नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन प्रस्ताव भएको छ।
कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने गरी भदौ २४ देखि वडा अधिवेशन सुरू गर्न लागेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशन प्रस्ताव प्रस्तुत गर्दै छलफल अघि बढाएको हो।
तर समानान्तर महाधिवेशन कार्यतालिका प्रस्तुत भएको बैठकमा देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला उपस्थित छैनन्।
निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरीले बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा बेग्लै महाधिवेशन कार्यतालिका नै प्रस्तुत गरेका छन् भने ती कार्यतालिकामाथि नेताहरूले धारणा राख्ने क्रम सुरू भएकोमा बैठक आज पनि जारी रहनेछ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले जारी गरेको विज्ञप्तिमा 'नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समिति बैठक समितिका संयोजक शशांक कोइरालाको संयोजकत्वमा सम्पर्क कार्यालय चुनदेवीमा बसेको र बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीले १५ औं महाधिवेशन सन्दर्भमा प्रस्ताव प्रस्तुत गर्नुभएको' उल्लेख छ।
बैठकमा १५ औं महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ, जसमा मंसिर २१ देखि २३ गतेसम्म गर्ने उल्लेख छ। वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव छ।
साथै जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव छ।
यो प्रस्तावमा नेता प्रकाशशरण महत, पद्मनारायण चौधरी, सीता गुरूङ, मोहन बस्नेत, शिव हुमागाईं, गुरू बराल, रंगमती शाही, कान्छाराम तामाङ लगायतले धारणा राखिसकेका छन्। आज दिउँसो २ बजेदेखि पुन: बस्ने बैठकमा बाँकी नेताहरूले धारणा राख्ने र संशोधनसहित महाधिवेशन कार्यतालिका पारित गर्ने तयारी छ।
देउवा र खड्काले दिएको रिटमा सर्वोच्च अदालतले कांग्रेस महाधिवेशन रोक्न अस्वीकार गरेको थियो। त्यसपछि निवर्तमान सभापति देउवा पक्षका नेताहरूले बेग्लै महाधिवेशन तयारी थालेका हुन्। साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गरेर उनीहरूले देउवाको निर्देशनमा महाधिवेशन तयारीका काम शशांक कोइरालाले गर्ने निर्णय गरेका थिए।
बेग्लै महाधिवेशन प्रस्ताव गरिएको बैठकमा संयोजक शशांक, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, उमाकान्त चौधरी, प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायत उपस्थित छन् भने निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला अनुपस्थित छन्। खड्का र शेखरनिकट नेताहरू पनि बैठकमा सहभागी छैनन्।
यस्तो अवस्थामा छुट्टै महाधिवेशन गर्ने कार्यतालिकाको भविष्य के हुन्छ भन्ने प्रश्न पनि उत्पन्न भएको छ।
नेता रामहरि खतिवडाले आफू चुनदेवी बैठकमा सहभागी नरहेको बताए। ‘म व्यक्तिगत रूपमा त्यो बैठकमा सहभागी छैन, २ वटा अधिवेशन हुने स्थिति देखिएको छ, म त पार्टी एकताको पक्षमा छु,’ खतिवडाले सेतोपाटीसँग भने।
उनीमात्र होइन, निवर्तमान कार्यवाहक सभापति खड्का र उनीनिकट नेताहरू बैठकमा छैनन्। निवर्तमान सभापति देउवानिकट नेताहरू मात्रै बैठकमा सहभागी रहेको देखिन्छ।
‘पूर्ण दाइ चुनदेवी बैठकमा सहभागी हुनु भएको छैन, २ वटा महाधिवेशन कार्यतालिका आएको अवस्थामा उहाँले पनि आफ्नो धारणा सार्वजनिक गर्नुहोला नै,’ खतिवडाले भने।
चुनदेवी बैठक हुनुभन्दा एक दिनअघि नेता शेखर कोइरालाले सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेका थिए। सभापति गगन थापानिकट, देउवा-खड्कानिकट र आफूनिकट नेताहरूसँग उनले छलफल गरी पार्टी एकताकै पक्षमा आफूले भूमिका खेल्ने बताएका थिए। शेखर पनि चुनदेवी बैठकमा सहभागी छैनन्।
