गोरखामा नकाबधारी समूहले बीच बाटोमै बोराले छोपेर डाँका चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पालुङटार नगरपालिका-२ भण्डारी चौतारामा दुर्गा ए.सीलाई नकाबधारी व्यक्तिहरूले डाँका चोरी गरेको खुलेको छ।
यो घटना साउन ५ गते राति सवा १० बजेतिरको हो।
दुर्गा आफ्नो घरमा जाँदै थिए। त्यही क्रममा अज्ञात व्यक्तिहरू नकाब लगाएर उनीभए ठाउँमा पुगेका थिए।
ती व्यक्तिहरूले दुर्गालाई डोरीले बाँधेका थिए भने मुखमा बोराले छोपिदिएका थिए। त्यसपछि उनले झोलामा बोकेको एक लाख ७० हजार रुपैयाँ र कागजात लुटेर ती नकाबधारी फरार भएका थिए।
यस घटनाको अनुसन्धान क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका-२ हर्मिकोट आप पिपल बस्ने २२ वर्षीय श्रीकृष्ण परियार र २३ वर्षीय कुशल ए.सी छन्।
उनीहरूमाथि डाँकाचोरी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ।