रूकुम पश्चिमस्थित सानी भेरी नदीमा बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन्।
सानीभेरी गाउँपालिका–१ टाउकेलेखका २८ वर्षीय प्रेम रोकाय बुधबार बेपत्ता भएका हुन्।
बिहान सवा १० बजेतिर सानीभेरी–२ स्थित गिठाकोटस्थित नदी किनारमा बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा उनी डुबेर बेपत्ता भएको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक झबिन्द्र परियारले बताए।
इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाँगी नेतृत्वको टोलीले स्थानीयसँग मिलेर उनको खोजी कार्य जारी राखेको छ।