चुनदेवी बैठकले ल्याएको कार्यतालिका पूर्णबहादुर र शेखर पक्षले स्वीकार गर्छन् कि गर्दैनन् यकिन छैन। तर राष्ट्रिय भेलाको समापनका दिन साउन ३१ गते पनि शशांक कोइरालालाई १५ औं महाधिवेशनसम्म तयारी समिति संयोजक बनाएर जाने निर्णय गर्दा पूर्णबहादुर र शेखर त्यहाँ अनुपस्थित थिए।
तर सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले देउवा, खड्का र कोइरालासँग परामर्श गरेरै बैठक गरिएको बताए।
‘१५ औं महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालाको नेतृत्वमा यो बैठक बसेको हो, यो बैठकमा सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला आउनेभन्दा पनि उहाँहरूकै परामर्शमा बैठक भएको हो, त्यसैले यसले गर्ने निर्णय सबैको निर्णय हुन्छ,’ उनले भने।
गत पुसमा नियमित कि विशेष महाधिवेशन भन्नेमा नेताहरूबीच मतभेद भएको थियो। त्यसअघि कात्तिक १८ को केन्द्रीय समिति बैठकमा पनि दुई वटा महाधिवेशन कार्यतालिका प्रस्तुत भएको थियो। तत्कालीन महामन्त्री गगन थापाले पुसभित्रै र तत्कालीन सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन प्रस्ताव गरेका थिए। विधानमा महामन्त्रीले महाधिवेशन प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था छ।
तर नियमित महाधिवेशन पुसमा हुन नसकेपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस मसान्तमै विशेष महाधिवेशन भयो। निर्वाचन आयोग र सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिए। त्यसविरूद्ध देउवा र खड्का सर्वोच्च गएकोमा पुनरवलोकन अनुमति पाएका थिए। यसबीच देउवा र खड्का महाधिवेशन कार्यतालिका रोक्न सर्वोच्च गएकोमा सर्वोच्चले महाधिवेशन रोक्न नपर्ने आदेश दियो।
यही मतभेदबीच कांग्रेसकै नाममा दुई वटा महाधिवेशन हुने देखिएको छ।
महाधिवेशन सम्पन्न गरेपछि त्यसको केन्द्रीय समिति निर्वाचन आयोगमा अद्यावधिक गर्नुपर्छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पनि आयोगमा विवरण अद्यावधिक गराउनेछ भने देउवा समूह पनि कांग्रेसकै महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेर अद्यावधिकका लागि आयोग जानेछ।
नेता मीनबहादुर विश्वकर्माले महाधिवेशन गरी आयोगमा अद्यावधिक गरिने बताए।
‘गगन थापा नेतृत्वको र देउवा नेतृत्वको कांग्रेसले फरक-फरक महाधिवेशन गरी नेतृत्व चयन गरी अद्यावधिक गर्न निर्वाचन आयोग जानेछन्, त्यसबेला कुनलाई अद्यावधिक गर्ने भन्ने विवाद उत्पन्न हुने अवस्था रहला। आयोगले जसलाई मान्यता दिन्छ त्यो नेपाली कांग्रेस हुनेछ। जसलाई मान्यता दिँदैन त्यो परिवर्तित अवस्थाको नेपाली कांग्रेस रहने स्थिति बन्नेछ,’ त्यसपछि कांग्रेस औपचारिक रूपमै विभाजन हुनेतर्फ संकेत गर्दै उनले भने।
चुनदेवी बैठकले ल्याउने कार्यतालिका निवर्तमान सभापति खड्का र नेता शेखर कोइरालाले स्वीकार गर्छन् कि गर्दैनन् त्यसले पनि यो कार्यतालिका कार्यान्वयन हुने, नहुने विषय प्रष्ट हुनेछ। कतिपय नेताहरू भने खड्का र कोइरालाको असहमतिबीच पनि बेग्लै महाधिवेशन गरी नयाँ पार्टी बनाउनेसम्मको तयारी भइरहेको दाबी गर्छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले भने भदौ २० मा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्। समानान्तर महाधिवेशन प्रस्ताव भइरहेका बेला उक्त बैठक आह्वान भएको हो र बैठकका दुईमध्ये एक एजेन्डा महाधिवेशनसँग पनि सम्बन्धित छ।
कांग्रेसले अद्यावधिक छुटेकाहरूलाई अन्तिम अवसर भन्दै भदौ १९ गतेसम्मको समय दिएको छ। कांग्रेसले वडा अधिवेशन कार्यतालिका हेरफेर नगरे मतभेदकै बीच अबको ६ दिनमा वडा अधिवेशन सुरू हुनेछ। कांग्रेसमा करिब ८ लाख क्रियाशील सदस्य छन्।