नजान आग्रह गरिन्। तर दौलत मानेनन्।
'यस्तो बेलामा देशका युवाहरू घरभित्र लुकेर हुन्छ? जानुपर्छ भन्दै हिँड्नुभयो,' उनले भनिन्, 'बिहानको खाना समेत नखाई जानुभाको थियो।'
भक्तपुर, कोटेश्वर, सिनामंगलसम्मका विभिन्न ठाउँमा आन्दोलन हुँदा भिडिओहरू दौलतले हालिरहेका थिए। बेलाबेलामा लाइभ गरिरहेको उनी सम्झिन्छिन्।
श्रीमान्ले लाइभ गर्दा उनले फोन गरेर गाली गर्थिन्। उनको गाली सुनेपछि दौलतले लाइभ काटिदिन्थे। त्यसैगरी त्यो दिन बित्यो।
साँझ ५ बजेसम्म दौलत घर पुगेनन्। यमकलाले पटक पटक फोन गर्दा उनले काटिदिन्थे। त्यै पनि उनी श्रीमान आउँछन् भनेर डेरा बाहिर बसेर कुरिरहिन्।
६ बजेतिर श्रीमान् हिँड्दै डेरा आउँदै गरेको दृश्य देखिन्। श्रीमान्लाई सकुशल देखेपछि आफूले राहतको सास फेरेको उनी सम्झिन्छिन्।
डेरा फर्किएका दौलत टाउको दुख्यो भन्दै असहज महसुस गरिरहेको यमकलाले थाहा पाइन्। दौलतले भने केही भनेनन्।
८ बजेतिर भने उनको पीडा बढ्दै गयो।
'असह्य रूपमा दुख्न थाल्यो, सुरूमा सामान्य ठानेर बेवास्ता गरे पनि पीडाले छटपटाउन थाल्नुभयो,' उनले भनिन्, 'के भयो भनेर हेर्दा टाउकोको पछाडि भागमा चोट लागेको रहेछ।'
उनले थपिन्, 'के भयो भन्दा प्रहरीको लठ्ठी लागेको होला भनेर टारिदिनुभयो।' घाउ सामान्य देखिएको थियो। राति पर्दै जाँदा टाउको दुख्यो भनेर छटपटाउन थाल्नुभयो।'
श्रीमान्ले दुखाइ सहन नसकेको देखेर उनले हतारहतार आफन्तलाई फोन गरिन्। र, भक्तपुरको मध्यपुर ठिमी अस्पताल पुर्याइन्। जाँच गर्दा टाउकोभित्र रगत जमिसकेको देखियो र चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने बताए।
त्यो अकल्पनीय क्षणमा उपचारभन्दा ठूलो संकट आर्थिक अभाव बनिदियो।
घरमा त्यति ठूलो बचत थिएन। यमकला आफन्त र चिनेजानेका सबैसँग सहयोगको याचना गर्दै रातभर दौडिइन्। करिब २० घण्टाको कठोर संघर्ष र दौडधुपपछि मात्रै केही रकम जुट्यो र दौलतको पहिलो शल्यक्रिया सम्भव भयो।
'तत्काल उपचारका लागि सरकारले निःशुल्क भने पनि केही कानुनी प्रक्रिया पूरा गर्नुपर्ने थियो। त्यतिबेला प्रक्रिया पूरा गर्नुभन्दा उपचार गर्नतिर लाग्यौँ,' उनले भनिन्, '१६ दिनसम्म त्यहाँ उपचार गर्यौँ।'
१६ दिन उपचार गर्दा करिब ११ लाख रुपैयाँ खर्च भयो। त्यसमा ३ लाख छुट भयो। बाँकी आफैले तिर्नुपरेको उनी बताउँछिन्।
आफूसँग भएका गहना बेचेर, आफन्तहरूसँग सरसापटी गरेर त्यहाँको भुक्तानी चुक्ता गरिन्। तर उनको अस्पतालको यात्रा त्यही रोकिएन।
