सहप्राध्यापक समेत रहेका मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्ल काठमाडौंको वीर अस्पतालमा कार्यरत छन्। जहाँ दैनिक देशका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि पुग्छन्।
उनी भन्छन्- 'ओलाङचुङगोला, धादिङ, चितवनदेखि महेन्द्रनगरसम्मका बिरामी एउटै आशा बोकेर अस्पताल आइपुग्छन्, वीर अस्पतालमा गएपछि उपचार हुन्छ।’
डा. मल्ललाई वीर अस्पतालमा काम गर्नु एउटा भाग्यजस्तो लाग्छ। किनकि यति धेरै विभिन्न क्षेत्र र समुदायका बिरामी अन्त हुँदैनन्। महेन्द्रनगर, विराटनगर, पोखरामा काम गर्ने चिकित्सकले यो सबै अवसर पाउँदैनन्। अर्थात् मेची–महाकालीको जुनसुकै ठाउँमा काम गर्नेलाई यो अवसर हुँदैन।
'मलाई वीर अस्पताल एउटा फूलबारीजस्तो लाग्छ। त्यहाँ हरेक ठाउँ र हरेक जातका बिरामी हुनुहुन्छ। हरेक धर्मका हुन्छन्। हरेकको दुःख बेग्लै हुन्छ, रोग बेग्लै हुन्छ,' उनले भने, 'कोही इमर्जेन्सीमा आउँछन्, कोही आइसियूमा हुन्छन्, कोही सामान्य समस्या लिएर आउँछन्। कोही त बाटोमा हिँड्दाहिँड्दै अस्पताल कस्तो रहेछ भनेर समेत आउँछन्।'
असहजताको कारण, आर्थिक अवस्थाले कतिको उपचार असम्भव भएको उनले देखेका छन्। कतिपय उपचार अस्पताल वा राज्यले बेहोर्न नसक्ने अवस्था पनि छ।
अर्को कुरा सबै बिरामी वीर अस्पताल आउनै पर्छ भन्ने नरहेको उनले बताए। त्यसका लागि सातै प्रदेशमा वीर अस्पताल सरहको उपचार हुने अस्पताल जरूरी रहेको उनको तर्क छ।
'डाक्टरहरू राम्रो हुनुहुन्छ, उपचार राम्रो छ, त्यहाँका उपकरणहरू राम्रो छन्। मेरो चाहना के हो भने जनकपुरको बिरामीले उतै उपचार पाउनुपर्छ। मेची–महाकालीका बिरामीले आफ्नै ठाउँमा उपचार पाउनुपर्छ। किनभने त्यहाँ बिरामी मात्र आउने होइन, बिरामीका आफन्त पनि आउनुपर्छ। यहाँ आउँदा आफ्नो शरीर मात्र लिएर आउने होइन, घर छोडेर आउने हो,' उनले भने, 'घर छोडेर, गाईवस्तु छोडेर, पेसा छोडेर आउने हो। यो सबै छोड्न गाह्रो छ। आउनुपर्यो, बस्नुपर्यो। एक दिन त इष्टमित्रकहाँ गएर बसिएला, तीन दिन त बसिँदैन नि। सबैको काम हुन्छ। काठमाडौं सहर नै त्यस्तै छ। यहाँ एकले अर्कालाई ध्यान दिँदैन।'
सुगर, थाइराइड, प्रेसर लगायतको परीक्षणका लागि समेत काठमाडौं आउने भन्दै सुगरको जटिलता भएर आउन जरूरी भए पनि सुगरको औषधिकै लागि आउनुपर्ने बाध्यता रहेको बताए।
उनका अनुसार एकैदिन एउटै चिकित्सकले धेरै बिरामी हेर्दा उपचारको गुणस्तरमा समेत ह्रास आउन सक्छ। चिकित्सक पनि थाक्छन्। एउटा अपरेसन गर्दा जोश आउँछ, अर्को गर्दा अलि थकाइ लाग्छ, अनि अझै थपियो भने गाह्रो हुँदै जान्छ। एउटै चिकित्सकले दिनमा ५ जना, १० जना र ५०–६० जना बिरामी हेर्नुमा धेरै फरक पर्छ।
'मैले एकै दिनमा एउटै बसाइँमा ८०–९० जनासम्म बिरामी हेरेको छु। त्यति धेरै बिरामी हेर्दा गलिन्छ। तर के गर्नु, मभन्दा धेरै बिरामी गलेको हुन्छ। धेरै सुगर भएर परीक्षण गर्न आएको बिरामी मकहाँ आइपुग्दासम्म त सुगर कम भइसकेको पनि हुन सक्छ,' उनले भने, 'त्यसैले बिरामीले सहजता खोजेको हुन्छ। बिरामीलाई निको हुन्छु भन्ने जोस हुन्छ। त्यस्ता बिरामीलाई निराश बनाउन हुँदैन।'
वीर अस्पतालमा पुग्ने बिरामी दुई–तीन प्रकारका हुन्छन्। कोही ‘मेरो परिवारमा सुगर थियो’ भनेर पुग्छन् भने कोही सुगरसँगै किड्नी, पिसाब र मुटुको समेत परीक्षण गर्न पुग्छन्। अनि कोही सुगरको औषधि खाइरहेका तर सुगर नियन्त्रण नभएर जाने बिरामी हुन्छन्।
