भारतीय सेनाको अग्निपथ योजना अन्तर्गत नेपाली युवालाई अग्निवीरमा भर्ती हुन दिनुपर्ने माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ।
भारतीय सेनाबाट अवकाश प्राप्त सैनिकहरूको संगठन ‘भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल’को आयोजनामा भएको प्रदर्शनमा भूतपूर्व सैनिक, उनीहरूका परिवार र विदेशी सेनामा भर्तीका लागि तालिम लिएका युवाहरू सहभागी थिए।
प्रदर्शनकारीले अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्ती गर्नुपर्ने मागसहित प्लाकार्ड बोकेका थिए।
रोजगारीका लागि खाडी मुलुक जानुभन्दा भारतीय सेनाको अग्निवीरमा भर्ती हुन पाउनुपर्ने प्रदर्शनकारीको माग थियो।
‘खाडी मुलुकमा रोजगारीमा जानुभन्दा भारतीय सेनाको अग्निवीरमा भर्ती हुन पाउनुपर्छ,’ भारतीय सेनाबाट अवकाश प्राप्त क्याप्टेन रूद्र थापाले भने, ‘विदेशी सेनामा भर्ती हुन नदिने हो भने सरकारले स्वदेशमै रोजगारी दिन सक्नुपर्छ।’
प्रदर्शनपछि भूतपूर्व सैनिकहरूले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा सन् २०२२ देखि भारतले अग्निपथ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको भन्दै पुनः सुरू गर्न माग गरिएको छ।
लामो समयदेखि भर्ती प्रक्रिया रोकिँदा नेपाली युवाले रोजगारीको अवसर गुमाएको र त्यसले नेपाल–भारत सम्बन्धमा समेत असर पार्न सक्ने ज्ञापनपत्रमा उल्लेख छ।
अग्निपथ योजनाअन्तर्गत भर्ती हुने युवाको उमेर १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्म हुने र चार वर्षको सेवापछि उत्कृष्ट प्रदर्शन गर्ने २५ प्रतिशतलाई स्थायी सैनिकका रूपमा सेवा गर्ने अवसर दिइने ज्ञापनपत्रमा उल्लेख छ। बाँकी ७५ प्रतिशतलाई एकमुष्ट रकमसहित अवकाश दिने तथा भारतका विभिन्न अर्धसैनिक बल र बहुराष्ट्रिय कम्पनीमा रोजगारीको अवसर सुनिश्चित गरिने दाबी गरिएको छ।
गोर्खा ब्रिगेडका अनुसार भारतीय सेनामा नेपाली युवाका लागि हरेक वर्ष करिब चारदेखि पाँच हजार भर्तीको अवसर रहने गरेको थियो। त्यसमध्ये करिब २५ प्रतिशत स्थायी हुने र हरेक वर्ष १५ देखि १७ सय नेपाली भारतीय सेनामा स्थायी रूपमा कार्यरत रहने दाबी ज्ञापनपत्रमा गरिएको छ।
ज्ञापनपत्रमा भर्ती प्रक्रिया पुनः सुरू भए नेपाली युवाले रोजगारीको अवसर पाउने र वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुपर्ने बाध्यता कम हुने दाबी गरिएको छ।
भूतपूर्व सैनिकहरूले ‘सैनिक’ शब्द प्रयोग भएका कारण दर्ता तथा नवीकरण रोकिएका आफ्ना संघ–संस्थाको नवीकरण प्रक्रिया पनि खुलाउन माग गरेका छन्।
गृह मन्त्रालयको निर्देशनअनुसार ‘सैनिक’ शब्दले नेपाली सेनालाई जनाउने र त्यस्ता संघ–संस्थाका गतिविधिले नेपाली सेनाको छविमा प्रतिकूल असर पर्न सक्ने भन्दै नवीकरण रोकिएको ज्ञापनपत्रमा उल्लेख छ।
गृह मन्त्रालयको निर्देशनपछि दुई वर्षदेखि ‘सैनिक’ शब्द भएका संघ–संस्थाले नवीकरण नपाएको र आफूहरू असहज अवस्थामा परेको भूतपूर्व सैनिकहरूको भनाइ छ।
गोर्खा ब्रिगेडले नेपालमा नेपाली सेनाका भूतपूर्व सैनिकसँगै भारत, बेलायत र सिंगापुरका भूतपूर्व सैनिकसमेत विभिन्न संघ–संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहेको उल्लेख गरेको छ। भूतपूर्व सैनिकका संघ–संस्थालाई ‘सैनिक’ शब्दकै कारण नवीकरणबाट बञ्चित गर्नु उचित नभएको उसको दाबी छ।
‘एक जना सैनिकले सैनिक जीवनभर सेनामा सेवा गरेपछि आफूलाई भूतपूर्व सैनिक भन्न सक्छ भने भूतपूर्व सैनिकका नाममा संस्था खोल्दा समस्या किन हुन्छ भन्ने प्रश्न उठेको छ,’ गोर्खा ब्रिगेडका सचिव हनेरी क्याप्टेन शमशेर गुरूङले भने।
गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष आफ्ना माग पुर्याइदिन आग्रह गरेका छन्।
ज्ञापनपत्रमा भारतीय सरकारसँग वार्ता गरी नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया पुनः सुरू गर्न तथा भूतपूर्व सैनिकका संघ–संस्थाको नवीकरणसम्बन्धी समस्या समाधान गर्न माग गरिएको छ।
क्याप्टेन थापाले दोस्रो विश्वयुद्धमा नेपाली सैनिकले वीरता प्रदर्शन गरेको उल्लेख गर्दै नेपाली युवा विश्वभर वीरका रूपमा परिचित रहेको बताए।
उनका अनुसार ब्रिटिश शासनकालदेखि भारत स्वतन्त्र भएपछि पनि नेपाल, भारत र ब्रिटिश पक्षबीच नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्ने व्यवस्था कायम रहँदै आएको थियो।