उनलाई त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टर पठाइदियो। त्यतिबेला उनी हल्का बोल्न सक्ने, आँखा हेर्ने गर्थे। ट्रमाबाट साँगाको एक थेरापी सेन्टरमा पठाइदियो। त्यहाँ राख्दा निमोनिया भयो। त्योसँगै छारे रोग (सिजर) पनि देखियो। त्यसपछि श्रीमानको शरीरले प्रतिक्रिया दिन छोड्दै गएको यमकला बताउँछिन्।
'टाउकोको अपरेसन गरेको १०/१५ दिन भइसकेको थियो। त्यहाँ नुहाइदिएको थिएँ। त्यही कारण हो कि के भएर हो, निमोनिया भयो,' उनले भनिन्, 'चिकित्सकहरूले नै हुन्छ भनेकाले नुहाइदिएको थिएँ। त्यै पनि मनमा लागिरहन्छ।'
उनले थपिन्, 'साँगाको चिसोले निमोनिया र छारे रोग (सिजर) को आक्रमण दोहोरिरह्यो। जसले पूर्ण रूपमा अचेत बनाइदियो।'
दौलतलाई निमोनिया भएपछि यमकलाको अस्पतालको यात्रा अझै लम्बिँदै गयो। मध्यपुर ठिमी, ट्रमा सेन्टर, साँगा हुँदै अहिले काठमाडौं मेडिकल कलेज पुर्याइन्। ७ महिनादेखि मेडिकल कलेजमै छिन्।
मेडिकल कलेजमा ७ महिना राखेको औषधिको बिल मात्र ९ लाख ७४ हजार २४९ रुपैयाँ भएको छ। बेडको शुल्क लाग्दैन भनिएको छ। तर औषधिको शुल्क लाग्न सक्ने भनिएको उनी बताउँछिन्।
'यहाँ ल्याउने बेलैमा अस्पतालले औषधिको शुल्क तिर्नुपर्ने हुन सक्छ भनेको छ,' उनले भनिन्, 'भोलि तिर्नुपर्यो भने हाम्रो त जिन्दगी नै सकिन्छ।'
अहिले पनि अस्पतालमा नपाएका औषधि वीर र टिचिङ अस्पतालमा गएर लिएर आउनुपर्छ। यस अवधिमा उनले ५०/६० हजार रुपैयाँको औषधि किनेकी छन्।
यति लामो समयसम्म अस्पतालमा बसिरहँदा सरकारले ध्यान दिएको छैन। कोही भेट्न पनि आएका छैनन्। ट्रमा सेन्टर हुँदा गृहमन्त्री सुधन गुरूङ र आशिका तामाङ पुगेका थिए।
व्यक्तिगत रूपमा सांसद आशिका तामाङले ५० हजार रूपैयाँ दिएकी थिइन्। साथसाथै घाइते जेन-जीहरूले सहयोग संकलन गरेर केही रकम दिएको उनी बताउँछिन्।
'श्रीमान यहाँ हुनुहुन्छ भन्ने सारालाई थाहा छ। त्यै पनि दु:ख साट्न, घाउमा मलम लगाउन कोही आउनु भाको छैन,' उनले भनिन्, 'जसको लागि उहाँ लड्नुभाको थियो। उनीहरूलाई नै वास्ता छैन।'
उनका अनुसार यस्तो गम्भीर बिरामीलाई त्यही अनुसारको सेवा सुविधा दिए राहत मिल्थ्यो।
‘भदौदेखि फागुनसम्म लाखौं रूपैयाँ खर्च भएको छ। जेनजी आन्दोलनमा घाइते भएका परिवार र अभियानीहरूले चौतर्फी दबाब र गुहारपछि गत फागुनदेखि मात्रै सरकारले मासिक १८ हजार रुपैयाँ दिन थालेको हो, उनले भनिन्।
महिनाको अन्तिममा फागुनदेखि १८ हजार रूपैयाँ पाए पनि यो महँगीमा त्यति पैसा हात्तीको मुखमा जिरा जस्तै भएको उनी बताउँछिन्।
'कोठा भाडा मात्र ७ हजार रुपैयाँ बुझाउनुपर्छ, बानेश्वरमा बस्ने ८०-८३ वर्षका वृद्ध सासू-ससुराको चिन्ता बेग्लै छ,' उनले भनिन्, 'बाँकी ११ हजारले महिनाभरिको खाद्यान्न, छोराछोरीको खर्च र बिरामीको यो महँगो औषधि कसरी किन्नु?'