केही बिरामीलाई आफूलाई सुगर छ भन्ने नै थाहा नहुने भन्दै उनले घाउ आइसकेर, किड्नी बिग्रिसकेर, खुट्टा काट्नुपर्ने अवस्था भएर, आँखा धमिलो भएर नदेख्ने भइसकेपछि समेत बिरामी अस्पताल पुग्ने बताए।
सुगर हुनुको दोष धेरैले खानालाई दिन्छन्। तर सुगर एउटा वंशानुगत कारणले हुन्छ भने अर्को मानसिक तनावले हुने डा. मल्लको भनाइ छ।
'अहिले मैले यसो हेर्छु, पहिले जहिल्यै पनि खानपानलाई मात्र दोष दिइन्थ्यो। तर नेपालीले खाने खाना इङ्ल्यान्ड, अमेरिका वा क्यानडामा खाने खानाभन्दा धेरै फरक छ। हामीले धेरै बाहिरी खाना खाँदैनौं। धेरैले घरकै खाना खान्छन्,' उनले भने, 'त्यसैले मलाई के लागिरहेको छ भने नेपालमा धेरैलाई सुगर हुने एउटा प्रमुख कारण मानसिक तनाव हो। अर्थात् खानपानभन्दा मानसिक तनाव नै बढी दोषी हो भन्ने लाग्छ।'
उनले बिरामीलाई 'आमा, तपाईंको सुगर बढेछ, के खानुभयो?' भनेर सोध्दा 'केही खाएको छैन' भनेर जबाफ दिन्छन्। अनि 'निन्द्रा कति लाग्छ?' भनेर सोध्दा 'निन्द्रा त लाग्दैन?' भनेर जबाफ आउने डा. मल्लको अनुभव छ।
‘किन लाग्दैन?’ भनेर सोध्दा, ‘छोराछोरी विदेश छन्, उनीहरूका बालबच्चा सानै छन्’ भनेर जबाफ आउने उनले बताए।
'मुख पनि बार्नुहुन्छ, शारीरिक व्यायाम पनि गर्नुहुन्छ। तर किन सुगर छ त? कारण मानसिक तनाव हो। आज तपाईंले राम्रोसँग निदाउनुभएन भने भोलि तपाईंको सुगर बढ्न सक्छ,' उनले भने, 'मैले बिरामीलाई के भन्छु भने, सूर्य त अस्ताउँछ भने हामी पनि निदाउनुपर्छ। आज निदाउनु भनेको भोलिका लागि शक्ति सञ्चय गर्नु पनि हो।'
त्यस्तै, खाना खाँदा लापरबाही गर्नु नहुने उनको सुझाव छ। सुगरका बिरामीको उपचार भनेको सुगर मात्र घटाउने नभई अन्य अंग पनि जोगाउनु हो। सुगरका बिरामी लामो समयसम्म भोकै बस्नु हुँदैन। चाहिने खाना खानुपर्छ। रातिको निद्रा ६ देखि ८ घण्टा हुनुपर्छ।
'थोरै–थोरै खाएर केही हुँदैन। तर सुगर घटाउँछु भनेर लामो समयसम्म भोकै बस्न जरूरी छैन। भोको पेटले इन्सुलिन उत्पादन गर्दैन। साढे दुईदेखि तीन घण्टामा केही न केही खानैपर्छ,' उनले भने, 'सुगरका बिरामी एक्लै बस्नु पनि हुँदैन। किनकि कहिलेकाहीँ सुगर घटेर समस्या हुन सक्छ। मधुमेहका बिरामी कुनामा बसेर खाना बार्नैपर्छ भन्ने होइन। थोरै भए पनि केही न केही खानुपर्छ। ‘खान पाइँदैन’ भनेर निराश भएर सुगर बढाउनुभन्दा थोरै मात्रामा खान सक्नुपर्छ।'
उनले बिरामीलाई बा–आमा र छोराछोरीसँग बसेर खाना खान भन्छन्। किचनलाई मन्दिर भन्छन्। अर्थात् घरमै पकेको खाना खान र भातभन्दा तरकारी, सलादमा जोड दिन भन्छन्। तरकारीमा झोल राखेर खानु फाइदाजनक रहेको उनको सुझाव छ।
त्यस्तै एउटालाई दिएको औषधिले अरूलाई काम नगर्ने भन्दै चिकित्सकको परामर्श बिना कुनै पनि औषधि बदल्न नहुने उनको चेतावनी छ।
'डाक्टरले बोलाएको बेला बिरामी आउनैपर्छ। औषधि मात्र उपचार होइन। चिकित्सकले भनेअनुसार खानपिन र व्यायाममा ध्यान दिन जरूरी छ,' उनले भने, 'सुगर न्यूनतम अंकमा रहिरह्यो भने औषधि छोड्न मिल्ने पनि हुन्छ। धेरै जनाको औषधि हामीले छोडाएका छौं। तर त्यो चिकित्सकको निगरानीमा हुनुपर्छ, अनि बिरामी पनि अनुशासित हुनुपर्छ।'
(वीर अस्पतालमा कार्यरत रहेका मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ सह.प्रा. डा. दीपक मल्लसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)