सुर्खेतमा उकालो चढ्दै गरेको अटो ब्याक भएर १०० मिटर मुनि खसेको छ।
उक्त दुर्घटनामा परी बराहताल गाउँपालिका–७ का ४३ वर्षीय जानदेवी कठायत र ३६ को लोकेन्द्र कठायत घाइते छन्।
जानदेबीलाई सुर्खेतको उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा पुर्याएर उपचार भइरहेको छ। उनको टाउको, ढाड लगाएतमा चोट छ।
त्यस्तै, सोही ठाउँका लोकेन्द्रको हात, छाती लगायतमा चोट छ। उनको भने कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो १ बजेतिर वीरेन्द्रनगरबाट नयाँ गाउँतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ह ०८३२ नम्बरको अटो उकालोमा ब्रेक नलाग्दा बराहताल –७ स्थित भित्री सडक खण्डबाट १०० मिटर मुनि खसेको थियो।
दुर्घटनाबारे अटो चालक जुम्लाको हिमा गाउँपालिका– ३ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–३ बस्दै आएका २० वर्षीय जीवन नाथयोगीले दिउँसो २ बजेतिर प्रहरीलाई जानकारी दिएका थिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।