सुरूमा धेरैले सहयोग गर्ने भनेर आश्वासन दिए पनि अहिले संकट पर्दा सबै हराएको उनको गुनासो छ।
‘धेरै युट्युबरहरू आउँछन्, दुःखको भिडिओ खिच्छन् र 'भ्युज' को खेती गर्छन् तर सहयोग कसैले गर्दैनन्,’ उनले भनिन्।
आफ्नो दुःख बेचेर डलर नकमाऊ भन्दै यमकलाले कतिपयलाई त गाली गरेरै पठाइदिन्थिन्। अहिले आफूलाई आर्थिक सहयोग मात्र नभई मानवीय सहयोग समेत नपाएको उनी बताउँछिन्।
अस्पतालको यो लामो बसाइमा यमकलालाई पालो दिने घरमा कोही छैन। महिना दिनमा दुई/चार दिन बुढी भाको सासू आउँछिन्। उनले औषधि दिने समय बिर्सिने डर मनमा लागिरहन्छ। त्यसैले धेरैजसो उनी आफै बस्छिन्।
उनले ११ वर्षीया छोरीलाई सासू- ससुरासँग बानेश्वरमा राखिदिएकी छन्। तर १३ वर्षका छोरा डेरामा एक्लै बस्छन्। उनी कक्षा-९ मा पढ्छन्। तत्काल विद्यालय परिवर्तन गर्न नमिल्ने भएपछि छोरालाई त्यही राख्नुपरेको उनको भनाइ छ।
'श्रीमानलाई एकै छिन छोड्न डर लाग्छ। त्यसैले छोरालाई फकाइ-फुलाइ राखिराकै छु। त्यै पनि रातभर मोबाइल हेरेर बस्छ भन्ने पीर लागिरहन्छ,' उनले भनिन्, 'केही सुधार आए घर लैजान हुन्थ्यो। डाक्टरहरू भगवान भरोस भन्छन्।'
चिकित्सकहरूले यस्ता केशमा बचाउन सक्ने थोरै प्रतिशत मात्र रहेको दाबी गर्छन्। त्यै पनि उनले आफ्नो हिम्मतलाई हार्न दिएकी छैनन्। श्रीमानको हेरचाहका लागि त्यही कुर्सीमा रात बिताउँछिन्।
बिहानै उठ्छिन्, औषधि मिलाउँछिन्, श्रीमान्को सरसफाइ गर्छिन्, दिसा–पिसाब सोहोर्छिन्, विभिन्न खानेकुराको धुलोलाई घोलेर पाइपबाट खुवाउँछिन् र फेरि त्यही कुर्सीमा बसेर श्रीमान उठ्ने प्रतिक्षा गर्छिन्, टोलाइरहन्छिन्।
'उहाँले मलाई एकदमै धेरै माया गर्नुहुन्थ्यो। म पनि त्यतिकै गर्छु,' उनले भनिन्, 'त्यसैले त उहाँलाई एकैछिन पनि छोड्न सकेकी छैन। छोराको पढाइ बिग्रियो भने अर्को वर्ष फेरि सुरू गरूम्ला भनेर बसेकी छु। त्यै पनि पीर त लाग्छ।'
उनले थपिन्- 'आफू अस्पतालमा हुँदा छोराको पढाइ र बाल्यकाल भताभुङ्ग भएको छ।'
कहिलेकाहीँ कपडा फेर्न वा छोराछोरीको अनुहार हेर्न यमकला डेरामा त पुग्छिन्, तर उनको मन सधैँ त्यही 'बेड नम्बर १४३' मा अड्किरहन्छ। उनलाई डर लाग्छ– कतै म नभएको बेला उहाँले आँखा खोल्नु भयो कि?
त्यही डरले उनी फेरि हतारिँदै अस्पतालकै कुर्सीमा आइपुग्छिन्।
शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा गलिसक्दा पनि यमकलाले हिम्मत हारेकी छैनन्। दौलतको आँखाको सानो झिम्काइ नै यमकलाका लागि फेरि अर्को दिन बाँच्ने र संघर्ष गर्ने ऊर्जा बनेको छ।
राज्यका लागि दौलत थापा केवल एउटा आन्दोलनको घाइते नागरिक र एउटा मेडिकल फाइल मात्र हुन सक्छन्, तर यमकलाका लागि उनी प्रेम, सिंगो जीवन र बाँच्ने आधार हुन्।
७ महिनादेखि सिनामंगल अस्पतालका यी भित्ताहरू, कुर्सीहरू र बेड नम्बर १४३ एउटा नथाक्ने पवित्र र गहिरो प्रेमको साक्षी बनिरहेका छन्।
यमकलाले हरेक सासमा एउटै प्रार्थना गर्छिन्– दौलतले एकपटक आँखा खोलून् र यो बेड नम्बर १४३ बाट सँगै घर फर्किन पाऊँ।