विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दिपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले दुबै जनालाई अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
उनीहरू दुबै जना हाल थुनामा छन्। असार ३ गते विशेष अदालतकै न्यायाधीशहरू सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनामा पठाउन आदेश दिएको थियो।
भट्ट र अग्रवालविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धान गरी उनीहरूविरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरिएको थियो।
बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कसुर गरेको आरोप उनीहरूमाथि छ। त्यस्तै धितोपत्र सम्बन्धी कसुर र विदेशी विनिमय ऐन सम्बन्धी कसुर अन्तर्गत पनि कसुर गरेको आरोप छ।
भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रूपैयाँ बिगो कायम गरेको देखिन्छ। अग्रवालको हकमा २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रूपैयाँ बिगो कायम गरेको थियो।